२०८२ जेष्ठ १५ बुधबार
२०८२ जेष्ठ १५ बुधबार

नेपालमा खुलेआम अनलाइन जुवा ‘मेलबेट’ सञ्चालनमा, सरोगेट विज्ञापन गर्दै कान्तिपुर टिभी

काठमाडौँ । कान्तिपुर टेलिभिजनले नेपालमा प्रतिबन्धित अनलाइन सट्टेबाजी तथा जुवा खेलाउने प्लेटफर्म ‘मेलबेट’ को सरोगेट विज्ञापन प्रसारण गरेको पाइएको छ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्रि-म्याच एनालिसिस कार्यक्रममार्फत कान्तिपुरले अवैध प्लेटफर्मको खुलेआम प्रचार गरेको हो । 

टेलिभिजनमा विज्ञापन गरिएको प्लेटफर्मको नाम ‘मेलब्याट लाइभ’ (MELBAT LIVE) उल्लेख भए तापनि यो प्रत्यक्ष रूपमा ‘मेलबेट’ नामक अनलाइन सट्टेबाजी तथा जुवाको सञ्जालसँग सम्बन्धित छ । 

‘मेलबेट’ सन् २०२३ देखि नै विशेषगरी नेपाली प्रयोगकर्तालाई लक्षित गरी सञ्चालनमा रहेको सट्टेबाजी प्लेटफर्म हो । ‘सिमिलर वेब’को तथ्याङ्कअनुसार यस साइटमा मासिक आठ लाख ८५ हजारभन्दा बढी पटक भिजिटर आउँछन् । र यो नेपालमा ६२औं सर्वाधिक प्रयोग हुने वेबसाइटको सूचीमा पर्छ । यसका कुल प्रयोगकर्तामध्ये ९९.२ प्रतिशत नेपालबाटै रहेको देखिन्छ भने बाँकी ०.४८ प्रतिशत भारतबाट, ०.२६ प्रतिशत युक्रेन र ०.०५ प्रतिशत क्यानडाबाट रहेका छन् ।

नेपालमा कुनै पनि प्रकारको जुवा प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐन अनुसार जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ भनिएको छ । 

जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ । दफा ३ को उपदफा १ मा लेखिएको छ, “कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोग चलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।” 

ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ । 

त्यस्तै विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा जुवा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ । 

कान्तिपुरले प्रचार गरेको मेल-ब्याट लाइभ र मेलबेटको सम्बन्ध

कान्तिपुर टेलिभिजनमा ‘MELBAT LIVE’ नामक प्लेटफर्मको प्रचार गरिएको छ । यही नाम गुगलमा सर्च गर्दा शीर्ष स्थानमा मेलबेट एनपी डटकम देखिन्छ । त्यसपछि मात्र मेलब्याट डटलाइभ देखिन्छ । 

यसले खेलकुदसँग सम्बन्धित अनलाइन न्युज पोर्टलका रूपमा चिनाएको छ । लोगो भने दुरुस्त मेलबेटसँग मिल्छ । अक्षर मात्र ‘E’ को ठाउँमा ‘A’ राखिएको छ ।

फाट्टफुट्ट समाचार अपलोड हुने यस प्लेटफर्मको अन्तिममा सामाजिक सञ्जालका लिङ्क राखिएको छ । त्यसमा रहेको फेसबुक ग्रुपमा हेर्ने हो भने मेलबेट इन्डिया नामक अकाउन्ट एड्मिन छ । त्यही अकाउन्टबाट फेसबुक ग्रुपमा मेलबेटकै प्रचार भइरहेको देखिन्छ । 

यसबाट मेलब्याट लाइभ र मेलबेट एक आपसमा भएको र मेलबेटले नै मेलब्याटको सरोगेट प्रचारको काम गरेको देखिन्छ । यी दुबै प्लेटफर्म लगभग एकै समयमा दर्ता भएका हुन् । त्यसभन्दा पहिले सरोगेट विज्ञापन भनेको केहो भन्ने बुझौं: 

के हो सरोगेट विज्ञापन ?

सरोगेट विज्ञापन भनेको कुनै त्यस्तो सामानको विज्ञापन गर्नु हो, जसको सिधै प्रचार गर्न कानुनले रोक लगाएको हुन्छ (जस्तै: रक्सी, चुरोट, जुवा वा बेटिङ)।

यस्तोमा कम्पनीले चलाखीपूर्वक त्यही ब्रान्ड नाम र लोगो प्रयोग गरेर अर्को कुनै सामान्य उत्पादन (जस्तै पानी, सोडा, म्युजिक सीडी वा कुनै कार्यक्रम) को विज्ञापन गर्छन् । जब तपाईंले त्यो ‘पानी’ वा ‘सोडा’को विज्ञापन देख्नुहुन्छ तपाईंको दिमागमा वास्तवमा त्यही ब्रान्डको ‘रक्सी’ वा ‘चुरोट’को झल्को आउँछ । यसरी घुमाउरो तरिकाले कानुनी छिद्रको प्रयोग गर्दै प्रतिबन्धित वस्तुको प्रचार भइरहेको हुन्छ ।

यसअघि नेपालमा वनएक्स बेट नामक बेटिङ प्लेटफर्मले ‘वनएक्स ब्याट’, स्काई एक्सचेन्जले ‘स्काई न्युज’, दाफा बेटले ‘दाफा न्युज’ नामक प्लेटफर्म ल्याएर सञ्चालन गरेका थिए । क्रिकेटसम्बन्धी कुनै घरेलु वा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा त्यस्ता प्लेटफर्म ठ्याक्कै आइपुग्छन् । अहिले मेलबेटले त्यही रणनीति अपनाएको छ । यस्तो किसिमको विज्ञापनलाई छद्म विज्ञापन पनि भन्न सकिन्छ । 

मेलबेटले कसरी जुवाको तलमा पार्दैछ नेपाली ?

नेपाली प्रयोगकर्तालाई आकर्षित गर्न यस प्लेटफर्मले आफ्नो लोगोमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरेको छ भने गुगलमा आफूलाई ‘मेलबेट नेपाल अफिसियल’ भनेर चिनाएको छ । 

यसबाहेक नेपाली प्रयोगकर्तालाई थप प्रलोभनमा पार्न र कारोबार सहज देखाउन वेबसाइटको फुटरमा खल्ती, इसेवा, सेलपे, आइएमई पे, कनेक्ट आईपीएस, प्रभु पे, माई पे र मोरु पेजस्ता नेपाली डिजिटल वालेटहरूको लोगो समेत राखिएको छ । 

कस्टुमर सपोर्टदेखि अनलाइन सेवा पनि उपलब्ध छन् । प्रतिबन्धित हुँदाहुँदै पनि खुलेआम सबै स्थानीय माध्यम प्रयोग गर्दा यो सहज रूपमा नेपालमा सञ्चालन भइरहेको देखिन्छ । 

यसो त नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ देखि यस्ता बेटिङ साइटमाथि प्रतिबन्ध लगाउँदै आएको छ । केही बेटिङ साइट खोल्दा उक्त पेजमा लेखिएको हुन्छ, “तपाईँले ब्राउज तथा एक्सेस गर्न खोज्नु भएको वेबसाइटमा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्रीहरू रहेकोले, साथै नियमअनुसार नेपालमा दर्ता एवम् सूचीकरण निकाय नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार त्यस्ता सामग्रीमाथिको पहुँचमा रोक लगाइएको छ ।”

अर्थात् बेटिङ साइटहरू नेपालबाट नखुल्नु पर्ने हो । प्राधिकरणले यस्ता साइटको अनुगमन नगर्दा नेपालमा बेटिङ साइट निर्वाध रूपमा चलिरहेको देखिन्छ । यसको अर्को उदाहरण हो, वनएक्स बेट । प्राधिकरणले नेपालमा वनएक्स बेटको आधिकारिक साइट ब्लक गरेको छ । तर, उक्त प्लेटफर्मले लाखौंको सङ्ख्यामा रहेका नेपाली प्रयोगकर्तालाई उक्त प्लेटफर्ममा राखिरहन नयाँ डोमेनमार्फत सञ्चालन गरिरहेको छ ।

नेपालका लागि वनएक्सबेटले तयार पारेको डोमेन नेम हो ‘वनएक्सबेट एनपी डटकम’ । नेपालमा वनएक्स बेट ब्राउज गर्दा यो साइट रिडाइरेक्ट भएर नेपालीका लागि तयार पारिएको डोमेनमा जान्छ । यसैको सिको गर्दै अन्य बेटिङ प्लेटफर्मले पनि आफ्नो नाममा एनपी शब्द जोडेका छन् । यसैबाट नयाँ डोमेन बनाएर नेपालीलाई लक्षित गर्दै खुलेआम नेपालमा अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालन गर्दै आइरहेका छन् । 

सरोगेट विज्ञापनको उल्झन ! 

यस विषयमा विज्ञापन बोर्डका एक अधिकारीले नेपालमा सरोगेट विज्ञापन सम्बन्धी कुनै स्पष्ट कानुन नहुँदा समस्या भएको बताए । “विज्ञापन नियमन गर्ने ऐन वा अन्य कुनै पनि ऐनले यो विषयलाई समेटेको छैन र चिनेको पनि छैन,” उनले भने, “यसै कारण सरोगेट विज्ञापनलाई क्राइम मान्ने कि नमान्ने भन्ने विषयमा द्विविधा छ ।”

हालको अवस्थामा यस्ता सरोगेट विज्ञापनलाई अवैध नै मानिएको उनको तर्क छ । तर स्पष्ट कानुनको अभावमा कारबाही गर्न गाह्रो र यो एक जटिल विषय बनेको उनले खुलाए । 

उनका अनुसार राष्ट्रिय नीतिको रूपमा सरोगेट विज्ञापनलाई खुला गर्ने प्रस्ताव रहेको छ । तर, यो प्रस्ताव अहिलेसम्म कानुनको रूपमा पारित भइसकेको छैन ।

“सरोगेट एडभर्टाइजिङ अहिले अवैध हो । अब पछि कानुन आइसक्यो भने छुट्टै कुरा हो,” उनले भने, “अहिले नैतिक प्रश्न मात्र उठ्छ । समाजलाई हानी हुने विषयमा अप्रत्यक्ष रूपमा मिडियाले प्रचार गर्दा उनीहरूलाई आत्मग्लानी हुनुपर्ने हो । सरोगेट विज्ञापन गर्‍यो भनेर कारबाही गर्न सकिने अवस्था छैन ।” 

सरोगेट विज्ञापनको कानुनी अवस्थाबारे अधिवक्ता प्रविण सुवेदीले नेपालमा स्पष्ट कानुनी व्यवस्था नभएको बताए । उनले भने, “कानुनी व्यवस्था छैन । सुर्तीजन्य र मदिराजन्य पदार्थको विज्ञापनै गर्न पाइँदैन भन्ने छ । त्यो भएपछि सरोगेट प्रयोग गर्दा पनि कानुनी रूपमा समस्या पर्ने नै अवस्था देखिन्छ ।”

अनलाइन जुवा वा बेटिङको विज्ञापनको सन्दर्भमा पनि कानुनी अस्पष्टता रहेको उनको धारणा छ । 

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले कान्तिपुर टेलिभिजनमा प्रसारित भइरहेको बेटिङ प्लेटफर्मको सरोगेट विज्ञापन राखेको विषयमा आपत्ति जनाए । 

यस सन्दर्भमा उनले ११ फागुन २०७९ मा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सरोगेट विज्ञापनविरुद्ध मञ्चले नै सर्वोच्च अदालतमा रिट दायर गरेको स्मरण गराए ।

“त्यो (बेटिङको सरोगेट विज्ञापन) त अपराध नै हो,” उनले भने । तिमिल्सिनाले २०७९ सालमा उपभोक्ता संरक्षण मञ्चले दायर गरेको रिटमा सर्वोच्च अदालतले कुनै पनि सार्वजनिक सञ्चार माध्यममा त्यस्ता (सरोगेट) विज्ञापन प्रकाशन तथा प्रसारण नगर्नु नगराउनु र त्यसको अनुगमन गर्नु भनी अन्तरिम आदेश जारी गरेको बताए ।

उनले थपे, “जनस्वास्थ्य सेवा ऐनको दफा ४५ ले गरेको व्यवस्था, अदालतको आदेश र विज्ञापन बोर्डले पनि पटक-पटक नगर्नु भनेर सूचना प्रकाशित गरेको अवस्थामा यसरी अवज्ञा गरेर कान्तिपुरले विज्ञापन बजाउनु भनेको कानुनलाई नै व्यवस्था गरेको देखियो ।”

तिमिल्सिनाले यस्ता विज्ञापनले मानसिक स्वास्थ्यमा समेत असर पार्ने बताउँदै भने, “जुवा भनेपछि त्यो मानसिक स्वास्थ्यसँग जोडियो । यस्तोमा फेरि रक्सीको विज्ञापन गर्ने कुरा त सह्य नै हुन सक्दैन । जुवा यसै पनि अवैध हो, त्यसमाथि प्रतिबन्धित सामग्रीको सरोगेट विज्ञापन गर्नु झनै ठुलो अपराध हो ।”

उनले विज्ञापन बोर्डले यसको अनुगमन गरेर कारबाही गर्नुपर्ने धारणा राखे । “आफ्नो व्यावसायिक लाभका लागि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ २०:४१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट