२०८२ जेष्ठ ७ मंगलवार
२०८२ जेष्ठ ७ मंगलवार

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू निमित्तको भरमा, दीर्घकालीन योजनामा असर

काठमाडौं– नेपालका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू लामो समयदेखि निमित्त नेतृत्वको भरमा सञ्चालन भइरहेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका प्रतिष्ठानहरुमा उपकुलपति लगायतका पदाधिकारी रिक्त भएको लामो समय हुँदा समेत सरकारले नियुक्त गर्न नसक्दा निमित्तको भरमा चलेका हुन्।

प्रतिष्ठानहरु निमित्त नेतृत्वको भरमा सञ्चालन हुँदा दीर्घकालीन योजना र प्रभावकारी सञ्चालनमा गम्भीर असर परिरहेको प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको गुनासो छ।अधिकारसहितको पूर्णाकालिन नेतृत्वको अभावमा प्रशासनिक स्थिरता, नीतिगत निर्णय र गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवामा चुनौती देखिएको उनीहरुले बताएका छन्। 

आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम बनाउने समयमा समेत उपकुलपति नियुक्त नहुँदा दीर्घकालिन योजनामा असर परेको चारवटै प्रतिष्ठानका कर्मचारीहरुले जानकारी दिएका छन्।

नेपालका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा निमित्त प्रमुखहरूले जिम्मेवारी सम्हालिरहेका छन्। 

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राजनीतिक रुपमा भागबन्डा नमिल्दा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेको हो। उपकुलपति नियुक्तिका लागि छनोट समिति बनाउनेदेखि मापदण्ड बनाउने प्रक्रिया समेत पोखरा बाहेक अरुमा हुन सकेको छैन। छनोट समितिले नै उपकुलपतिका लागि आवश्यक मापदण्डहरु बनाउने छ। पोखराका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेको संयोजक्तवमा योजना आयोगका सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा सदस्य रहेका छन्।समितिले समेत काममा तीव्रता दिन नसकेको स्रोतको भनाई छ।

यी प्रतिष्ठानमा उपकुलपति रिक्त भएको पनि दुई महिनाभन्दा बढी समय भइसकेको छ। बीपी प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गत चैत २७ गतेदेखि रिक्त भएका हुन्। पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति चैत २२ गतेबाट रिक्त भएका हुन्। रिक्त रहेका प्रतिष्ठानमा नियुक्तिका लागि सर्च कमिटी बनाउने लगायतका काम अगाडि नबढाएर सरकारले निमित्तका भरमा प्रतिष्ठान चलाइरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्त डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयबाट चारवटै प्रतिष्ठानका लागि उपकुलपति नियुक्तिका लागि सर्च कमिटि बनाउने र सोही कमिटिले उपकुलपतिका लागि नाम सिफारिस गर्ने भनेर मन्त्रालयमा फाइल उठेर कुलपति समक्ष पठाउने निर्णय भइसकेकाले छिट्टै नै प्रक्रिया अगाडी बढ्ने बताए।

निमित्त नेतृत्वले दैनिक प्रशासनिक कार्य सञ्चालन गरे पनि दीर्घकालीन नीति निर्माण, बजेट व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यमा प्रभावकारी कदम चाल्न नसक्ने विज्ञहरूको भनाइ छ।’निमित्त प्रमुखहरूले ठूला नीतिगत निर्णय लिन हिचकिचाउँछन्, किनभने उनीहरूको कार्यकाल अनिश्चित हुन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘यसले स्वास्थ्य शिक्षाको गुणस्तर, अनुसन्धान र सेवा विस्तारमा ठूलो बाधा पुगिरहेको छ ।’

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। तर, स्थायी नेतृत्वको अभावले यी संस्थाहरूले आफ्नो सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न नसकेको उनी बताउँछन्।

उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको निमित्तको जिम्मेवारी रेक्टर र डिनले पाएका छन्। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते निमित्तको जिम्मेवारी दिएका हुन्। 

बिपी कोइरालामा डा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामीले निमित्तको जिम्मेवारी पाएका हुन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले निमित्तको जिम्मेवारी पाएका छन्। 

‘उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ’ उनीहरुले पाएको पत्रमा भनिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट