काठमाडौँ । आजकल च्याटजीपीटी अनेक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । यसले लेखहरू लेख्न, मिटिङको सारांश दिन वा आवश्यक पर्दा थेरापिस्टको काम पनि गर्न सक्छ ।

तर, यदि तपाईँले सोधेका प्रश्नहरूको जवाफ सामान्य वा आधारभूत मात्र आइरहेको छ र तपाईँलाई व्यक्तिपरक तथा चाहेजस्तो जवाफ पाउन गाह्रो भइरहेको छ भने, समस्या एआईमा नभएर तपाईँको प्रश्न सोध्ने तरिका (प्रोम्प्ट) मा हुन सक्छ।
यसै समस्यालाई समाधान गर्नका लागि ‘३ शब्दको नियम’ भनिने एउटा एकदमै सरल तरिका छ । यो प्रोम्प्टमा एउटा सानो परिवर्तन मात्र हो, जसले च्याटबटबाट आउने जवाफलाई सामान्य स्तरबाट माथि उठाएर अनुकूल, विचारपूर्ण र विज्ञ-स्तरमा लैजान सक्छ ।
के हो ३ शब्दको नियम ?

यो नियमको अवधारणा एकदमै सरल छ । तपाईँले आफ्नो मूल प्रश्नमा एउटा छोटो तीन शब्दको निर्देशन थप्नु पर्ने हुन्छ । यो निर्देशनले च्याटजीपीटीलाई उसले कसरी जवाफ दिनुपर्छ भन्ने कुरा बताउँछ । यी तीन शब्दले आउटपुट अर्थात् जवाफको टोन, आवाज र गहिराइ तुरुन्तै परिवर्तन गर्न सक्छन् । यहाँ तपाईँले आफ्नो पुरै प्रश्नलाई परिवर्तन गर्नु पर्दैन; केवल एआईलाई जवाफ दिनको लागि एउटा विशिष्ट दृष्टिकोण प्रदान गरिरहनु भएको हुन्छ ।
केही उदाहरणहरूमा हेरौँ, जसले यो नियम प्रयोग गर्दा अचम्मलाग्दो काम गर्छ:
-
‘Like a lawyer’ (एक वकिलको जस्तै) : यसको प्रयोग गर्दा संरचनागत रूपमा व्यवस्थित, विस्तृत र तार्किक खालका जवाफहरू पाउन सकिन्छ ।
-
‘Be a teacher’ (एक शिक्षक बन्नुहोस्): यसले सरल, स्पष्ट र शैक्षिक व्याख्याहरू प्रदान गर्न मद्दत गर्छ ।
-
‘Act like Hemingway’ (हेमिङ्वेले जस्तै लेख्नुहोस्): यो प्रभावशाली र सरल लेखन शैलीको लागि उपयुक्त हुन्छ ।
यो एआईलाई कुनै खास भूमिकामा राखेर उसलाई सोही अनुसार प्रदर्शन गर्न निर्देशन दिएजस्तै हो । तपाईँले यस्ता अन्य थुप्रै भूमिकाहरू पनि प्रयोग गर्न सक्नुहुन्छ, जस्तै:
-
‘Summarize this article like a journalist’ (यो लेखलाई पत्रकार जस्तै सारांशमा तयार पार्नुहोस्)
-
‘Explain dark matter like a professor’ (डार्क म्याटरलाई प्राध्यापकले जस्तै बुझाउनुहोस्)
-
‘Give feedback like a mentor’ (एक मेन्टरले जस्तै प्रतिक्रिया दिनुहोस्)
-
‘Write a poem like a songwriter’ (एक गीतकारले जस्तै कविता लेख्नुहोस्)
-
‘Translate this message like a diplomat’ (यो मेसेजलाई एक कुटनीतिज्ञले जस्तै अनुवाद गर्नुहोस्)
तपाईँले सीईओ, थेरापिस्ट, डिजाइनर, कोच, किशोर-किशोरी वा यस्तै अरू जो कोहीको भूमिका पनि एआई प्रयोग गर्न सक्नुहुन्छ । यसरी जति विशिष्ट भूमिका रोजियो, त्यति नै राम्रो नतिजा आउने सम्भावना हुन्छ ।
यो तरिका किन उपयोगी हुन्छ ?
च्याटजीपीटीलाई विभिन्न लेखन शैली र व्यावसायिक आवाजहरूको विशाल सङ्ग्रहमा तालिम दिइएको हुन्छ । जब तपाईँ यसलाई ‘like a professor’ जस्तो छोटो निर्देशन दिनुहुन्छ, यसले त्यो खास व्यक्तित्व (पर्सोना) लाई प्रयोग गर्छ र सोही अनुसार आफ्नो टोन र शैली परिवर्तन गर्छ ।
यो सानो परिवर्तनले एउटा अस्पष्ट सारांशलाई परिष्कृत, इन्साइटयुक्त र पाठक अनुकूल जवाफमा बदल्न सक्छ ।
यो नियम कस्तो बेला उपयोगी हुन्छ ?
‘३ शब्दको नियम’ विशेष गरी निम्न परिस्थितिहरूमा उपयोगी हुन्छ:
-
कुनै खास लक्षित समूह (specific audience) को लागि तयार पारिएको जवाफ चाहिएको बेला ।
-
कुनै विशेष टोन चाहिएको बेला, जस्तै प्रेरक वा प्राविधिक ।
-
सामान्य वा सतही जवाफहरूबाट बच्नु परेमा ।
यो प्रोम्प्ट इन्जिनियरिङको एउटा सजिलो तरिका हो, जसले एआई प्रयोग गर्ने क्रममा ठुलो फरक पार्न सक्छ । यसका लागि कुनै जटिल शब्दावली वा प्रोम्प्ट-ह्याकिङ आवश्यक पर्दैन ।
यो ‘३ शब्दको नियम’ कुनै त्यस्तो जादु त होइन, तर पनि यो धेरै प्रभावशाली छ । यो तपाईँको प्रोम्प्टलाई सुधार गर्ने र एआईबाट अझ चलाख, बढी मानवीय जवाफहरू प्राप्त गर्ने सजिला तरिकाहरू मध्ये एक हो । यदि तपाईँ इमेल लेख्दै हुनुहुन्छ, लेसन प्लान बनाउँदै हुनुहुन्छ भने केवल तीन अतिरिक्त शब्दले च्याटजीपीटीबाट पाउने नतिजामा ठुलो सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ९:२३
सामाग्री श्रोत :
टेक पाना