काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ। आइतबार बसेको समितिको बैठकले शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो।

उक्त छलफलमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौं बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताए।
उनले शिक्षक महासंघमा प्रतिनिधिले नौं बुँदे सहमति भन्दा अगाडि भएका सहमतिलाई पनि छलफलको एजेन्डा बनाएकाले आफ्नो प्रतिबद्धता भनेको नौं बुँदे प्रतिवद्धता भएको बताए।
उनले भने, ‘मैले गरेको नौं बुँदे सहमतिलाई कार्यान्वयन गर्न म प्रतिवद्ध छु। सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिवद्धता हो। यसमा सत्ता गठबन्धन दलहरुको सबैको प्रतिवद्धता छ र स्वयम प्रधानमन्त्रीज्यूको पनि छ। नौं बुँदे सहमतिको हकमा प्रतिवद्धता छ तर अहिले सवाल नौं बुँदेको मात्रै होइन। शिक्षक महासंघमा साथीहरुले नौं बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइराख्नु भएको छ। स्वभाविक रुपमा त्यसमा पनि छलफल गर्छौं। तर मेरो कमिटमेण्ट भनेको नौं बुँदे प्रतिवद्धता हो। नौं बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने हो। त्यसमा अस्पष्ट रहेका कतिपय बुँदाहरुमा शिक्षक महासंघका प्रतिनिधिहरुसँग बसेर छलफल गर्नेछौं। र, एउटा निक्र्यौलमा पुग्छौं।’

साथै उनले आर्थिक बोझ पार्ने माग यसैपाली यसरकारले बहन गर्न नसक्ने बताए। उनले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ नरहेको बताए।
उनले भने, ‘आर्थिक बोझ पार्ने माग यसैपाली यही सरकारले बहन गर्न सक्दैन। हाम्रो अर्थतन्त्रले, आयस्रोतले गर्न सक्दैन। हामीले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ छैन।’
सामाग्री श्रोत :
शिक्षकका ९ बुँदे मागप्रति प्रतिबद्ध छौं, आर्थिक बोझलाई भने ध्यान दिन्छौं : शिक्षामन्त्री