काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको भूमिलाई हिरा उत्पादन गर्ने थलोको संज्ञा दिँदै ती हिरा पहिचान गर्न अझै बाँकी रहेको बताएका छन्।

अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कास्य पदक प्राप्त जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई आज आयोजित सम्मान कार्यक्रममा उनले मधेसमा अपार सम्भावना भएका प्रतिभाहरू रहेकाले तिनीहरूलाई पहिचान र प्रोत्साहन आवश्यक रहेको बताएका हुन्।
मिश्रले हालै तुर्कमेनिस्तानमा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा नेपालबाट प्रतिनिधित्व गर्दै कास्य पदक प्राप्त गरेका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले उहाँलाई सम्मान गर्दै भने, “हाम्रो भूमिमा धेरै हिरा छन्, आशिष जस्ता युवाहरू आफैँ अघि आएका छन्। यदि हामीले यस्ता प्रतिभालाई पहिचान गर्न सक्यौँ भने उहाँहरूले राष्ट्र निर्माणमा ठूलो योगदान दिन सक्नुहुन्छ।”
मुख्यमन्त्री सिंहले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर यस्ता प्रतिभाको खोज, संरक्षण र प्रोत्साहनमा जुट्नुपर्नेमा जोड दिए।

कास्य पदक विजेता मिश्रले म्याथ ओलम्पियाडलाई एकेडेमिक ओलम्पिकको रूपमा परिभाषित गर्दै युवालाई पुस्तकको ज्ञानसँगै यस्ता प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी हुन आग्रह गरे।
उनले भने,“जसरी खेलकुदमा मेडल ल्याइन्छ, त्यसरी नै यो प्रतिस्पर्धा पनि ज्ञान र अभ्यासको आधारमा जितिन्छ। यस्ता क्रियाकलापमा सहभागी हुँदा अनुसन्धान र शैक्षिक भविष्यमा ठूलो सहयोग पुग्छ।”
गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित उक्त ओलम्पियाडमा विश्वभरबाट करिब ३०० विद्यार्थी व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा भाग लिएका थिए। यो अन्तर्राष्ट्रिय म्याथ ओलम्पियाडमा नेपाली विद्यार्थीहरूको पहिलो सहभागिता थियो। पहिलो पटकमै मिश्रले कास्य पदक प्राप्त गरेका हुन्।
अब मिश्र आगामी जुलाई ९ देखि २१ तारिखसम्म अष्ट्रेलियामा हुने ६६औँ अन्तरराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा सहभागी हुने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ