२०८२ जेष्ठ १६ बिहीबार
२०८२ जेष्ठ १६ बिहीबार

डा देवकोटा प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्‍याउन विराटनगर आइपुगेको हुँ

विराटनगरको कञ्चनबारीस्थित मुलसडकमै छ, आर्या न्युरो हस्पिटल। उक्त अस्पतालको दायाँतिर छ डा प्रबन्ध निर्देशक समेत रहेका डा पंकज राज नेपालको ओपीडी कक्ष। ओपीडी कक्षसँगै जोडिएको डा नेपालको व्यवस्थापकीय कक्षमा उनी बस्ने कुर्सी छ । कुर्सीको पछाडी छ, नेपाल मात्रै होइन, विश्वमाझ आफ्नो सर्जरी सीपले प्रख्यात बनेका दिवंगत चिकित्सक उपेन्द्र देवकोटाको स्केच। आफ्नै हातले निर्मित स्केचमाथि ‘गुरुमन्त्र’ उल्लेख छ। 

उपचारका लागि पस्नुअघि उनी आफ्नै हातले बनाएको डा देवकोटा आकृतिलाई श्रद्धाले अभिभावदन गर्छन्। स्थापित आफ्नो ज्ञान, इमान र लगनशीलता भएपनि यहाँस्म पुग्ने बाटो देखाउने व्यक्ति डा देवकोटा रहेको सगर्व बताउँछन्। उसो त डा देवकोटाले डा पंकजभित्रको न्युरोसर्जन पहिचान नगरेको भए उनी फिजिसियन बन्ने बाटोतिर लागेका हुन्थे। तर, डा देवकोटाले न्युरोसर्जरीको बाटो देखाइदिए, सीप सिकाइदिए र उनी यतातिर मोडिए। 

डा नेपाल पूर्वी नेपालमा न्युरोसर्जरी सेवालाई फैलाउन योगदान गर्नेमध्येमा पर्छन्। अहिले धेरै बिरामीको पहिलो रोजाइमा पर्ने मध्येका स्थापित भएका छन्। उनीसँग स्वास्थ्यखबरले गरेको संवाद :

तपाईं काठमाडौंमा पनि स्थापित भइसक्नुभएको थियो। डा देवकोटाले माया गर्ने चेलामध्येमै पर्नुहुन्थ्यो। किन पूर्वतिर लाग्नुभयो ? 

तपाईंले भनेको सही हो। सरले मलाई माया गर्नुहुन्थ्यो । काठमाडौंमा स्थापित भइसकेको थिएँ । न्युरो अस्पताल (हाल उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल) बाँसबारीमा युनिटको हेड भएर बसेको थिएँ।   त्योबेला काठमाडौं केन्द्रीत उपचार थियो। बिरामी पूर्व इलामदेखि पश्चिमको सुदूरपश्चिमबाट बिरामी हामीकहाँ आउँथे । न्युरो अस्पताल बाँसबारी पुग्दा धेरै ढिलो भइसकेको हुन्थ्यो। टाउकोमा रगत जमेको बिरामी समयमै उपचार नपाएर कोमामा पुगिसकेको हुन्थ्यो। चाँडै उपचारको पहुँचमा पुगेको भए बचाउन सकिन्थ्यो। 

त्योबेला लाग्यो- काठमाडौंमा सिमित इलेक्टिभ केस गरेर स्वास्थ्य प्रणालीमा सुधार हुँदैन । त्यतिबेला नै मैले गुरु डा देवकफटासँग सल्लाह गरेको थिएँ–  हजुरले तालिम दिएकाहरु हामी आ-आफ्नो ठाउँतर्फ जान सकियो भने राम्रो हुन्थ्यो । यहाँको अभ्यास पेरीफेरिमा पुर्या उन सक्दा धेरै  बिरामी बचाउन सकिन्थ्यो। उहाँले भावना बुझ्नुभयो। त्यहाँबाट निस्किन अनुमति दिनुभयो । उहाँ हुँदाहुँदै म छाडेर हिँडें। 
त्योबेला आफ्नै अस्पताल खोल्नै हैसियत थिएन। त्यसैले स्थापित पूर्वको बीएण्डसी अस्पतालबाट सेवा सुरु गरें । मैले त्यहाँ सेवा सुरु गर्दा नै फरक पर्न थालिसकेको थियो। हाम्रो मान्यता सकेसम्म बिरामीको निजी उपचार सेवा पुर्या उने थियो । किनभने ढिलो हुँदा बिरामी तलबितलमा परिसक्छ । बिदेशमा त अझे एम्बुलेन्सभित्रै उपचार सुरु भइसकेको छ । हामीकहाँ विविध समस्या छन्। त्यस्तो अवस्थामा नपुगेपनि बिरामीको नजिकै न्युरो अस्पताल खुल्न थालेका छन्। सेवा दिन थालिएको छ। त्यसैका लागि म बाहिरिएँ। 

झापामा कति वर्ष काम गरियो। त्यहाँको अनुभव कस्तो रह्यो ? 

मैले झापामा चार वर्ष जति काम गरें।  कोरोनाको बेला थियो। मैले त्यहाँ सेवा त दिइरहेको थिएँ तर अझै मनले मानिरहेको थिएन। आत्मसन्तुष्टि नहुन्जेल खोजी जारी रहने रहेछ । बिर्तामोड बसेर मेरो गाउँठाउँका बिरामीलाई उपचार सेवा दिन नसकेको कुरा खड्किरह्यो। मेरो मामाघर सिराहा र बुवा सप्तरी बस्नुहुन्थ्यो । त्यहाँबाट झापा पर नै पर्छ। पूर्वको सेन्टर भनेको इटहरी र बिराटनगर हो। त्यसैले मेरो रोजनाइ पहिले इटहरी नै थियो। त्यहाँ प्रयास गरियो तर एउटा सेन्टर स्थापना गरेर गुणस्तरीय उपचार सेवा दिन नसकिने महशुस भयो। त्यसपछि विराटनगरमा आइयो। यहाँ भावना मिल्नेहरुसँग मिलेर आफैंले न्युरो सेन्टर स्थापित गरियो। 

बिरामीका लागि सहज होस् भनेर हामी रोडको मुखमै बसेका छौं। बिरामीको समय घटाउने र सेवा गुणस्तरीय दिने हाम्रो लक्ष्य हो।  


उपत्यका बाहिर विशिष्टिकृत अस्पताल चलाउन र स्थापित गर्न कति मुश्किल हुने रहेछ ? 

मैले त्यस्तो महशुस गर्ने मौका नै पाइनँ । मैले अस्पताल सुरु गरेको पहिलो दिनबाट नै अप्रेशसन सुरु भएको थियो। पहिलो दिन नै कम्पिकेटेड केसबाट सुरु भयो। म बिरामीको संख्यामा रमाउँदिनँ । आफूले कतिजनालाई सेवा दिएर निको पारियो भन्ने कुरामा मज्जा लिनेमा परें । त्यो भएपछि नाम पुगेन कि, बिरामी थोरै भए कि, भन्ने कहिल्यै सोच्न परेन। दिनेले अनेक प्रकारका प्रतिक्रिया दिन्छन्। बिरामी बढाउनुपर्योा भन्छन्। अन्य जनरल सेवा दिएर भिडभाड बढाउन भन्छन्। तर, हामी गुणस्तरीय न्युरो उपचार सेवामै केन्द्रीत छौं । इथिकल अभ्यास गर्ने हो। गाइडलाइनले भनेको र जानेको कुरा कार्यान्वयन गर्ने हो । त्यो गरिरहेका छौं । हरेक दिन बिरामी भेटेकै छौं। 

व्यवस्थापकीय पक्षमा केही गाह्रो भयो होला । म यहाँ नयाँ थिएँ। पेरीफेरिमा काम गर्न चाहिने ज्ञान भने थियो । बाँसबारीमा डा देवकोटा सरको ‘हजार डिग्री’को तापक्रम झेलेको मान्छे,  बिराटनगरको ‘गर्मी’लाई सहजै पचाएँ।

तपाईं आउनुअघि न्युरोसर्जरी सेवाको अवस्था कस्तो थियो विराटनगरमा ? 

यहाँ राम्रै थियो। डा यमबहादुर रोका दाइ हुनुहुन्थ्यो। उहाँले नै विराटनगरमा न्युरोसर्जरी सेवा सुरु गर्नुभएको हो। उहाँको योगदानलाई हामी कहिल्यै भुल्न सक्दैनौं। उहाँको सहयोगले विराटनगरले न्युरोसर्जरीमा राम्रो प्रगति गरिरहेको थियो। अहिले त उहाँले छाडेर आफ्नै ठाउँ पोखरा फर्किनुभयो। मलाई जस्तै सबैलाई आफ्नै ठाउँ जान मन लागिहाल्ने रहेछ। 
उहाँलाई लोड बढी थियो। अप्रेसन गरेपछि मान्छे थाक्छ। उहाँले सबैको उपचार धान्न सक्ने अवस्था थिएन । केस धेरै थिए, संख्या कम थियो । त्यही भएर पनि मलाई यहाँ स्थापित हुन सहज भयो। म आउनेबित्तिकै बिरामीहरु पाइहाल्नुको कारण त्यही थियो। 

आफ्नै ठाउँमा आफूले नै सेन्टर स्थापना गरेर उपचार दिनु के-कति सन्तुष्टि हुँदो रहेछ र के-कति अप्ठ्यारा रहेछन्? 

पहिले-पहिले कर्पोरेट अस्पतालमा काम गरिन्थ्यो। केस इमर्जेन्सी हुन्थ्यो,  आर्थिक पक्षका कारण रोकिने पनि हुन्थ्यो । कतिपय अवस्थामा इथिकल इस्यु जस्तो महशुस हुन्थ्यो । यहाँ आएपछि त्यो पूरै न्युनिकरण गरेको छु । सबै मेरो नियन्त्रणमा भयो। बिरामीले ‘भोलि पैसा ल्याउँछु’ भन्दाखेरि ‘पैसा ल्याएपछि मात्रै उपचार सुरु गर्छु’ भन्नु परेन। तुरुन्त अप्रेसन चाहिएको छ भने ठीक छ, उपचार गर्दै गरौं भनेर अघि बढ्न मिल्छ। बिरामीले अनुमति दिएर उपचार गर्ने इच्छा जाहेर गर्नुपर्योो। अन्य कुराले रोकिँदैन। मलाई सन्तुष्ट बनाएको यही कुराले हो। पहिले एक-दुई केसमा यस्तो भोग्नुपरेको थियो।  नरमाइलो लागेको थियो। बिरामीसँग पैसा भएन, त्यसैले निको पार्न सकिएन भन्ने अवस्था छैन । कोही दिन नसक्ने भएपनि १० प्रतिशत सहुलियत  दिनुपर्नेमा राखेर उपचार गरेरै पठाइन्छ। 
सबैभन्दा धेरै इमर्जेन्सी हेड र स्पाइन इन्जुरीमा पर्छ। त्योपनि सरकारले १ लाख रुपैयाँ दिन्छ । त्यसमा हाम्रो अस्पताल पनि सूचीकृत भएको छ । त्यस्तो हुँदा झन् बढीले फाइदा लिन पाउने भए। मुख्य कुरा  आफ्नो अभ्यास हो,  जे गर्नुपर्ने हो, त्यो गर्छौं नै। आफ्नो अस्पताल भएपछि बिरामीलाई समय दिन मन पनि बढी लाग्दो रहेछ। पहिले ५ बजे हतार हुन्थ्यो। अहिले जति बजे पनि केही छैन,  जबसम्म बिरामी सुरक्षित महशुस हुँदैन, तबसम्म खटिइरहिन्छ। 

तपाईंलाई न्युरोसर्जरीमा रुचि कसरी जाग्यो ? 

एमबीबीएस गरेर काम सुरु गरिसकेपछि सम्म पनि मलाई न्युरो सर्जन बन्न मन नै थिएन । मलाई फिजिसियन बन्न मन थियो । त्योबेला फिजिसियनको चार्म देखेर मलाई त्यही बन्न इच्छा जागेको थियो। 
जब मैले इन्टर्नसीप सकेर काठमाडौंमा जबका लागि अप्लाइ गरें। न्युरो अस्पताल बाँसबारीबाट कल आयो। भोलिपल्टबाट जागिर लागें। डा उपेन्द्र देवकोटासँग मेडिकल अफिसरका रुपमा काम गर्ने मौका पाएँ । काम गर्दै गएपछि महशुस भयो- सर्जरी पो रमाइलो हुँदो रहेछ। सर्जनको पो धेरै चार्म हुँदो रहेछ। डा देवकोटाले उत्प्रेरित गर्नुभयो। एकदिन म सरलाई मैले सर्जरीमा असिस्ट गरें। त्यो सकेर नोट लेख्दै थिएँ । उहाँले भन्नुभयो- तिम्रो त हातको स्किल राम्रो रहेछ। तिमी त सर्जन बन्नुपर्ने मान्छे रहेछ,   किन सर्जन बन्न नखोजेको? 

उहाँको त्यो भनाइ मेरा लागि वाणी भयो। मलाई लाग्न थाल्यो-  हो न, हो म त्यसैका लागि पो हो कि ? त्यसपछि न्युरोसर्जरी नै पढ्ने भनेर सुरु गरियो। एमबीबीएस चिनबाट गरेको थिएँ। त्यसपछि एफसीपीएस गरेको हो। पाँच वर्षे कोर्स हुन्छ। नेपालमै पढाइ र तालिम हुन्छ तर रिकग्नाइज पाकिस्तानले गर्छ। अन्तिम परीक्षा पाकिस्तानले लिन्छ।  जुन अहिले बन्द भएको छ। दु:ख लागिरहेको छ। 
पढाइ निशुल्क थियो। परीक्षा शुल्क थोरै लिन्थ्यो।  यो स्कलरसिप जस्तै थियो। काम गरुन्जेल राम्रै पैसा पनि पाइन्थ्यो। टू प्लस थ्री गरेर डिभाइड गरिएको कोर्स थियो। दुई वर्ष जनरल सर्जरीको कोर्स हुन्छ। त्यो मैले बीएण्डबी अस्पतालमा गरेको थिएँ। त्यसपछि तीन वर्ष न्युरो सर्जरी बाँसबारीमा डा देवकोटा अन्तर्गत रहेर गरेको हुँ। 

त्यसअघि बीएण्डबी काम गर्दा पनि हप्ताको एकदिन सरको क्लास लिन जान्थें। न्युरो सर्जरीतिरै रुचि जागिसकेको थियो। त्यसैले यता काम सकेर हप्तामा एक दिन हुने उहाँको क्लास नबिराइ जान्थें।


 

यो अस्पताललाई तपाईंले कसरी सेटअप गर्नुभएको छ। आफ्नो गुरुको तस्विर देखियो। उहाँको झल्को आउने अन्य सेटअप पनि छन् ? 

यो मैले आफैं सेटअप गरेको हो। इन्जिनियरसँग बसेर मेरो दिमागले भ्याएजति र सकेजति बाँसबारी न्युरोकै आउटलाइनमा फिट गरेको छु। मलाई काम गर्दा महशुस होस् कि म बाँसबारीमै काम गरिरहेको छु। जुन इन्टरियर डिजाइन हुन्छ नि, आइसियु र ओटीको कुरा भयो, उहीँदेखिको डिजाइन हो। ओटीभित्रका कोरिडोरको डिजाइन पनि मैले उताकै जस्तो बनाएको छु। लिफ्टदेखि हरेक कुरामा मैले बाँसबारीकै ‘मिनिफर्म’ अर्थात् ५० बेडसम्मको यहाँ बनाएको छु। 

सामान मैले काम गर्दा त्यहाँ जे-जे थिए, त्यहीँ किनें। त्यहाँ  एमआरआई पछि ल्याएको हो,  म पनि त्यस मामलामा सरकै बाटोमा हिँड्छु । अलि पछि नै ल्याउँछु पहिले बाटो कसैले देखाइसकेको छ भने हिँड्न सजिलो भयो। यही बाटोबाट जाँदा त्यहाँ पुगिन्छ भन्ने थाहा भएकाले त्यही बाटोबाट जाने कोशिस गर्दैछु। 

जुन-जुन न्युरोसर्जरीलाई इमर्जेन्सी चाहिन्छ, हरेक चिज कन्जुस्याइँ नगरी हरेक आइटम ल्याएर सुरु गरें। त्यसले खर्च अलि बढी लाग्यो। 

चाहिने सामान सबै जुटाएर सुरु गरियो। त्यसैले लगानी भइसकेका कारण हामीले २५ बेडबाट सेवा सुरु गर्यौं  । त्यसपछि ५० का लागि अप्लाइ गरिहाल्यौं, प्रक्रिया लामो छ। त्यसमा समय लाग्ने थियो। सुरुमै तयार ५० बेडका लागि गरिकसकेका थियौं। त्यसैले २५ सहजै पायौं। पछि ५० बेडमा अपग्रेड गर्यौं । 

यहाँ न्युरोबाहेक पनि सेवा दिने गरिएको छ कि छैन ? 

हाम्रो एलाइड  न्युरो साइन्सेज सेन्टर हो। एक्सिडेन्ट भएर बिरामी आउँदा टाउकोमा मात्रै चोट लाग्दैन, शरीरका अन्य अंगमा पनि समस्या आउँछ। अन्य समस्यासँग सम्बन्धित विशेषज्ञज्ञ तथा सर्जन पनि हामीसँग हुनुहुन्छ। एलाइड भएकाले न्युरोसँग जोडिएका अन्यस समस्याका बिरामी आउँछन्, त्यसका कन्सलटेन्ट छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट