२०८२ जेष्ठ १९ आईतवार
२०८२ जेष्ठ १९ आईतवार

भिजिट भिसा प्रकरण- ‘ह्वाट्सएप र ईमेलमा २४ घण्टामै १ हजार बढी पीडितका प्रमाण आएका छन्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसाका नाममा विदेश जान खोज्दा ठगीमा परेका नेपालीहरूका प्रमाणहरू चौबिस घण्टामै एक हजारभन्दा बढी संकलन भएको दाबी गरेका छन् । आफ्नो पार्टीका सांसदहरूले सुरु गरेको प्रमाण संकलन अभियानमा यति ठुलो संख्यामा प्रत्यक्ष पीडितहरूको विवरण प्राप्त भएको उनले सुनाए ।

“बुधबारदेखि सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, म लगायतका सांसद र साथीहरूले सामाजिक सञ्जालमार्फत आह्वान गरेका थियौँ,” झाले भने, “तपाईंहरूसँग कुनै प्रमाण छन् भने पठाइदिनुहोस् भनेका थियौँ । २४ घण्टामै एक हजारभन्दा बढी प्रमाण आइपुगे ।”

उनका अनुसार ती प्रमाणहरूमा नेपाली नागरिकहरू भिजिट भिसामा विदेश गएका क्रममा ठगिएको, बलात्कृत भएको, बाकसमा फर्कनु परेको, वा ठूलो रकम बुझाएर पनि काम पाउन नसकेको विवरणहरू समेटिएका छन् । “मानिसहरू पीडामा छन्, लुटिएका छन्। कसैले नबोल्ने हो भने नागरिकले कहिल्यै न्याय पाउँदैन,” झाले भने ।

गत पाँच वर्षमा मात्र सात लाखभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको र त्यसमध्ये २० हजारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको उनले उल्लेख गरे । 

झाले यो अभियान कुनै ‘व्यक्तिगत प्रतिशोध’ नभई सुशासन र नागरिक हितका लागि गरिएको बताए । “हामीले गृहमन्त्रीप्रतिको व्यक्तिगत आक्रोशका आधारमा हैन, प्रणाली सुधारका लागि यो पहल गरेका हौं,” उनले भने ।

सांसद झा लगायत रास्वपाका नेताहरूले संकलित प्रमाणहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरेका छन् । उनीहरूले यस विषयमा थप सत्यतथ्य सार्वजनिक गर्दै गम्भीर अनुसन्धान र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।

भिजिट भिसा प्रकरणमा सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित गिरोहमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूका मोबाइललगायत विद्युतीय उपकरण बरामद गरी अनुसन्धान अघि बढाइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १४:७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट