काठमाडौँ । डलर कार्ड बनाउने प्रक्रिया झन्झटिलो लाग्छ भन्ने सोच पाल्नुभएको छ भने अब त्यस्तो सोच बदल्ने बेला आएको छ । नबिल बैंकले सुरु गरेको भर्चुअल डलर आईकार्ड (iCard) ले नेपालमै बसेर सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

यो कार्ड सन् २०२१ मा सुरु गरिएको एक डिजिटल प्रिपेड कार्ड हो । बुझ्नुपर्ने कुरा यो भौतिक कार्ड होइन, डिजिटल मात्र हो । नेपाली रुपैयाँ तिरेर अमेरिकी डलरमा अनलाइन कारोबार गर्न सकिने यो कार्ड विशेषगरी नेपालका प्रयोगकर्ताका लागि सहज विकल्प बनेको बैंकको दाबी छ ।
भर्चुअल डलर आईकार्ड बनाउनका लागि नबिल बैंकमा खाता हुन आवश्यक छ । साथै प्यान नम्बर र कार्ड अनिवार्य छ । यसका साथै नबिल बैंकको डेबिट कार्ड पनि हुनुपर्छ ।
सबैभन्दा पहिले ‘nBank’ मोबाइल एप खोली होम स्क्रिनमा रहेको ‘Cards’ आइकनमा क्लिक गरेर आफ्नो डेबिट कार्ड एपमा एड गर्नुपर्छ । कार्ड नम्बर र एक्स्पायरी डेट राखेपछि ओटीपी आएर कार्ड सफलतापूर्वक जोडिन्छ । त्यसपछि ‘Apply for Virtual Dollar iCard’ मा क्लिक गरेर प्यान नम्बर लेख्ने र प्यान कार्ड अपलोड गरी प्रक्रिया अघि बढाउने हो । विवरण एकपटक हेरेर ‘Proceed’ थिचेपछि आवेदन प्रक्रिया पूरा हुन्छ । यो सेवाको लागि ५०० रुपैयाँ शुल्क लाग्छ, जुन तपाईंको खाताबाट काटिन्छ ।

यदि सबै विवरण ठीक भएमा आवेदन दिएको २४ घण्टाभित्र भर्चुअल डलर आईकार्ड एक्टिभेट हुन्छ । कार्ड एपमा देखिएपछि त्यहाँ रहेको ‘ePayment Activate’ गर्नुपर्ने हुन्छ । यसले थ्रीडी सेक्युर बनाउने र अनलाइन ठगीको जोखिम कम गर्न सहयोग गर्न बैंकको भनाइ छ । बैंकका अनुसार ईपेमेन्ट एक्टिभेट नगरेमा अनलाइन कारोबार गर्न सकिँदैन ।
भर्चुअल डलर आईकार्डमा वार्षिक अधिकतम ५०० अमेरिकी डलरसम्म टप-अप गर्न सकिन्छ । एक कारोबारमा न्यूनतम १ डलरदेखि अधिकतम ५०० डलरसम्म प्रयोग गर्न सकिन्छ । साथै, कार्डमा पाँच हजार अमेरिकी डलरसम्मको रेमिट्यान्स प्राप्त गर्न सकिन्छ । कार्डमा रहेको पैसा आफ्नै खातामा ट्रान्सफर गर्न पनि मिल्छ ।
यो कार्ड Netflix, YouTube Premium, Amazon Prime Video, Spotify, Disney+, Adobe, Microsoft 365, Canva Pro, Google Play Store, Apple App Store, IELTS, TOEFL, विदेशी एयरलाइन्स टिकट, होटल बुकिङ, डोमेन तथा होस्टिङ खरिद लगायत सयौँ अन्तर्राष्ट्रिय सेवाहरूमा भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ ।
भर्चुअल डलर आईकार्ड (iCard) को टप-अप, ब्यालेन्स चेक र अन्य व्यवस्थापन ‘nBank’ एपबाट गर्न सकिन्छ । यो सेवा सानो स्तरमा अन्तर्राष्ट्रिय कारोबार गर्ने नेपाली प्रयोगकर्ताहरूका लागि सजिलो र भरपर्दो माध्यम बन्न सक्ने नबिल बैंकको विश्वास छ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १५:९
सामाग्री श्रोत :
टेक पाना