काठमाडौँ । गुगलले आफ्नो सर्च इन्जिनमा थपिएको नयाँ ‘एआई मोड’ र ‘एआई ओभरभ्यु’ फिचरमा देखाइने विज्ञापन प्रयोगकर्ताका लागि उपयोगी हुने दाबी गरेको छ । मङ्गलबार आयोजित गुगल आई/ओ कार्यक्रममा सार्वजनिक गरिएको उक्त फिचरमा देखाइने विज्ञापनको सान्दर्भिकतामाथि चर्चा गर्दै कम्पनीले यस्तो दाबी गरेको हो ।

हाल अमेरिकामा मात्र उपलब्ध गुगल सर्चको यो एआई मोड फिचर र विश्वभर उपलब्ध एआई ओभरभ्यु फिचरमा विज्ञापन उपलब्ध हुने कुरा कम्पनीले पहिले नै पुष्टि गरिसकेको थियो । प्रारम्भिक चरणमा यो एआई मोड फिचर नै सीमित प्रयोगकर्तामाझ परीक्षण भइरहेको छ । उक्त फिचरमा विज्ञापन देखाउने काम पनि परीक्षणकै क्रममा छ ।
गुगलले आफ्नो सपोर्ट डकुमेन्टमा एआई सर्च रिजल्टमा देखिने विज्ञापन वेबसाइटमा जानकारी फेला पार्ने नयाँ र उपयोगी तरिका भएको उल्लेख गरेको छ । यो विवरण सबैभन्दा पहिले एसई राउन्डटेबलले फेला पारेको थियो ।
गुगलले डकुमेन्टमा लेखेको छ, “गुगलको आन्तरिक डेटाले एआई ओभरभ्युमा देखिने विज्ञापन प्रयोगकर्ताका लागि उपयोगी भएको देखाएको छ । उनीहरू आफूलाई उपयुक्त हुने व्यवसाय, वस्तु वा सेवासँग चाँडै नै जोडिन सक्ने र यसले उनीहरूलाई जे चाहिएको हो, त्यसैमा पुर्याउने भएकाले यो उपयोगी छ ।”

गुगलले ‘आन्तरिक डेटा’ भने पनि कति भिजिटरमा परीक्षण गरिएको र कतिले उपयोगी माने भन्ने विस्तृत विवरण भने खुलाएको छैन । ब्लिपिङ कम्प्युटरले गुगलले प्रयोगकर्तालाई एआई रिजल्ट्समा देखिएका विज्ञापन उपयोगी लागून् भन्ने मनसायले यो विवरण सार्वजनिक गरेको हुन सक्ने विश्लेषण गरेको छ ।
विज्ञापन सधैं अनावश्यक नै हुन्छन् भन्ने होइन । तर यदि प्रयोगकर्ता व्यक्तिगत प्रयोजनका लागि जानकारी खोजिरहेको अवस्थामा एआईले विज्ञापनलाई बढी प्राथमिकता दियो भने उनीहरूको ध्यान भङ्ग हुने वा भ्रमित हुने जोखिम उच्च रहने विज्ञहरूको विश्लेषण छ ।
गुगलको आम्दानीको प्रमुख स्रोत विज्ञापन नै हो । गत वर्षको त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले विज्ञापनबाट मात्रै ७२ अर्ब ५० करोड अमेरिकी डलर आम्दानी गरेको थियो । परम्परागत सर्च रिजल्टलाई नयाँ तरिकाले अगाडि बढाउन ल्याइएको एआई मोडे नामक नयाँ फिचरमा पनि विज्ञापन समावेश गर्नु उसको व्यावसायिक रणनीतिको हिस्सा देखिन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १७:२१
सामाग्री श्रोत :
टेक पाना