काठमाडौँ । भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला गृहमन्त्री रमेश लेखकले मन्त्रालयले आजै विज्ञप्ति निकाल्ने र त्यसपछि आफू पनि सार्वजनिक रूपमा बोल्ने बताएका छन् ।

शनिबार धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले यसबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
एक कार्यकर्ताले राखेको जिज्ञासामा उनले भने, “केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुई-तीन दिन किन चुप लागेर बसेको थिएँ भने, यो कहाँबाट, कसरी र किन भइरहेछ भन्ने बुझ्दै थिएँ । अब यसबारे धेरै कुरा थाहा पाइसकेको छु ।”
उनले अगाडि भने, “आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई/चार दिनमा आफैँ पनि केही कुरा बोल्छु । अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ ।”

गृहमन्त्री लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि उनको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनलाई जिम्मेवार ठहर्याउने स्वरहरू बलियो बन्दै गएका बेला उनले यस प्रकरणबारे धेरै कुरा थाहा पाएको र अब बोल्ने प्रतिक्रिया दिएका हुन् ।
मन्त्री लेखकको सचिवालयमा कार्यरत एक व्यक्तिमाथि फर्जी कागजात प्रयोग गरी भिजिट भिसामा मानव तस्करीको सेटिङ गरेको गम्भीर आरोप लागेको छ ।
७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवं गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएसँगै भिजिट भिसाको नाममा ‘अघोषित मानव तस्करी’ भइरहेको खुलासा भएको थियो ।
अख्तियारको अनुसन्धानले गृहमन्त्री लेखकका निजी सचिवालयका कर्मचारीहरूसँग भट्टराईको नियमित सम्पर्क देखाएकाले यसमा गृहमन्त्री समेत संलग्न हुनसक्ने टिप्पणी भइरहेको छ ।
सञ्जालका सक्रिय प्रयोगकर्ताहरूले गृहमन्त्री लेखकको नैतिकतामाथि प्रश्न उठाउँदै उनको राजीनामा माग गरेका छन् । विगतमा निर्मला पन्त हत्याकाण्डजस्ता विषयमा सरकारको चर्को आलोचना गर्ने लेखक आफूमाथि यस्ता गम्भीर आरोप लाग्दा मौन बसेको भन्दै उनको ‘दोहोरो’ चरित्रमाथि टिप्पणी भएको छ।
साथै अख्तियारले अनुसन्धान थालेपछि अध्यागमनका कर्मचारी सरुवा गरिएकोमा पनि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ । यस्तो हर्कतले सरकारको सुशासनमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको तर्क छ ।
केही प्रयोगकर्ताले लेखकको नेतृत्वमा सुशासनको अभाव भएको र यस्ता काण्डले सरकारको विश्वसनीयता गिर्दै गएको टिप्पणी गरेका छन् । एक प्रयोगकर्ताले एक्समा लेखेका छन्, “गृहमन्त्रीले विगतमा अरूलाई नैतिकताको पाठ पढाउँथे, तर आज आफैं यस्तो काण्डमा मुछिएर मौन छन् ।”
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १६:२५
सामाग्री श्रोत :
टेक पाना