काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्।

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई ‘इतिहास रच्ने क्षण’ भन्दै बधाई दिए।
मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री पौडेलले विश्वमै पहिलो रेकर्ड कायम गरेको भन्दै इतिहास रचेकामा बधाई ज्ञापन गरे । ‘नेपाल मात्र नभएर विश्वमै रेकर्ड कायम गर्नुभएको छ,’ मन्त्री पौडेलले भने, ‘तपाईंलाई मन्त्रालयले प्रत्यारोपण प्रवद्र्धन दूतका रुपमा नियुक्त गर्नेछ ।’
मष्तिष्क मृत्युपछि अंगदान दिने विषयलाई सहज र सरल बनाउन प्रयास थालेका छौं, उनले भने, यसले अंग अभावमा ज्यान गुमाउन बाध्य धेरैको जीवनरक्षा हुने आशा छ । स्वास्थ्य मन्त्री पौडेलले सगरमाथा आरोहणको जोखिम मोल्ने भए पनि भरियाहरुको स्वास्थ्य बीमा नभएको भन्दै उनीहरुको बीमाका लागि पहल गर्ने घोषणा समेत गरे ।

पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि आफूले जीवनलाई पुनः पाएको महसुस गर्दै यो आरोहणले आत्मबल अझै बढाएको बताए।
‘जीवनमा केही पनि असम्भव छैन भन्ने कुरा मैले सगरमाथामा हिँड्दा महसुस गरेँ,’ शेर्पाले भने।
शेर्पाको मिर्गौला विफल भएपछि तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गरिएको थियो। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मार्च २२, २०२४ मा लोबुचे हिमाल र त्यसपछि मे १४ मा सगरमाथाको सफल आरोहण गर्दै इतिहास बनाएका हुन्।
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा सफल आरोहण गर्ने शेर्पा संसारकै पहिलो आरोही हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ