काठमाडौँ । प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यका साथ टिकटकले ल्याएको ‘गाइडेड मेडिटेसन’ फिचर नेपालमा पनि उपलब्ध भएको छ । इन-एप टुल (टिकटक एपमै) उपलब्ध गराइएको यो टुलले प्रयोगकर्ताको मानसिक सन्तुलनका लागि आवश्यक अभ्यास गर्न सहयोग पुर्याउने उल्लेख गरिएको छ । यसका साथै टिकटकले चार करोड २३ लाख डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’ समेत घोषणा गरेको छ ।

टिकटकले सञ्चालनमा ल्याएको यो टुल प्रयोग गरेर सबै प्रयोगकर्ताले सजिलो रूपमा मेडिटेसन गर्न सकिने बताइएको छ । कम्पनीको डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता अनुरूप यो टुल सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
यसअघि कम्पनीले सञ्चालनमा ल्याएको ‘स्लिप आवर’ फिचरलाई विस्तार गर्दै त्यसमा ‘मेडिटेसन’ सुविधा थप गरेको हो । यसमार्फत प्रयोगकर्ताले राति सुत्नु अगाडि मेडिटेसन गर्न सक्नेछन् । यसले प्रयोगकर्ताको स्वास्थ्य जीवनमा उल्लेख्य सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार यो सेवा १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि स्वतः लागु हुनेछ । राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन ।

१८ वर्षभन्दा माथिका प्रयोगकर्ताको हकमा स्क्रिनटाइम सेटिङमा गई ‘स्लिप आवर’ सक्रिय गर्न सकिन्छ । आजको व्यस्त दुनियाँमा आराम धेरै जरुरी हुन्छ । विशेषज्ञहरूले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिन्छन् । जामा इन्टर्नल मेडिसिन एन्ड हावर्ड हेल्थको अध्ययन अनुसार सुत्नुअघि १० देखि १५ मिनेट ध्यान गर्नाले निद्रा सुधार हुनुका साथै चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ ।
टिकटक दक्षिण एशियाकी ट्रस्ट एन्ड रिजनल लिड आस्मा अन्जुम भन्छिन्, “नेपालजस्ता दक्षिण एसियाली बजारमा मानसिक स्वास्थ्यबारे कुरा गर्नु पहिले अपाच्य मानिन्थ्यो । तर अहिले जनचेतना बढ्दै जाँदा व्यवहारमा सकारात्मक परिवर्तन आएको छ । धेरै मानिस खुलेर कुरा गर्न, सहयोग माग्न र स्वीकार गर्न थालेका छन् । त्यसैले हामी यो सकारात्मक परिवर्तनलाई अघि बढाउन र हाम्रा प्रयोगकर्ताको हितका लागि इन-एप सुविधा र जनचेतनामूलक अभियानमा लगानी गर्न प्रतिबद्ध छौँ ।”
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १४:५३
सामाग्री श्रोत :
टेक पाना