काठमाडौँ । विगत तीन वर्षदेखि २५ हजारभन्दा बढी नेपाली कृषकलाई विभिन्न डिजिटल सेवा प्रदान गर्दै आइरहेको ‘सुपर कृषक’ एपले १२ जेठ देखि एपमा थप अतिरिक्त सेवा ‘सुपर कृषक प्रो’ अन्तर्गत प्रिमियम डिजिटल कृषि सेवाहरू ल्याएको छ ।

प्रिमियम सेवा अन्तर्गत सुपर कृषक एपमा उच्च गुणस्तर तथा ज्ञानमूलक कृषि तालिम, एआईमा आधारित बालीनालीको रोग-किरा तथा अन्य समस्या पहिचान गरी तत्काल नै परामर्श दिने कृषि डाक्टर र किसानका समस्या तत्काल सुल्झाउने कृषक सञ्जाल जस्ता सुविधा समावेश छन् ।
सुपर कृषक एपका प्रिमियम सेवा प्रयोगकर्ताले इसेवामार्फत शुल्क तिर्न सक्नेछन् । साथै इसेवा एपमा गएर सुपर कृषक एप खोजेर पनि आफ्नो सुपर कृषक आईडी (सम्पर्क नम्बर) राखी दैनिक पाँच रुपैयाँ शुल्कमा एपका यस्ता सेवा उपयोग गर्न सकिन्छ । एक पटकको सब्सक्रिप्सनको कूल शुल्क १५ रुपियाँ तोकिएको छ र किसानले एक पटक सेवा प्रयोग बापतको पैसा तिरेपछि तीन दिनसम्म सुपर कृषक प्रो प्रयोग गर्न पाउँछन् ।
प्रिमियम सेवा अन्तर्गत रहेको ‘सिकौँ’ सुविधा मार्फत किसानले घरमै बसी उच्च गुणस्तरको तालिममा सहभागी हुन पाउनेछन् । अहिले एपमा ऋण तथा अनुदान प्राप्त गर्न कृषि प्रस्तावना कसरी लेख्ने, आधुनिक कृषि प्रविधि कसरी प्रयोग गर्ने, प्राङ्गारिक कृषि कसरी गर्ने र सो को प्रमाणीकरण कसरी प्राप्त गर्ने लगायतका विविध विषयमा तालिम उपलब्ध छन् । तालिम सँगसँगै तालिम लिइसकेपछि सो विषयको दक्षता प्रमाणीकरण गर्ने प्रमाणपत्र पनि प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी कृषि डाक्टर सेवा प्रयोग गरी किसानले आफ्नो बालीनालीमा देखिएको रोग, किरा, तथा खाद तत्त्वको कमी तथा अन्य कारणले भएको विकारलाई फोटो खिचेर केही सेकेन्डमा नै पहिचान गर्न सक्नेछन् । साथै उचित समाधान अर्गानिक तथा रासायनिक उपाय पनि प्राप्त गर्न सकिनेछ । यसले किसानको समय, श्रम, लगानी र हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने दाबी कम्पनीले गरेको छ । यसले किसान स्वयंलाई बालीका समस्या पहिचान गर्न सक्ने डाक्टर बनाउने उल्लेख छ । कम्पनीका अनुसार कृषि डाक्टरले अहिले ५६ भन्दा बढी बालीका ८०० भन्दा बढी समस्या पहिचान गरी स्थानीय परामर्श समेत प्रदान गर्दछ ।
त्यस्तै सुपर कृषक प्रो एपको अर्को प्रिमियम सुविधा अन्तर्गत रहेको व्यक्तिगत परामर्श प्रयोग गरी किसानले आफूलाई परेका समस्या कृषक सञ्जालमा फोटो सहित सोधेर तत्कालै समाधान प्राप्त गर्न सक्ने छन् । यस सेवा अन्तर्गत कृषि प्राविधिकबाट टाढा रहेका किसानलाई तत्काल सेवा प्रदान गरी उनीहरूको समस्या समाधान गर्ने र सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्य रहेको छ ।
यी सेवा बाहेक सुपर कृषक एपमा किसानले अन्य बहुउपयोगी सुविधा निःशुल्क रूपमा प्रयोग गर्न पाउनेछन् । एपमा ८० भन्दा बढी आधुनिक खेती, मौरीपालन, तरकारी खेती, कौसी खेती, माछापालन, च्याउ खेती, उन्नत कृषि बाली, फलफूल, बजारमुखी कृषि बाली, रैथाने बाली, कृषि बीमा लगायत दर्जनौँ विषयमा विज्ञ मार्फत दिइएका तालिमहरू निःशुल्क रूपमा हेर्न, सिक्न र परीक्षामा सामेल भई प्रमाणपत्र पनि लिन सकिन्छ ।
यति मात्रै नभई एपमा पढ्नको लागि १,००० भन्दा बढी लेख, हेर्नको लागि भिडिओ सामग्री र सुन्नको लागि पडकास्ट रहेका छन् । जस अन्तर्गत किसानले कृषि सम्बन्धी थुप्रै व्यवहारिक कुरा निःशुल्क सिक्न पाउने छन् ।
यसका साथै किसानलाई कृषि सूचनाको पहुँच विस्तार गर्न उपलब्ध विभिन्न सरकारी जानकारी पनि निःशुल्क प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । जसमा कृषि बजार मूल्य, स्थान अनुसारको माटोको जाँच (डिजिटल माटो नक्सा) र मौसम अवस्थाको जानकारी आदि रहेका छन् ।
एपमा किसानलाई अर्को अत्याधुनिक सेवा ‘कृषि चीना’ निःशुल्क रूपमा परीक्षणको लागि उपलब्ध गराइएको छ । जसको प्रयोग गरी किसानले आफ्नो जग्गा कहाँ छ, कुन बाली कहिले लगाइएको छ भन्ने जानकारी दिएकै भरमा भू-उपग्रहबाट उक्त जग्गाको निगरानी राखी खेत-बारीमा मल र सिँचाई पुगे/नपुगेको साथै मौसम अवस्था कस्तो छ र कस्तो हुनेछ सम्मको जानकारी पाउन सक्छन् । जसको प्रयोग गरी बाली कहिले काट्नको लागि तयार हुन्छ, मल-जल कहिले हाल्ने, कति फल्छ सम्मको जानकारी प्राप्त गर्न सकिन्छ ।
सुपर कृषकले प्रविधि र प्राविधिकको सीमित पहुँचमा रहेका कृषकलाई लक्षित गरी डिजिटल माध्यमबाट गुणस्तरीय सेवा पुर्याउने लक्ष्य राखेको छ । हाललाई यी सुविधा प्रयोग गर्न कृषकहरूले गुगल प्ले स्टोरमा गई एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । आईफोन प्रयोगकर्ता किसानका लागि भने केही समयपछि यो एप उपलब्ध हुनेछ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १५:२५
सामाग्री श्रोत :
टेक पाना