२०८२ जेष्ठ १८ शनिबार
२०८२ जेष्ठ १८ शनिबार

​इन्टरनेट नहुँदा पनि उत्पादनशील बन्न सघाउने ८ एन्ड्रोइड एप

काठमाडौँ । आजको डिजिटल युगमा हामी धेरैजसो कामको लागि इन्टरनेटमा निर्भर भइरहेका हुन्छौँ । तर कहिलेकाहीँ हामी यस्तो ठाउँमा पुग्छौँ, जहाँ वाई-फाई वा मोबाइल डेटा उपलब्ध हुँदैन । यस्तो अवस्थामा पनि आफ्नो कामलाई निरन्तरता दिन केही उपयोगी अफलाइन एन्ड्रोइड एपहरू छन् । आज हामी तपाईँलाई इन्टरनेट नभएको बेला पनि आफूलाई प्रोडक्टिभ (उत्पादनशील) राख्न प्रयोग गर्न सकिने १० ओटा यस्तै एपबारे बताउँदै छौँ ।

१. अब्सिडिन (Obsidian)

यो नोट्स लिने र आफ्नो जानकारीहरूलाई व्यवस्थित राख्ने (नलेज म्यानेजमेन्ट) एप हो । यसको मुख्य विशेषता भनेको यो ‘अफलाइन-फर्स्ट’ एप हो । यसले तपाईँले लेखेका सबै नोट्स तपाईँको फोनमै सुरक्षित राख्छ । यसको अर्थ तपाईँ इन्टरनेट नभएको बेला पनि आफ्ना नोट्स हेर्न, नयाँ नोट्स बनाउन वा एडिट गर्न सक्नुहुन्छ । निःशुल्क रूपमा उपलब्ध यो एपमा लेख्नका लागि मार्कडाउन भाषाको सपोर्ट छ भने विचारहरू केलाउन (ब्रेनस्ट्रोम) क्यानभास बोर्डको सुविधा पनि छ ।

२. माइक्रोसफ्ट टु डु (Microsoft To Do)

यो टास्क म्यानेजमेन्ट अर्थात् कामहरूको सूची बनाउने एप हो । यसमा तपाईँले व्यक्तिगत वा कामका लागि छुट्‍टाछुट्‍टै सूचीहरू बनाउन सक्नुहुन्छ । नयाँ काम थप्ने, त्यसको लागि समय तोक्ने, रिमाइन्डर राख्ने वा विस्तृत जानकारी नोट्समा लेख्ने जस्ता यसका मुख्य कामहरू इन्टरनेट नभएको बेला पनि गर्न सकिन्छ । यसले माइक्रोसफ्ट ३६५ इकोसिस्टमसँग पनि यसले राम्रोसँग काम गर्छ । यो एप निःशुल्क रूपमा उपलब्ध छ।

३. एप फ्लोय (AppFlowy)

यो प्रोजेक्ट म्यानेजमेन्टका लागि उपयोगी छ । यो नोसन जस्तै भए पनि यसको फाइदा भनेको अफलाइन क्षमता हो । जुन नोसनमा छैन । तपाईँले विभिन्न प्रोजेक्टका लागि अलग-अलग ठाउँ (वर्कस्पेस) बनाएर त्यहाँ डकुमेन्ट बनाउने, कामहरूलाई क्यानबान बोर्डमा राख्ने वा प्रोजेक्ट नोट्स लेख्ने जस्ता कामहरू इन्टरनेट नभएको बेला पनि गर्न सक्नुहुन्छ । जब तपाईँ अनलाइन आएको बखत यसले सबै कुरा स्वतः सिंक गर्छ । यो पनि निःशुल्क रूपमा उपलब्ध एप हो ।

४. सोलिड एक्सप्लोरर (Solid Explorer)

यो एन्ड्रोइडका लागि एक उत्कृष्ट फाइल म्यानेजर एप हो । इन्टरनेट कनेक्टिभिटी होस् वा नहोस्, यसले सहज रूपमा काम गर्छ । तपाईँले आफ्नो फोनको आन्तरिक स्टोरेज, एसडी कार्ड वा यूएसबी ड्राइभमा रहेका फाइलहरू यसबाट सजिलै हेर्न सक्नुहुन्छ । निःशुलक यो एपको डुअल-पेन भ्युले फाइलहरू सार्न वा कपी गर्न सजिलो बनाउँछ ।

५. बिटवार्डेन (Bitwarden)

यो पासवर्ड सुरक्षित राख्ने पासवर्ड म्यानेजर एप हो । यसमा आफ्नो लगइन विवरण, पासवर्ड र अन्य संवेदनशील जानकारीहरू सुरक्षित तरिकाले अफलाइनमा पनि हेर्न सकिने महत्त्वपूर्ण फिचर छ । तपाईँले अफलाइन हुँदा पनि नयाँ र बलियो पासवर्ड बनाउन यसको प्रयोग गर्न सक्नुहुन्छ । यसको सशुल्क सेवा पनि उपलब्ध छ ।

६. पकेट (Pocket)

यो अनलाइन सामग्रीहरू सुरक्षित गरेर पछि पढ्नका लागि प्रयोग हुने एप हो । यसले कुनै पनि लेखलाई पढ्न योग्य र अफलाइन उपलब्ध गराउन सक्छ । यसको माध्यमबाट तपाईँ इन्टरनेट नभएको बेला पनि आफ्नो यात्राको समयलाई पढाइको रूपमा सदुपयोग गर्न सक्नुहुन्छ । यसमा अनुसन्धान सामग्री, रुचिकर लेख वा भिडिओ सामग्री पनि सेभ गर्न सकिन्छ । यसको टेक्स्ट-टु-स्पीच (पाठलाई आवाजमा बदल्ने) सुविधाले सेभ गरिएका लेखहरूलाई अडियोमा परिणत गर्न सक्छ

७. डुओलिंगो (Duolingo)​

यो भाषा सिक्ने एक गेमिफाइड प्लेटफर्म हो । यसमा अफलाइन पाठहरू (लेसन) छन्, जुन तपाईँ वाई-फाईमा भएको बेला स्वतः डाउनलोड हुन्छन् । यसले तपाईँलाई इन्टरनेट कनेक्टिभिटी बिना नै आफ्ना दैनिक अभ्यासहरू पूरा गर्न मद्दत गर्छ । यसको स्ट्रिक सिस्टम (लगातार सिक्ने दिनहरूको गणना) र उत्प्रेरक नोटिफिकेसनले तपाईँलाई दैनिक सिक्न प्रेरित गर्छ । यसमा स्टोरी मोड र अडियो पाठहरू पनि उपलब्ध छन् ।

८. सुपर प्रोडक्टिभिटी (Super Productivity)

यो टास्क म्यानेजर तथा टाइम ट्य्राकिङका लागि उपयोगी एप हो । यो निःशुल्क, ओपन सोर्स हो र यसलाई अफलाइन प्रयोग गर्न सकिन्छ । यसलाई कामहरूको योजना बनाउन, टाइम ट्‍य्राक गर्न, पोमोडोरो टाइमर प्रयोग गर्न, प्रोजेक्ट ट्य्राकिङ र समय अनुमान गर्न प्रयोग गर्न सकिन्छ । यसले तपाईँको डिभाइसमै स्थानीय रूपमा काम गर्छ । यसको इन्टरफेस सफा र रेस्पोन्सिभ छ, जसमा कयौँ कस्टमाइजेसनका विकल्पहरू छन् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ११:४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट