काठमाडौं- नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा चयन भएको छ।
सामाजिक सञ्जाल मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका छन्।
स्वीट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सम्मेलन भएको थियो। जारी सम्मेलनका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्य बनेकाे हाे ।
नेपाल तीन वर्ष संगठनको कार्यकारी समितिमा रहनेछ। पौडेलले यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार गर्दै विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए।
`यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं,´ उनले भनेका छन्, `नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ। सबै नेपालीलाई बधाई!´
सामाग्री श्रोत :
swasthyakhabar

