काठमाडौँ । भारतको चर्चित एडटेक कम्पनी बाइजुको मुख्य लर्निङ एप गुगल प्लेस्टोरबाट हटाइएको छ । क्लाउड सेवा प्रदायक अमेजन वेब सर्भिसेसलाई तिर्नुपर्ने रकम भुक्तानी नगरेका कारण एप हटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाइजु लर्निङ एपको ब्याकइन्ड पूर्वाधारलाई सपोर्ट गर्ने अमेजन वेब सर्भिसेसले बाइजुको मातृ कम्पनी थिङ्क एन्ड लर्न प्रालिसँग अप्रिल २०२३ देखि नै भुक्तानी विवाद समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।
“अमेजन वेब सर्भिसेसलाई भुक्तानी नगरेका कारण बाइजुको लर्निङ एप प्लेस्टोरबाट हटाइएको हो । यो मामिला अब इन्सल्भेन्सी रिजोलुसन प्रोफेसनलको हातमा छ,” भारतीय समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)लाई स्रोतले भन्यो ।
एप प्लेस्टोरबाट हटेसँगै पहिले नै डाउनलोड गरेका प्रयोगकर्ताले प्रिमियम एक्सेस पाइरहेका छैनन् । यो एप आईओएस डिभाइसमा भने यथावत् छ ।

बढ्दो ऋण र सञ्चालन सङ्कटका बिच कम्पनीको वित्तीय दायित्व सम्हाल्ने जिम्मेवारी हाल इन्सल्भेन्सी रिजोलुसन प्रोफेसनलले लिएको छ । यस्तो अवस्थामा बाइजुको एप प्लेस्टोरबाट हट्नु कम्पनीका लागि अर्को सङ्कट हो ।
कुनै समय तीव्र गतिमा विस्तार भइरहेको यो एडटेक कम्पनीले एकपछि अर्को गर्दै सङ्कटको सामना गरिरहेको छ । यसअघि सेप्टेम्बर २०२३ मा कम्पनीका सह-संस्थापक बाइजु रविन्द्रनले कर्मचारीलाई तलबका विषयमा ईमेल पठाएका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले ईमेलमा कर्मचारीलाई रोकिएको तलब आंशिक रूपमा तिर्न व्यक्तिगत रूपमा ऋण लिएको जानकारी दिँदै माफी मागेका थिए ।
बाइजुले आफ्नो व्यवसाय पहिलेकै अवस्थामा ल्याउन सङ्घर्ष गरिरहँदा नियामक निकायको छानबिन, लगानीकर्तासँगको कानुनी लडाइँ र सञ्चालनमा अवरोधको सामना गरिरहेको छ ।
यस विषयमा टेकपानाले यसअघि नै विस्तृत लेख र भिडिओ तयार पारेको थियो । हेर्नुहोस् भिडिओ:
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १५:८
सामाग्री श्रोत :
टेक पाना