काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत संगठन (इन्बार) को सचिवालयको मुख्यालयमा आयोजित इन्बार परिषद्को १३औँ बैठकको आज उनले अध्यक्षता गरेका थिए। उनले विश्वका जल्दाबल्दा चुनौती, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन र हरित आर्थिक वृद्धिलाई सम्बोधन गर्न बाँस तथा बेतको रूपान्तरणकारी क्षमता आवश्यक रहेकामा जोड दिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ।
उनले सदस्य राष्ट्रहरूबीच ज्ञान र विशेषज्ञता आदानप्रदानले विश्वव्यापी दिगोपनाका प्रयास सुनिश्चित गर्दै प्रकृतिमा आधारित समाधानलाई विस्तार गरिने उल्लेख गरे।
बैठकमा मन्त्री शाहीले अध्यक्षताका क्रममा नेपालप्रति दर्शाएको विश्वासका लागि जनवादी गणतन्त्र चीन सरकार, सबै सदस्य राष्ट्रहरू र इन्बार सचिवालयप्रति आभार व्यक्त गरेका थिए।

सो अवसरमा मन्त्री शाहीले उरुग्वे र डोमिनिकन गणतन्त्रलाई इन्बारको नयाँ सदस्यका रूपमा स्वागत गरे। कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपालमा पाइने बाँस तथा बेतका विभिन्न प्रजातिको महत्त्वमाथि प्रकाश पार्दै माटो तथा पानी संरक्षण र जनताको जीविकोपार्जनमा सुधारका लागि बाँस तथा बेत महत्त्वपूर्ण रहेको बताए।
परिषद्को बैठकमा इन्बारका सदस्य राष्ट्रहरू तथा पर्यवेक्षक राष्ट्रहरूका प्रतिनिधिहरूको सहभागिता थियो। सन् १९९७ मा स्थापित, अन्तरराष्ट्रिय बाँस तथा बेत संगठन एक अन्तरसरकारी विकास संगठन हो, जसले बाँस तथा बेतको प्रयोग गरी वातावरणीय रूपमा दिगो विकासलाई प्रवर्द्धन गर्दै आएको छ।
मन्त्री शाही नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही जेठ १० गते स्वदेश फर्कने कार्यक्रम छ। नेपाल हाल इन्बारको अध्यक्ष राष्ट्र हो।
सामाग्री श्रोत :