२०८२ असार २८ शनिबार
LATEST NEWS
२०८२ असार २८ शनिबार

तेह्रथुममा १८ सय बढी बिरामीले दुई दिनमा लिए विशेषज्ञ चिकित्सकको सेवा [फोटो फिचर]

म्याङलुङ्ग (तेह्रथुम)- तेह्रथुमको म्याङलुङ्ग नगारपलिकामा रहेको जिल्ला अस्पताल परिसरमा बिहानदेखिनै सयौं बिरामीहरुको ठूलो भिड थियो। भिडलाई व्यवस्थित बनाउन स्वंसेविकाहरु खटिएका थिए। ७० वर्षभन्दा माथि ज्येष्ठ नागरिकले लाइन नलागी सेवा लिइरहेका थिए।

दैनिक डेढ सयदेखि दुई सय बिरामी आउने अस्पतालमा शनिबार भने हजार भन्दा बढी बिरामी थिए। अस्पतालमा यसरी सेवाग्राहीको चाप बढी हुनुको कारण हो, दुई दिने निशुल्क स्वास्थ्य शिविर। देशका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले सेवा दिने गरी अस्पताल परिसरमा नै शिविरको आयोजना गरिएका कारण अस्पतालमा सेवाग्राही धेरै आएका थिए।

नेपाल चिकित्सक संघ, तेह्रथुम सरोकार समाज र म्याङलुङ्ग नगरपालिकाको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १८ सय भन्दा बढीले सेवा लिएका थिए। शनिबार र आइतबारको शिविरमा एक हजार आठ सय २६ जनाले सेवा लिएको समाजका अध्यक्ष डिल्लीराम ढुंगेलले जानकारी दिए।

उनका अनुसार शिविरमा काठमाडौं, चितवन, मोरङ, झापा, धरानका अस्पतालहरुमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको टोलीले जिल्लाका ६ वटा स्थानीय तहका नागरिकलाई सेवा दिएका छन्। 

शिविरमा क्यान्सर, मुटुरोग, नाक, कान, घाँटी, बालबालिका, हाडजोर्नी, मृगौलासम्बन्धी रोग, स्त्रीरोग, चर्मरोग, मधुमेह, थाइरोइड, आँखासम्बन्धी रोग, दाँत तथा गिजा रोग, छालासम्बन्धी रोग, नसासम्बन्धी रोग, मानसिक रोग, सामान्य चिकित्सा लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए।

डा कार्कीका अनुसार संघले समाजका लागि चिकित्सक र चिकित्सकका लागि समाज भन्ने नाराका साथ आयोजना गरेको शिविरमा २० भन्दा बढी अस्पतालका ५० भन्दा बढी विशेषज्ञ चिकित्सकसहित एक सय जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। 

शिविरमा वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल भारत मैत्री अस्पताल, भरतपुर सेन्ट्रल हस्पिटल, भरतपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, नेपाल एपिएफ अस्पताल, कोसी अस्पताल, नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, विराट मेडिकल कलेज, बीएन्डसी मेडिकल कलेज, तेह्रथुम जिल्ला अस्पताल, ग्लोवल आई हस्पिटल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुद्ध डेन्टल हस्पिटलका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागि थिए।

दुई दिने शिविरमा लामो समयदेखि रोग लागेर पनि उपचार सेवामा नपुगेका बिरामीदेखि नियमित स्वास्थ्य जाँच गराउने जागरुक नागरिकले समेत सेवा लिएको अध्यक्ष डा कार्कीले जानकारी दिए। ‘ग्रामिण क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा दिन पाउँदा काठमाडौं तथा देशका सहरी क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकहरु समेत खुसी भएका थिए,’ उनले भने, ‘विशेषज्ञ चिकित्सकको पहुँचमा आउन नसक्ने समुदायका नागरिकहरु पनि घरआँगनमै सेवा लिन पाउँदा खुसी भएका थिए।’

शिविरमा सामान्य समस्यदेखि क्यान्सरको समस्या भएका गम्भीर बिरामी समेतले सेवा पाएको म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्बाहाम्फेले जानकारी दिए। उनका अनुसार शिविरमा दुई जना बिरामीले शल्यक्रिया सेवा समेत लिन सकेका थिए।

‘त्यही शल्यक्रियाका लागि धेरै खर्च गरेर ठूला अस्पतालमा जानुपर्ने बिरामीले समेत यहीँ शिविरमा नै सेवा पाउन सकेका छन्,’ उनले भने, ‘घर नजिकै एकैपटक धेरै विशेषज्ञ चिकित्सकले सेवा दिने खबर पाएपछि ४/५ घण्टा हिँडेर समेत बिरामीहरु सेवा लिन आएका थिए।’ उनले आगामी दिनमा पनि आवश्यकता अनुसार यस्तै शिविरहरु सञ्चालन गरिने जानकारी दिए।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट