काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लिग अफ क्रिएटर्स’ नामक अभियान सुरु गरेको छ । देशभर छरिएर रहेका नयाँ तथा भावी डिजिटल कन्टेन्ट क्रिएटरलाई पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।

‘Create. Compete. Conquer.’ भन्ने नारासहित सुरु गरिएको यस अभियानले ‘माई नेटवर्क, माई कनेक्टिभिटी’ विषयवस्तुमा आधारित सामग्री प्रस्तुत गर्न इच्छुक डिजिटल क्रिएटरलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्म प्रदान गर्नेछ ।
यस प्रतियोगितामार्फत सहभागीहरूले आफूलाई चिनाउने मात्र नभई एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षे ब्रान्ड डिल जित्ने अवसर समेत प्राप्त गर्नेछन् । प्रतियोगीलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा, एकता तण्डुकार लगायतले मेन्टरशिप प्रदान गर्नेछन् ।
एनसेलकी मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, “यो केवल प्रतियोगिता नभई एक सिर्जनात्मक विकास यात्रा हो । जहाँ मेन्टरशिप, कार्यशालाहरू, अभ्यासका अवसर, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू छन् । नेपाली डिजिटल क्रिएटरलाई अगाडि बढ्न, सिक्न र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन सशक्त बनाउने उद्देश्यका साथ यो अभियान ल्याएका हौं ।”

प्रतियोगिताका लागि दर्ता प्रक्रिया जेठ १८ गतेदेखि खुला गरिनेछ । १६ वर्षभन्दा माथिका सबै नेपाली डिजिटल क्रिएटरले सहभागिता जनाउन सक्ने उनले जानकारी दिइन् ।
सहभागीले ३० देखि ९० सेकेन्डको भर्टिकल भिडिओ तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोस्ट गर्नुपर्नेछ । भिडिओले आफ्ना नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक अनुभव झल्काउनुपर्नेछ । पोस्ट गर्दा @Ncell लाई ट्याग गर्नुपर्नेछ र #TeamSanjog, #NcellLeagueOfCreators2025 जस्ता ह्यासट्यागहरू प्रयोग गर्नुपर्नेछ । भिडिओ पोस्ट गर्ने अन्तिम म्याद २७ जेठ रहेको छ ।
देशभरिबाट प्राप्त भिडिओमध्येबाट उत्कृष्ट ५० जना क्रिएटर छानिनेछन्, जसलाई पाँच जना मेन्टरको नेतृत्वमा पाँच समूहमा विभाजन गरिनेछ । यी समूहले एनसेल आइकन अन्तर्गत आयोजना हुने कार्यशालामा भाग लिनेछन् । कार्यशालापछि ‘च्यालेन्ज राउन्ड’ हुनेछ । उक्त राउन्डमा सहभागीहरूले प्राप्त सिर्जनात्मक ब्रिफिङ अनुसार सामग्री तयार पार्नेछन् र विज्ञ निर्णायकहरूले त्यसको मूल्यांकन गर्नेछन् ।
‘लिग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले १४, असार २०८२ मा आयोजना हुनेछ । जहाँ उत्कृष्ट प्रतिभाहरूलाई सम्मान गरिनेछ भने मुख्य विजेताको घोषणा हुनेछ । मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षे ब्रान्ड डिल प्राप्त गर्नेछन् । साथै, नेपालका शीर्ष क्रिएटरहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू पनि प्रतियोगिताका विशेष आकर्षणहरू हुन् ।
साथै एनसेल र अमेरिकी दूतावासका प्रतिनिधिहरूले प्रतियोगी सामग्रीको मूल्यांकन गर्ने बताइएको छ । प्रतियोगिताबारे थप जानकारी र सहभागी बन्न यो लिङ्कमा क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८२ २०:५९
सामाग्री श्रोत :
टेक पाना