काठमाडौँ — चैत १५ गतेको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप ४ दिन म्याद दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
पछिल्लो पटक प्रसाईंविरुद्ध वैशाख ३० गते ५ दिन म्याद थप भएको थियो । प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।
चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरीचैत २९ गते बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौं ल्याइएको हो ।

व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ