काठमाडौं । पारदर्शी फोनको नामले विश्वभर परिचित नथिङले नेपालमा सीएमएफ फोन टु प्रोको बुकिङ पुनः खुलाएको छ । यसअघि अत्यधिक माग भएपछि १०० ओटा बुकिङ आउनासाथ बन्द गरेको कम्पनीले पुनः १५० पिसका लागि बुकिङ खुलाएको हो ।

फोनका दुई ओटा भेरियन्टका लागि प्रि-बुकिङ खुलाइएको छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
यी दुई भेरियन्ट प्रि-अर्डर गर्ने प्रयोगकर्ताका लागि कम्पनीले छ हजार ४९९ रुपैयाँ पर्ने सीएमएफ बड्स टु ए निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
कस्तो छ नथिङ टु प्रो ?

यो फोनको लुक्स र स्पेसिफिकेसनबारे विभिन्न धारणा बाहिर आएका छन् । फोन मूल्य अनुसारको छ कि छैन, यसमा अन्य फोनभन्दा खास फिचर के छ ? भन्नेबारे विश्वव्यापी रूपमा टेक रिभ्युअरले चर्चा गरिरहेका छन् । एउटा कुरामा भने कसैको दुईमत नहोला, त्यो हो- यो फोन एकदमै राम्रो डिल ।
सुरुमा अलिकति पृष्ठभूमि बुझौं । ‘नथिङ’ एउटा बजेट फोन निर्माता कम्पनी हो र त्यही कम्पनीको अझै सस्तो सब-ब्राण्ड हो सीएमएफ । नेपालमा यस कम्पनीको आधिकारिक बितरक चौधरी ग्रुप हो । अनि यो सीएमएफ फोन टु प्रो सीएमएफको दोस्रो फोनको प्रो भर्सन हो । यद्यपि यसको नन-प्रो भर्सन भने बजारमा छैन । यो अलि अलमलिने खालको छ । तर मुख्य कुरा के हो भने, सीएमएफले एउटा बजेट फोन बनाएको छ । जसको डिजाइन एकदमै फरक छ र यसमा केही राम्रा फिचरहरू छन् भने केही कुरामा कम्पनीले सम्झौता पनि गरेएको छ ।
‘प्रो’ नाम किन दिइयो भन्ने कुरामा सायद यसको पछाडि भएको तीन ओटा क्यामेराका कारण होला । तर नाम जे भए पनि यो फोन हेर्दा र चलाउँदा यसको मूल्यभन्दा महँगो फोन जस्तो अनुभव हुन्छ । यसमा ठुलो, उज्यालो र उच्च रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले छ । यसमा अन्डर-डिस्प्ले फिङ्गरप्रिन्ट रिडर पनि छ । अर्थात् डिस्प्लेमै फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ ।
यो फोन अलि पातलो छ । बेजल पनि प्रायः सबैतिर बराबर छन् । अगाडिपट्टि सेल्फी क्यामेराका लागि सानो पञ्च-होल कटआउट छ । ५००० एमएएचको ब्याट्री भएर पनि यो फोन हलुका छ ।
यसको पछाडिको भाग प्लास्टिकको छ । तर रातो कलरको भेरियन्टमा तल्लो आधा भागले धातुको जस्तो अनुभव दिन्छ । अरू कलरमा भने पूरै भाग धातु जस्तै लाग्छ । यसको फ्ल्याट ब्याक र मेटल क्यामेरा रिङले यसलाई फरक डिजाइन दिएको छ । कसैलाई यो आकर्षक लाग्न सक्छ, कसैलाई नलाग्न सक्छ । तर यसको आफ्नै ‘पहिचान’ छ भन्न सकिन्छ । विशेषगरी यसको सुन्तला कलरमा खास पहिचान भेट्न सकिन्छ ।
गत वर्षको सीएमएफ फोन जस्तै यो फोन मोडुलर पनि छ । पछाडि चार ओटा स्क्रु र एउटा थम्ब स्क्रु छ । तर पछाडिको भाग पूरै खुल्दैन । बरु एउटा छुट्टै एक्सेसरी ब्याक लगाउन मिल्छ । त्यसमा क्यामेरा लेन्स माउन्ट र एकदमै बलियो म्यागसेफ म्याग्नेट छन् । कम्पनीका अनुसार यी म्याग्नेट यति बलिया छन् कि विभिन्न म्यागसेफ र अरू म्याग्नेटिक एक्सेसरीहरू सजिलै टाँसिन्छन् ।
एक्सेसरी ब्याकमा भएको क्यामेरा लेन्स माउन्ट पनि रोचक छ । सीएमएफले दुई ओटा लेन्स बनाएको छ- एउटा म्याक्रो र अर्को फिसआई । यो फोनको पछाडि मुख्य ५० मेगापिक्सेल क्यामेरामाथि सजिलै लगाउन मिल्छ । यी लेन्सले आफ्नो काम राम्रैसँग गर्छन् । हुन त अरु फोनहरूले पनि बिल्ट-इन म्याक्रो क्यामेराबाट यस्तै वा अझ राम्रो म्याक्रो फोटो खिच्न सक्छन् । फिसआई लेन्सले भने फोटोलाई अलि फरक लुक्स दिन्छ । मुख्य क्यामेरा आफैमा ठिकै छ । फोटोमा अलि वार्म्थ (न्यानो) र गुलाफी रङ देखिन्छ र कहिलेकाहीं ओभर एक्सपोज पनि हुन्छ । यी लेन्सलाई राख्ने ठाउँ भने छैन । त्यसैले बोक्दा फोहोर हुने वा सफा गर्न गाह्रो हुने हुन सक्छ ।
अब कुरा गरौं सफ्टवेयरको । यो फोनमा भएको सफ्टवेयर सायद ४०० डलर (करिब ५० हजार रुपैयाँ)भन्दा कम मूल्यका फोनमध्ये सबैभन्दा राम्रो हो । यो एकदमै सफा छ भने यसमा भएका एनिमेसन सहज छन् । केही अतिरिक्त फिचर जस्तै कस्टम विजेट र डट्स मोटिफ पनि छ । यो धेरै झन्झटिलो पनि छैन र विज्ञापनहरू पनि छैनन् । यसमा ‘इसेन्सियल स्पेस’ भन्ने एउटा एआई इन्फो कलेक्सन टुल पनि छ ।
डिस्प्ले यसको अर्को बलियो पक्ष हो । यसमा ६.७७ इन्चको १०८० पिक्सेल रिजोलुसन सहितको एडप्टिभ १२० हर्जको एमोलेड डिस्प्ले छ । यो एकदमै रेस्पोन्सिभ छ (४८० हर्ज टच स्याम्पल रेट) भने एकदमै उज्यालो छ (३००० निट्स एचडीआर, १३०० निट्स फुल-स्क्रिन बाहिर) देखिन्छ । यसमा २१६० हर्जको पीडब्लुएम डिमिङ पनि छ । डिस्प्लेमा मन नपरेको एउटै कुरा भनेको यसमा पहिले नै लगाइएको स्क्रिन प्रोटेक्टर हो । त्यसमा सेल्फी क्यामेराको वरिपरि कटआउट छ ।
अन्य स्पेसिफिकेसनको कुरा गर्दा यसमा मिडियाटेक डाइमेन्सिटी ७३०० प्रो प्रोसेसर छ (जसको प्रदर्शन स्न्यापड्रागन ८६५ जत्तिकै छ)। यो ८ जीबी र्याम र १२८ तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ साथै माइक्रोएसडी कार्ड स्लट पनि छ । यसमा एनएफसी पनि थपिएको छ जुन अघिल्लो सीएमएफ फोनमा थिएन ।
ह्याप्टिक्स पनि राम्रो छ । तर, तलपट्टिको एउटा मात्र स्पिकर भने खासै राम्रो छैन । यो आईपी ५४ रेटेड पनि छ अर्थात् पानीको छिटाले केही हुँदैन ।
यसमा ५००० एमएएचको ब्याट्री छ भने यसले ३३ वाटको चार्जिङ सपोर्ट गर्छ । र, ब्याट्री लाइफ एकदमै राम्रो छ । पछाडिको ट्रिपल क्यामेरा सेटअप छ । जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ तर ओआईएस छैन ।
टेलिफोटो लेन्स केवल २एक्स जुम भएको र सानो सेन्सर भएको छ । अल्ट्रावाइड लेन्स मुख्य क्यामेराभन्दा फराकिलो छ तर ८ मेगापिक्सेलको मात्रै छ ।
समग्रमा नेपाली बजारमा ३४ हजार ९९९ र ३९ हजार ४९९ रुपैयाँ पर्ने यो फोनले सफ्टवेयर र डिस्प्लेमा उत्कृष्ट छ । यसको मोडुलारिटी र डिजाइनले यसलाई अझै रोचक बनाएको छ । बजेट फोन खरिद गर्दै हुनुहुन्छ र केही पृथक फिचर भएको क्यामेरा फोन तपाईंको आवश्यकता हो भने यो फोन खरिद गर्न सिफारिस गर्न सक्छौं ।
(टेकपानाले यस फोनको भिडिओ रिभ्यु तयार पारेको छ । सो भिडिओ शुक्रबार बेलुका टेकपानाको युट्युब च्यानल र सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा हेर्न सकिनेछ ।)
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १३:६
सामाग्री श्रोत :
टेक पाना