हो आमा, म तिम्रो काख छोडी बिदेशतिर होमिँदै
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न तम्सिदै छु ।।
नठाने है स्वार्थी मलाई, औधि लाग्छ माया मेरै देशको
स्वर्ग लाग्छ, आफ्नै गाउँघर, बिछट्टै सुन्दर मेरो आफ्नै भेषको।
धेरै सोचेँ, धेरै रोये अब धेरै टाढा लम्किँदै छु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्स गर्न तम्सिँदै छु ।।
बिर्सिएको कहाँ छु र आमा, मलाई नर्स बनाउँदा तिमी आफैँ रित्तिएको
पछि कमाएर जोड्लाउ नि त भन्दै, आधा बारी सिद्धिएको ।।
खै त आमा के दिए तिमीलाई, पश्चातापमा जल्दैछु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न म तम्सिँदैछु ।।
पेटमा कत्ति दया नभएका, वर्षौं गरे भोलुनटरी
आधा पेटमा डबल सिफ्ट, अनिँदो रात त कति कति ।।
माटोकै लागि गर्छु भन्थे, आज बिचमै थन्किदै छु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न तम्सिदै छु ।।
न सुरक्षा छ जिउज्यानको, न सम्मान छ बिरामी र आफन्तबाट
कटाक्ष बचन दैनिकजसो, अस्पतालको प्रसासनबाट ।।
मीठो बचन, राम्रो ब्यबहार, असल जिवन सम्झिदै छु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न तम्सिदै छु ।।
ज्यानको बाजी लगाएर, धेरै ड्युटी गरे मैले
समृद्धिको मृगतृष्णा, मनभित्रै मरे ऐले ।।
एकपटक को जिन्दगानि, आफैँसँग फन्किदै छु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न तम्सिदै छु ।।
म भागेको हैन है आमा, म त देशबाट लखेटिएको हुँ
मेरो देशलाई म खाँचो छैन रे, तिरस्कारले धपाइएकी हुँ ।।
अभाव, असुरक्षा र अपमानमा, कहिलेदेखि रन्किदै छु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न तम्सिदै छू ।।
भनिदेउ न आमा यो सर्कारलाई, के देशमा नर्स चाहिँदैन रे?
काम अनुसारको पारिश्रमिक, अनि सम्मान माग्न पाइँदैन रे?
जन्मभूमि छोड्नुपर्दा, भित्रभित्रै सल्किदै छु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न तम्सिदै छु।।
हो आमा, म तिम्रो काख छोडी बिदेशतिर होम्मिदै छु
बिरानो, अज्ञात, अन्जान भूमिमा, संघर्ष गर्न तम्सिदै छु ।।
(घिमिरे चितवन मेडिकल कलेजको साइक्याट्रिक डिपार्टमेन्टकी सिनियर लेक्चरर हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

