काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। राष्ट्रिय सभागृह काठमाडौंमा हुने उक्त महाधिवेशनको समुद्घाटन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टि (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल विस्तार भएर चौथो महाधिवेशन २०७८ बाट महासंघमा रुपान्तरित भएको अध्यक्ष झलक शरम्ा गौतमले बताएका छन्। ‘हाल यस महासंघमा स्वास्थ्य क्षेत्रका विभिन्न विधाका ८ वटा विषयगत घटकहरु आवद्ध छन्। स्वास्थ्य सम्बन्धि सामान्य तालिम प्राप्त देखी विशेषज्ञ स्वास्थ्यकर्मीहरुसम्म यस महासंघ र आफ्नो सेवा समूह मिल्ने घटकहरुमा आवद्ध छन्,’ उनले भने।
महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुविधा, न्याय, सम्मान र मर्यादका लागि निरन्तर सङ्घर्षरत छ । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धि कानून्, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको जनाएको छ।
‘महासंघको चौथो महाधिवेशन २०७८ चैत्रमा सम्पन्न भएदेखि हालसम्म महासंघका ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा बिशेष जिल्ला, ८ वटा घटकका केन्द्र, २८७ वटा स्थानीय कमिटि र अन्य कमिटि गरि ४०० भन्दा बढी कमिटिहरु गठन भएका छन् । हजारौं स्वास्थ्यकर्मीहरु यसका सदस्य भएका छन् । यस महासंघ नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान र देशव्यापी व्यवस्थित सङ्गठित संजाल भएको ठूलो संगठन हो,’ उनले थपे।
पाचौँ राष्ट्रिय महाधिवेशनमा देशभरि बाट बिधान बमोजिम् ५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । महाधिवेशनमा अतिथिज्यूहरुले शुभकामना सहित आफ्नो मन्तव्य दिनुहुनेछ। खुल्ला र बन्द सत्र गरि २ दिनसम्म महाधिवेशन चल्ने छ। महाधिवेशनले विधान समेत संशोधन गर्दै ९ सदस्यीय पदाधिकारी सहित ९९ जना सम्मको केन्द्रिय समिति निर्वाचित गर्नेछ।
सामाग्री श्रोत :
swasthyakhabar

