काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्न लागेको सीप मेलामा ४२ पेशाका लागि तालिम उपलब्ध हुने भएको छ । इच्छुकले जेठ ५ गते अर्थात् आजसम्म अनलाइन आवेदन दिन सक्नेछन् । महानगरले यसअघि सूचना

प्रविधि समूहमा तय गरिएका पाँच पेशामा सात नयाँ पेशा थप गर्दै १२ पेशा बनाएको छ । हालै थपिएका पेशामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी, ग्राफिक्स डिजाइन लगायत छन् । पहिलेबाटै डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, एआई र यसको प्रयोग रहेका छन् ।
त्यस्तै ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा ‘विक्स’ पेशा थपिएको छ । यससँगै सौन्दर्य समूहमा अब पाँच पेशा भएका छन् । अन्य १० समूहका ३४ पेशामा भने क्षेत्रीय विस्तार नगरिएको महानगरले जनाएको छ । पेशागत संख्या ८ थपिएपछि अहिले कुल ४२ पेशामा तालिम सञ्चालन गरिनेछ ।
कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले रोजगारदाताको माग अनुसार तालिम पेशा र कक्षा थप गरिएको जानकारी दिए । अनलाइन आवेदन प्रक्रिया र सहायता कक्ष तालिममा सहभागी हुन चाहनेले यहाँ क्लिक गरी विवरण भरी फाराम पेश गर्न सक्नेछन् ।

अनलाइन आवेदन गर्न नसक्नेका लागि आज राष्ट्रिय सभागृहमा सहायता कक्ष स्थापना गरिने समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिए । हालसम्म ३,५७६ जनाले आवेदन दिइसकेको जनाइएको छ । आवेदकमध्ये सबैभन्दा धेरै माग डिजिटल मार्केटिङ, बारिस्ता, एआई, बेकरी र ब्युटिसियन पेशामा देखिएको छ । महानगरले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखेको हो ।
तालिममा काठमाडौँ महानगरभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, तथा सडक पेटीमा व्यवसाय गर्नेहरूलाई प्राथमिकता दिइनेछ । तालिममा १८ देखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन् । ३० दिनसम्म दैनिक ६ कक्षा गरी १०० घण्टा तालिम दिइनेछ ।
पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ ९:४६
सामाग्री श्रोत :
टेक पाना