काठमाडौं । एप्पलको आगामी आईफोन १७ एयरबारे दुई नयाँ महत्त्वपूर्ण जानकारी लिक भएको छ । गत शुक्रबार दक्षिण कोरियाली सामाजिक सञ्जाल नेभरमा येक्स ११२२ (yeux1122) नामक लिकरले नयाँ मोडेलको ब्याट्री क्षमता र तौलको जानकारी लिक गरेका हुन् ।

यस अकाउन्टले प्रायः चिनियाँ सामाजिक सञ्जालमा लिक भएका जानकारीलाई सङ्कलन गरी सहज रूपमा उपलब्ध गराउने गर्छ । सप्लाई चेनबाट आएका जानकारी शेयर गर्ने सन्दर्भमा यस अकाउन्टलाई केही हदसम्म विश्वसनीय मानिन्छ ।
नयाँ पोस्टमा आईफोन १७ एयरका केही मुख्य विवरणको चर्चा गरिएको छ । खासगरी यसको तौल, ब्याट्री क्षमता र मोटाइ सम्बन्धी विशेष जानकारी राखिएको छ । यी विवरण ‘मास प्रोडक्सन कन्फर्मेड स्याम्पल’ (ठुलो उत्पादनका लागि पुष्टि भएको नमूना) बाट आएको बताइएको छ ।
पोस्टमा आईफोन १७ एयरको मोटाइ ५.५ एमएम हुने बताइएको छ । यो जानकारी यसअघि विश्लेषक मिङ-ची कुओले पनि उल्लेख गरेका थिए । यसको तौल १४५ ग्राम हुनेछ भने यसमा २८०० एमएएच क्षमताको ब्याट्री हुनेछ ।

हालै आईफोन १७ एयरमा अपेक्षाभन्दा कम ब्याट्री क्षमता हुने भन्नेबारे धेरै रिपोर्ट बाहिरिएका छन् । एप्पलको आन्तरिक परीक्षणले लगभग ६०-७० प्रतिशत प्रयोगकर्ताले मात्र फोनबाट पूरा दिनको ब्याट्री लाइफ पाउने देखाएको छ । जबकि परम्परागत रूपमा यो सङ्ख्या ८०-९० प्रतिशत हुने गर्छ ।
२८०० एमएएचको ब्याट्री क्षमता त्यति आश्चर्यजनक भने होइन । यो लगभग पाँच वर्ष पुरानो आईफोन १२ र आईफोन १२ प्रो को ब्याट्री क्षमता (२८१५ एमएएच) को हाराहारीमा छ । ती दुबै फोनको ब्याट्री लाइफ उत्कृष्ट नभए पनि खराब भने थिएन ।
एप्पलले आईओएस १९ मा एआई-पावर्ड ब्याट्री अप्टिमाइजेसन फिचर पनि लागू गरिरहेको बताइएको छ । यसले गर्दा कमजोर ब्याट्री क्षमतालाई केही हदसम्म मद्दत पुर्याउने सम्भावना छ । आईफोन १६ मा ३५६१ एमएएच र आईफोन १६ प्लसमा ४६७४ एमएएच ब्याट्री रहेको छ । यसको अर्थ, आईफोन १७ एयरमा स्ट्यान्डर्ड आईफोनको तुलनामा लगभग २० प्रतिशत र समान स्क्रिन साइजको आईफोनको तुलनामा लगभग ४० प्रतिशत कम ब्याट्री हुनेछ ।
पोस्टमा २८०० एमएएच सेल साइजको उच्च-घनत्व भएको ब्याट्री जडान गर्ने ‘सम्भावना’ रहेको पनि उल्लेख छ । यदि यो लागु भएमा यसले ‘वास्तविक क्षमता’ १५ देखि २० प्रतिशतले बढ्नेछ । यदि यो सफल भएमा आईफोन १७ एयरले स्ट्यान्डर्ड आईफोनको ब्याट्री लाइफको बराबरी गर्न सक्नेछ ।
लिक भएको जानकारी अनुसार आईफोन १७ एयरको तौल लगभग १४५ ग्राम हुनेछ । यो आईफोन एसई २ (१४८ ग्राम) र आईफोन १३ मिनी (१४१ ग्राम) को तौलको हाराहारी हो । यसको अर्थ प्रयोगकर्ताले ६.६ इन्चको ठुलो स्क्रिनमा सानो आईफोनको जस्तै हलुका भएको अनुभव गर्न सक्नेछन् ।
आईफोन १७ एयर साँच्चै हल्का महसुस हुने र यसले चर्चामा रहेको ‘एयर’ नामलाई सार्थक तुल्याउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १५:७
सामाग्री श्रोत :
टेक पाना