२०८२ जेष्ठ १७ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ १७ शुक्रबार

एआईलाई थर्काउँदा अझ राम्रो जवाफ दिन्छ- गुगलका सहसंस्थापक

काठमाडौँ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले एआईसँग नम्र भएर बोल्दा कम्पनीलाई अनावश्यक खर्च बढ्ने बताएका थिए । प्रयोगकर्ताले ‘धन्यवाद’ वा ‘स्वागतम’ शब्द प्रयोग गर्दा एआईले थप जवाफ दिनुपर्ने अवस्था आउने र बेतुकमा बिजुलीको खर्च बढ्ने बताएका थिए । हुन पनि यो स्वाभाविक नै देखिन्छ । एआईबाट ‘धन्यवाद’ वा ‘स्वागतम’ को जवाफ पाएर के हुन्छ ? केहीले यस्ता नम्र शब्द प्रयोग गर्दा भरपर्दो र अझ आकर्षक जवाफ आउने बताएका थिए । 

पछिल्लो समय एआईलाई थर्काउँदा वा धम्की दिँदा झनै आकर्षक र सटीक जवाफ आउने विषय सतहमा आएको छ । गुगलका सहसंस्थापक सर्गेई ब्रिनले एक पडकास्टमा यस्तो तर्क राखेपछि यस विषयले थप चर्चा पाएको हो ।

“यो एक किसिमले अनौठो कुरा हो । त्यसैले हामी एआई कम्युनिटीमा यस विषयमा त्यति धेरै चर्चा गर्दैनौं,” उनले अल-इन वन पडकास्टमा भनेका थिए, “तर यदि तपाईंले एआई मोडललाई कुनै प्रकारको दबाब वा नकारात्मक परिणामको चेतावनी दिनुभयो भने हाम्रो मात्र होइन, सबै एआई मोडलले राम्रो प्रदर्शन गर्छन् जस्तो देखिन्छ ।”

उदाहरणका लागि एआई च्याटबटलाई शारीरिक हिंसाजस्ता कडा शब्दहरू प्रयोग गर्दा यसमा एक प्रकारको मनोवैज्ञानिक दबाब सिर्जना हुने र त्यसले सटीक जवाफ दिने उनले सुनाए । यस्तोमा ‘जवाफ राम्रो दिएनौं वा यो अनावश्यक शब्द राख्यौ भने म तिमीलाई अपहरण गर्छु’ भन्दा एआई च्याटबटले निर्देशन पालना गर्ने उनको भनाइ छ ।

सुन्दर पिचाईलाई नेतृत्व सुम्पिएपछि ब्रिनले गुगल/अल्फाबेटको दैनिक जिम्मेवारीबाट हात झिकेका थिए । तर, हालसालै उनी गुगलको जेमिनाई मोडेललाई सुधार्नमा केन्द्रित छन् । ‘बिग टेक्नोलोजी’सँगको एक अन्तर्वार्तामा ब्रिनले यो प्रविधिको लागि रोमाञ्चक समय भएको र कुनै पनि कम्प्युटर वैज्ञानिकले अहिले पन्छिएर बस्न नहुने बताएका थिए । 

“साँच्चै भन्नुपर्दा जो कोही कम्प्युटर वैज्ञानिक छ, उसले अहिले अवकाश लिएर बस्नु हुँदैन । यो ठुलो समस्या र अवसर हो । प्रविधिको यस्तो महान् सङ्घार पहिले कहिल्यै आएको थिएन,” उनले भनेका थिए ।

गत हप्ता भएको आई/ओ २०२५ सम्मेलनमा ब्रिनले गुगल डिपमाइन्डका सीईओ डेमिस हसाबिससँगै अप्रत्याशित उपस्थिति जनाएका थिए । त्यहाँ उनले गुगलको एआई क्षमताको बारेमा पनि बोलेका थिए । 

सन् २०२२ को अन्त्यतिर च्याटजीपीटी सुरु हुँदा गुगल एआईको दौडमा नराम्रोसँग पछाडि परेको थियो । तर त्यसपछि यसले आफ्ना अधिकांश प्लेटफर्ममा एआई लागु गर्दै र ओपनएआईको लागि एक बलियो प्रतिस्पर्धीको रूपमा उभिएर पुनरागमन गरेको छ । अहिले कम्पनीले सार्वजनिक गरेको भिओ थ्री मोडेलले निकै चर्चा पाइरहेको छ ।

खासगरी यसले बनाउने भिडिओको गुणस्तर र यसले बुझ्नसक्ने भौतिक विज्ञानको नियमलाई लिएर धेरैले चासो व्यक्त गरेका छन् । भिओ थ्रीले बनाएको भन्दै सार्वजनिक भएका भिडिओ वास्तविक भिडिओ हुन् वा एआईले बनाएको हो भन्ने छुट्याउन द्विविधा हुने अवस्था आएको छ । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ १५:१२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट