काठमाडौं–हनी ट्रयापमा पारेर काठमाडौंमा घर र ४ आना जग्गाको बार्गेनिङ गरेको आरोपमा दुई जना महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलाली गोदावरी १० स्थायी घर भइ काठमाडौंको कालोपुलमा बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरकी ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन्।
उनीहरुलाई बुधबार साँझ हनुमानस्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका हुन्।
उनीहरुले सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरुसँग सम्बन्ध राखी होटलमा बोलाएर माधक पदार्थ सेवन गराई अश्लील फोटो तथा भिडियो बनाई मेसेन्जरमा पठाएर काठमाडाैंमा घर र जग्गा दिनुपर्छ नत्र याैन शाेषाणकाे मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ। त्यही क्रममा ५ लाखको चेक काट्न बाध्य पारेको र उक्त चेक र दुई थान माेबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये आँचल विवाहित र सम्बन्धविच्छेद गरेर बसेकी महिला हुन्। उनीहरूको केही पेसा खुलिनसकेकाले यस्तै शैलीमा ठगी गरेको हुनसक्ने कोही पीडित भए सम्पर्कमा आउन प्रहरीले आग्रह समेत गरेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ