
काठमाडौँ । माइक्रोसफ्टले नोटप्याडमा एआई प्रयोग गरी टेक्स्ट तयार पार्ने फिचरको परीक्षण थालेको छ । कम्पनीले विन्डोज ११ को नयाँ अपडेटमार्फत उपलब्ध गराउन ‘राइट’ नामक नयाँ फिचरको परीक्षण थालेको हो ।
द भर्जका अनुसार सुरुवाती चरणमा यो फिचर विन्डोज इनसाइडरको क्यानरी र डेभ च्यानलमा कोपाइलट प्लस पीसी भएका प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ । यस अपडेटमा नोटप्याडका बाहेक पेन्ट एपका लागि स्टिकर तयार पारिदिने नयाँ एआई फिचर आएको छ भने स्निपिङ टुलमा सुधार गरिएको छ । स्निपिङ टुलले अब तपाईंले छानेको कन्टेन्टलाई विश्लेषण गरी त्यसैका आधारमा स्क्रिनशट लिई स्वतः क्रप र रिसाइज गर्न सक्नेछ ।
विन्डोज इनसाइडर ब्लगका अनुसार एआईद्वारा सञ्चालित नोटप्याडको यो नयाँ फिचर प्रयोग गर्दा तपाईंले प्रम्प्ट दिनुपर्ने हुन्छ । त्यसपछि त्यही प्रम्प्टका आधारमा एआई टुलले टेक्स्ट तयार पारिदिन्छ ।

त्यसबाहेक आफूले लेखेका सामग्रीलाई मिलाएर राख्न पनि यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । त्यसैगरी तपाईंले लेखिसकेको कन्टेन्टमा पनि केही सुधार गर्नुपर्यो वा केही थप्नुपर्यो भने तपाईंले एआई टुल प्रयोग गर्न सक्नुहुन्छ ।
विन्डोजको कोपाइलट मेनुमा रहेको नयाँ ‘राइट’ फिचर छानिसकेपछि एउटा प्रम्प्ट देखा पर्छ । त्यसमा आफूले दिन चाहेको निर्देशन प्रम्टका रूपमा राख्न सकिन्छ । त्यसपछि एआईले तयार पारेका शब्दहरू देखा पर्नेछन् । ती शब्द चित्त नबुझेको खण्डमा रद्द गर्न वा थप प्रम्प्ट राखेर त्यसलाई सुधार गर्न सकिने जनाइएको छ ।
यसअघि माइक्रोसफ्टले नोटप्याडमा ‘समराइज’ र ‘रिराइट’ जस्ता फिचर ल्याएको थियो । समराइजले डकुमेन्टमा भएको टेक्स्टको सारांश तयार पार्न सक्छ भने रिराइटले शब्दलाई परिमार्जन गरी प्रयोगकर्ताको आवश्यकता अनुसार शब्दलाई छोटो, लामो वा पुनर्लेखन गर्न सक्छ ।
माइक्रोसफ्ट पेन्टमा यसअघि जेनेरेटिभ फिल (फोटोमा खाली ठाउँ भर्ने), जेनेरेटिभ इरेज (फोटोको अनावश्यक वस्तु हटाउने), शब्दकै भरमा फोटो तयार पार्ने कोक्रियट टुल परीक्षण भएका थिए । अब कोपाइलट मेनुमा भएको नयाँ बटनमा क्लिक गर्नासाथ एउटा प्रम्प्ट बक्स खुल्छ । त्यसमा तपाईंले आफूले बनाउन चाहेको स्टिकरको प्रम्प्ट राख्न सक्नुहुन्छ । त्यसपछि पेन्टले तपाईंको प्रम्प्टको आधारमा स्टिकर तयार पारिदिन्छ । त्यस्ता स्टिकरलाई नयाँ क्यान्भासमा पेस्ट गर्न वा अन्य एपमा पेस्ट गरेर आवश्यकता अनुसार प्रयोग सक्नुहुन्छ ।
पेन्टमा नयाँ ‘अब्जेक्ट सेलेक्ट’ टुल आउने भएको छ । उक्त टुलले एआई प्रयोग गरी फोटोको कुनै वस्तु सेलेक्ट गर्न सक्छ । त्यसलाई सेलेक्ट गरिसकेपछि आवश्यका अनुसार एडिट गर्न सकिन्छ । अन्य टुलको तुलनामा यसले सटीकताका साथ वस्तु पहिचान गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै विन्डोज ११ को स्निपिङ टुलमा ‘पर्फेक्ट स्क्रिनसट’ नामक नयाँ बटन आउने भएको छ । यसको सहायताले तपाईंले आफूलाई आवश्यक परेको भाग तत्कालै स्क्रिनशट गर्न र एडिट नगरेरै आवश्यक पर्ने ठाउँमा शेयर गर्न सक्नुहुन्छ । यसका लागि प्रयोगकर्ताको आवश्यकता के हो भन्ने पहिचान गर्न उक्त टुलले एआई प्रयोग गर्ने जनाइएको छ ।
नोटप्याडको नयाँ ‘राइट’ फिचर प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो माइक्रोसफ्ट अकाउन्टमा साइन इन गर्नुपर्ने हुन्छ । यो फिचर परीक्षणका चरणमा निःशुल्क उपलब्ध भइरहेको छ । यो फिचर पूर्ण रूपमा सार्वजनिक भइसकेपछि निःशुल्क उपलब्ध हुन्छ वा शुल्क लाग्छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन । त्यसबाहेक यो फिचर सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छ भन्ने विवरण पनि हालसम्म बाहिरिएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १४:३१
सामाग्री श्रोत :
टेक पाना