काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्दै समान अवसर प्रवर्द्धन गर्ने उद्देश्यले प्रमुख तीन राजनीतिक दलका भ्रातृ सङ्गठनले साझा धारणा सार्वजनिक गरेका छन्।

नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय अपाङ्गता सङ्गठन नेपाल र नेकपा (माओवादी केन्द्र)को अपाङ्गता सङ्गठन नेपालले साझा धारणा सार्वजनिक गरेका हुन्।
सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईं, सङ्गठनका अध्यक्ष जगदीशप्रसाद अधिकारी र माओवादी केन्द्रको अपाङ्गता सङ्गठनका अध्यक्ष टीकाराम पराजुलीले आज साझा धारणामा हस्ताक्षर गरे। तीनै सङ्गठनले अपाङ्गता भएका व्यक्तिको हकहितका लागि बृहत् छलफल गरी साझा धारणा तय गरिएको जनाइएको छ।
नेपाल अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को पक्ष राष्ट्र भएको सन्दर्भ समेट्दै तीन सङ्गठनले सरकारले व्यक्तिगत सहयोगी सेवाका लागि गरेको सम्झौतालाई यथाशीघ्र कार्यान्वयन गरी सम्बोधन गर्न विभिन्न पाँचवटा सवाल लागू गर्न अनुरोध गरेका छन्।

अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न बहानामा परिवारबाट अलग हुनुपरेको वर्तमान अवस्था बदल्न तत्काल आफ्नै समुदायमा सम्मानित जीवनयापन गर्ने वातावरण निर्माण गर्ने कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनुपर्ने माग गरिएको छ।
यसैगरी, पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताका आधारमा व्यक्तिगत सहयोगी सेवा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट (सङ्घ, प्रदेश र स्थानीय तह)मा समावेश गरी तुरुन्त लागू गर्नुपर्ने तीनै सङ्गठनको माग छ।
सामाग्री श्रोत :
अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा प्रमुख तीन दलका भ्रातृ सङ्गठनको साझा धारणा सार्वजनिक