काभ्रे, (धुलिखेल)– लियो क्लब अफ काठमाडौं रेडियन्स मेडिकल स्टूडेन्ट्स र लायन्स क्लब अफ काठमाडौं रेडियन्स, डिस्ट्रिक्ट ३२५G को संयुक्त आयोजनामा धुलिखेलस्थित श्री बालज्योति आधारभूत विद्यालयमा एकदिने स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ।
‘संकल्प सधैं उज्यालो हाँसोको’ शीर्षकअन्तर्गत पाँचौं शृङ्खलामा आयोजित यो शिविरले समुदायमा स्वास्थ्यप्रति जागरूकता फैलाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
शिविरमा ११५ विद्यार्थी र ३२ शिक्षक–कर्मचारीसहित स्थानीय समुदायका २०३ जना गरी कुल ३५० भन्दा बढी व्यक्तिको दन्त परीक्षण, मधुमेह (डायबेटिज) र उच्च रक्तचाप (हाइपरटेन्सन) जाँच गरिएको छ। बालबालिकालाई दाँत माझ्ने ब्रस र मञ्जन वितरण गरिएको थियो, जसको प्रायोजन आर.बी. इन्डस्ट्री प्रा.लि.ले गरेको थियो।
कार्यक्रममा सहभागीहरूलाई नियमित दन्त जाँचको महत्व, दैनिक मुख सरसफाइको तरिका, सन्तुलित खानपान, मधुमेह र उच्च रक्तचाप नियन्त्रणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको कार्यक्रम संयोजक लियो इश्मिता कार्कीले बताइन्।
‘दन्त परीक्षणमा धेरैजसोमा दाँतमा कीरा लाग्ने (दन्त क्षय) र मुखको सरसफाइमा कमी देखियो,’ उनले भनिन्, ‘यस्ता शिविरले हाम्रो ज्ञान र अनुभव बढाउँछ र समुदायमा सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्छ।’
शिविरमा झण्डै ३० जना चिकित्सक, मेडिकल विद्यार्थी र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको सह–संयोजक शृष्टि शाहीले जानकारी दिइन्। शिविरका सह–संयोजक अरुणिमा मानन्धर र सुधा सिग्देलका अनुसार स्थानीय बासिन्दा र विद्यालय प्रशासनले यस्ता कार्यक्रमले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रशंसा गरे।
लायन्स क्लब अफ काठमाडौं रेडियन्स डक्टर्सका अध्यक्ष लायन डा. अलिना कार्कीले लियो क्लब अफ काठमाडौं रेडियन्स मेडिकल स्टूडेन्ट्सलाई एक ऊर्जाशील र सक्रिय क्लबको रूपमा चित्रण गरिन्। ‘सन् २०२१ मा स्थापना भएको यो क्लबमा देश–विदेशका मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस र बीडीएस विद्यार्थीहरू छन्। स्वास्थ्य शिविर र सचेतना कार्यक्रममार्फत क्लबले निरन्तर सामाजिक सेवा गर्दै आएको छ,’ उनले भनिन्।
क्लबका सल्लाहकार लायन डा तेजसु सिंह मल्लले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। ‘हाम्रो उद्देश्य समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउनु र सचेतना फैलाउनु हो। यस्ता शिविरले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ,’ उनले भने।
सामाग्री श्रोत :
swasthyakhabar

