काठमाडौं- नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले स्वास्थ्य क्षेत्रमा खासै नयाँपन दिन नसकेको टिप्पणी गरेका छन्। उनले स्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरूलाई बजेटले बेवास्ता गरेको भन्दै केही महत्त्वपूर्ण बुँदाहरूमा प्रकाश पारेका छन्।
डा कार्कीले बजेटलाई आठ बुँदामा समीक्षा गर्दै बजेटले जनअपेक्षा पूरा नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
जनशक्ति व्यवस्थापनमा उपेक्षा: स्वास्थ्य क्षेत्रमा जनशक्ति परिपूर्तिका विषयमा बजेटले खासै चासो नदिएको डा कार्कीको भनाइ छ। चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्स उत्पादनमा जोड दिए पनि उनीहरूको व्यवस्थापन र सुविधामा ध्यान नदिइएको उनले औंल्याए।
एनजीओ/आइएनजीओलाई प्राथमिकता: सरकारी स्वास्थ्य प्रणालीलाई बढावा दिनुको सट्टा बजेटले गैर-सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था (आइएनजीओ) हरूलाई प्राथमिकता दिएको उनको आरोप छ।
स्वास्थ्य बीमा र मौलिक उपचारमा बेवास्ता: स्वास्थ्य बीमाको व्यवस्थापन आफैंले गर्न नसकेको र प्राकृतिक चिकित्सा, योगलगायत नेपालका मौलिक उपचार विधिहरूलाई प्राथमिकतामा नराखिएको उनले बताए।
आधारभूत अस्पताल र राजनीतिक भर्ती केन्द्र: आधारभूत अस्पतालका नाममा राजनीतिक भर्ती केन्द्र बनाउने उद्देश्यले असफल कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ।
जडीबुटी उत्पादनमा बजेट अभाव: सातै प्रदेशमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुनुपर्नेमा राजावादी आन्दोलनका कारण क्षतिग्रस्त एक केन्द्रलाई पनि पर्याप्त बजेट विनियोजन नभएको उनले उल्लेख गरे।
पुरानै शैलीमा बजेट: समग्रमा स्वास्थ्य क्षेत्रको बजेट पुरानै ढाँचामा आएको र कुनै नयाँपन दिन नसकिएको उनको निष्कर्ष छ।
दीर्घ रोग र प्रविधिमा ध्यानको कमी: पाठेघरको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायतका विभिन्न दीर्घ रोगको उपचार र नियन्त्रणका लागि कुनै उपलब्धिमूलक कार्यक्रम नआएको उनले बताए। नयाँ प्रविधिको प्रयोग (जस्तै रोबोटिक सर्जरी), स्वास्थ्य अनुसन्धान र औषधि अनुसन्धानका विषयमा पनि बजेट मौन रहेको उनको भनाइ छ।
राज्यको दायित्वमा बेवास्ता: जनतालाई बिरामी हुन नदिनु र बिरामी भएपछि उपचार गर्नु राज्यको दायित्व हो भन्ने पक्षलाई बजेटले बेवास्ता गरेको उनको ठहर छ। स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने कुनै पनि कार्यक्रम नआएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे।
सामाग्री श्रोत :
swasthyakhabar

