२०८२ जेष्ठ ५ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ ५ आईतवार

फेसबुकको वैगुनी माया, बैंक अकाउन्ट मागेर अनलाइन ठगीको अपराधमा फसाउने जालो

 

काठमाडौँ । स्याङ्जाकी न्यून मध्यमवर्गीय परिवारकी सम्झना शर्मा (नाम परिवर्तन) लाई प्रहरीले २९, वैशाखमा काठमाडौँ झिकायो । उनीमाथि अनलाइन ठगीमा संलग्न भएको आरोपमा उजुरी परेको थियो । प्रहरीले बोलाएपछि आमा र सानो भाइसँगै काठमाडौँ आइपुगेकी उनको अवस्था निकै दयनीय थियो ।

प्रहरीका अनुसार सम्झना लाखौँको ठगी प्रकरणमा मुछिएकी थिइन् । काठमाडौँ आउनकै लागि गाउँबाट ऋणपान गरेर आएकी उनको यहाँ बस्ने कुनै ठेगाना थिएन । उनको दैनिकी नै प्रहरीले बोलाएको समयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय धाउनु बनेको थियो । रोमन र देवनागरीका सामान्य शब्द मुश्किलले पढ्न सक्ने सम्झना कसरी यो अनलाइन ठगीको जालोमा परिन् ?

यो घटनाको नालिबेली बुझ्न २०८० सालको साउन महिनातिर फर्कनुपर्छ । गाउँकै एकजना दाइ पर्नेको घरको वाईफाई मोबाइलमा कनेक्ट गरेर बरन्डामा बसी फेसबुक स्क्रोल गर्दै थिइन् उनी । त्यही क्रममा उनलाई एक अपरिचित व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आयो ।

गोरो अनुहार, अङ्ग्रेजी अक्षरको नाम, उनलाई त्यो अक्षर बुझ्नै समय लाग्यो । “नाम खै के थियो मोबाइल हेर्नुपर्छ, ममी मोबाइल ल्याउनु त,” टेकपानासँग आफ्नो व्यथा पोख्दै गर्दा सम्झनाले ती व्यक्तिको नाम सम्झिन मोबाइल माग्दै थिइन् । फोनमा ग्यालरी एप निकालेर स्क्रिनशट देखाइन् । त्यसमा रोबर्ट एलेक्जेन्डर नामको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको देखिएको थियो । रोबर्टको अकाउन्टमा एकजना मात्र साथी एड छन् ।  

“फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेँ, गर्नासाथ मेसेज आयो,” सम्झनाले घटनाको बेलिविस्तार लगाइन्, “तर, अङ्ग्रेजी शब्द आएको भएर मैले बुझिँन । नेपाली बाहेक अरु म बुझ्दिन भनेर मेसेज पठाएँ ।”

रोबर्टले मेसेजको रिप्लाइ दिँदै आफूलाई नेपाली पनि बोल्न आउने बताए । कुरा गर्दै जाने क्रममा रोबर्टले आफू ब्राजिलको नागरिक भएको र हाल पाइलट भएको बताए । त्यसलाई प्रमाणित गर्न पाइलटको पोशाक लगाएका फोटो पनि पठाए । यसरी सुरु भएको संवाद तीन/चार महिना लम्बियो । उनीहरूबीच निरन्तर कुरा हुन थालेको थियो । “कुरा गर्दा उनी आफूलाई नेपाल घुम्ने चाहना धेरै भएको बताउँथे । परिवारको विषयमा पनि कुराहरू हुन्थ्यो । उनले आफ्नो बुबा नभएको र आमासँगै बस्ने गरेको सुनाएका थिए,” सम्झनाले सम्बन्ध अगाडि बढ्दै गरेको प्रसंग सुनाइन्, “दुःख पाएर पाइलट बनेको रहेछ जस्तो लाग्यो ।”

दशैँताका उनलाई रोबर्टले अनौठो प्रस्ताव राखे । आफू नेपाल आउन लागेकाले नेपाली रकम आवश्यक पर्ने र त्यसका लागि नेपाली बैंक खाता चाहिने सुनाए । सम्झनाले पनि केही समयअघि मात्र बैंक खाता खोलेकी थिइन् । गाउँकै एक बहिनीले बैंकमा जागिर खाएपछि बैंक खाता खोल्न सुझाव दिएकी थिइन् । आफ्नो खर्चै धान्न नसक्ने अवस्थाकी सम्झनालाई बैंक खाता चाहिएकै थिएन । त्यही पनि बहिनीले करकाप गरेपछि उनले बैंक खाता खोलिन् । त्यसको केही समयपछि एटीएम कार्ड पनि पाएकी थिइन् । 

यता रोबर्टले पनि बैंक खाता आवश्यक परेको सुनाएका थिए । “मैले किन दिने बैंक खाता भनेको थिएँ,” पुरानो कुराकानी स्मरण गर्दै सम्झनाले अगाडि भनिन्, “म नेपाल आएपछि तिमीलाई पनि सहयोग गरौंला । पछि ब्राजिल नै ल्याउन पनि सकिन्छ भनेर उनले प्रस्ताव राखेका थिए ।”

उनलाई लाग्यो विदेशी मान्छे नेपाल आउँदा नेपाली रुपैयाँ त चाहिन्छ । ‘सायद अरूले पनि त्यस्तै गर्छन्’ होला भन्ने उनले ठानिन् । त्यसपछि एटीएम र सिमकार्ड पठाउने प्रक्रियाबारे रोबर्टलाई सोधिन् । उनले कुरिअर गर्नुपर्ने सुझाव दिए । सामान भारतमा भएका उनका आफन्तलाई दिनुपर्ने भयो । “मेरो आफन्तहरू भारतमा छन् । उनीहरूले नै तिमीले पठाएको एटीएम कार्ड र सिम रिसिभ गर्छन्,” रोबर्टले मेसेजमा सम्झनालाई भनेका थिए, “सामान पाउने व्यक्तिको नाम अलि खान राख्नु, उनैले रिसिभ गर्छन् ।”

सम्झनाले पनि रोबर्टको प्रस्ताव मानिन् र पठाउन तयार भइन् । “हामी एकदम नजिकको साथी भएका थियौं । उनले मागेपछि साथीको नाताले पनि सहयोग गर्नुपर्छ जस्तो लाग्यो,” सम्झनाले थपिन् । तर, सामान कुरिअर गर्नका लागि उनलाई ५०० रुपैयाँ चाहिने भयो । त्यसका लागि उनले गाउँकै अर्की एक बहिनीसँग सापटी मागिन् । उनलाई त्यो रकम रोबर्टले नै तिरिदिन्छन् भन्ने लागेको थियो । पछि उनी नेपाल नै आउँछन् भन्नेमा ढुक्क भएपछि कुरा मिल्छ भन्ने उनको सोच थियो । 

पैसा जुटेपछि सम्झना सदरमुकाममा रहेको कुरिअर कार्यालय पुगिन् । भारतको दिल्लीमा ‘कागजात’ पठाउनुपर्ने भन्दै उनले ५०० रुपैयाँको रसिद काटिन् र आफ्नो एटीएम कार्ड तथा सिम कुरिअरलाई जिम्मा लगाएर घर फर्किइन् । त्यसको तीन दिनसम्म उनीहरूबीच राम्रै कुराकानी भयो । रोबर्टले आफूलाई थप बैंक खाता चाहिने भन्दै सम्झनालाई नयाँ खाता खोल्न दबाब दिइरहेका थिए । तर, सम्झनाले आफूसँग पैसा नभएको बताउँदै थप खाता खोल्न मानेकी थिइनन् ।

तीन दिनपछि रोबर्टले सम्झनाले पठाएको एटीएम कार्ड र सिम पाएको खबर पठाए । त्यसपछि पनि केही दिनसम्म उनीहरूबीच कुराकानी भइरहेको थियो । तर, केही समयपछि सम्झनाको मेसेन्जरबाट रोबर्टको अकाउन्टमा मेसेज जान छाड्यो, उनको प्रोफाइल पनि देखिन छोड्यो । त्यससँगै रोबर्टबाट पनि मेसेज आउन बन्द भयो । सम्झनालाई के भइरहेको छ भन्ने पत्तै भएन । उनी सम्झन्छिन्, “एटीएम पाएँ भनेर उनले मेसेज गरेपछि न मेरोबाट मेसेज गयो, न उनको नै आयो । मेरो बैंक खातामा पैसा त थिएन, तैपनि उनको मेसेज आउन छाडेपछि मलाई लाग्यो, सायद उनलाई केही समस्या पर्‍यो कि !”

कुराकानी टुटे पनि सम्झना रोबर्ट नयाँ वर्षसम्ममा नेपाल आउलान् भन्ने आशामा थिइन् । कुराकानीकै क्रममा रोबर्टले आफू वैशाखमा नेपाल आउने सम्भावना प्रवल रहेको बताएका थिए । वैशाखभरि सम्झना रोबर्ट आउने आशामै बसिन् । तर, २८ वैशाखमा प्रहरी कार्यालयबाट उनकी आमाको नम्बरमा फोन आयो । आफ्नो सिम रोबर्टको हातमा पारेपछि आमाको सिम आफैँसँग भएकाले फोन उनैले उठाइन् । फोनमा कुरा सुनेपछि भने उनी छाँगाबाट खसेझैं भइन् ।

वास्तवमा रोबर्टले उनको सिम र बैंक खाता दुरुपयोग गरिरहेका रहेछन् । उनले सम्झनाको सिम प्रयोग गरी खोलिएको ह्वाट्सएपबाट सर्वसाधारणलाई सम्पर्क गर्ने, महँगा सामान पठाइदिने प्रलोभन देखाउने, अनि रकम सम्झनाकै खातामा जम्मा गर्न लगाएर ठगी गर्ने धन्दा चलाएका थिए ।

प्रहरी कार्यालय पुगेपछि मात्र सम्झनाले उनको खाताबाट दश लाख रुपैयाँभन्दा बढीको कारोबार भइसकेको थाहा पाइन् । एकजना पीडितले सम्झना विरुद्ध उजुरी दिएकी थिइन् । ह्वाट्सएपमा सम्पर्क गरेका व्यक्तिले महँगो उपहार पठाइदिने भन्दै प्रलोभनमा पारी साठी हजार रुपैयाँ आफ्नो (पीडितको) बाट सम्झनाको खातामा हाल्न लगाएर ठगी गरी फरार भएको पीडितको उजुरीमा लेखिएको थियो । त्यही उजुरीका आधारमा नम्बर र बैंक खाता विश्लेषण गर्दा प्रहरीले सम्झनाको संलग्नता भएको फेला पारेको थियो ।

टेकपानाले यस विषयमा सम्झनासँग कुरा गर्दा उनी रोबर्टको फोटो देखाउँदै ति व्यक्तिलाई कतै फेला पारे प्रहरीलाई खबर गरिदिनु भन्दै अनुरोध गरिरहेकी थिइन् । उनले देखाएको रोबर्टको फोटो गुगल रिभर्स इमेज सर्च गर्दा क्यानेडियाली अभिनेता जेम्स टपरको थियो । 

घटना २

सम्झनाको जस्तै कथा छ अनु श्रेष्ठ (नाम परिवर्तन) को पनि । झण्डै एक वर्षअघि उनलाई फेसबुकमा डा. रिचमन्ड हेराल्ड नाम गरेको एक व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आयो । विदेशी नाम देख्ने बित्तिकै उनले त्यो रिक्वेस्ट स्वीकार गरिन् । त्यसपछि उनीहरू केही समय फेसबुकमै गफिन थाले । फेसबुकमा कुराकानी बाक्लिँदै गएपछि उनीहरू ह्वाट्सएपमा जोडिए ।

“ह्वाट्सएपमा कुरा हुन थालेपछि एकदिन हेराल्डले मलाई प्रेम प्रस्ताव राखे,” अनु सम्झिन्छिन्, “उनले आफू जर्मनीको नागरिक भएको बताएका थिए, तर पछि बेलायतमा डाक्टरको काम गर्ने गरेको सुनाए ।”

यसरी कुराकानी भएको झन्डै तीन महिनापछि हेराल्डले अनुलाई आफ्नो एउटा ‘योजना’ सुनाए । उनले आफू कुनै विशेष कामले भारतको राजधानी नयाँ दिल्ली आएको र त्यहाँ आफूलाई एउटा नेपाली बैंक खाता अत्यावश्यक परेको बताए ।

“मैँले ‘तिमीलाई नेपाली बैंक खाता किन चाहियो ?’ भनेर सोध्दा उनले ‘अस्पतालको मेसिनरी सामानको भुक्तानी लिन चाहिएको हो, केही फरक पर्दैन’ भने,” अनुले हेराल्डसँग भएको कुराकानी सम्झिइन् ।

त्यसपछि उनले आफ्नो बैँकको एटीएम कार्ड र त्यो खातामा दर्ता भएको सिम हेराल्डलाई कुरियर गरेर नयाँ दिल्ली पठाइन् । केही दिनपछि हेराल्डले एटीएम र सिम पाएको जानकारी अनुलाई दिए । त्यसपछि उनले ती खाताहरू प्रयोग गर्न थाले । यता अनुलाई भने हेराल्डले ती खाता कसरी र कुन प्रयोजनका लागि प्रयोग गरिरहेका छन् भन्ने अत्तोपत्तो थिएन ।

पछि फेरि हेराल्डले अनुलाई थप खाता खोल्न अनुरोध गरे । अनुले ‘प्रेमीलाई सहयोग गर्नुपर्छ’ भन्ने सोचेर आठ ओटा विभिन्न बैंकमा खाता खोलिन् र ती सबैका एटीएम कार्ड लिएर पहिलेकै जस्तै हेराल्डलाई कुरियर गरेर पठाइन् ।

तर, हेराल्ड भनिने ती व्यक्तिले वास्तवमा ती खाता नेपालीलाई ‘महँगो सामान पठाइदिन्छु’ भन्ने बहानामा रकम ठग्नका लागि दुरुपयोग गरिरहेका थिए । “उनी विदेशी नागरिक, त्यसमाथि डाक्टर । अनि हाम्रो प्रेम सम्बन्ध पनि थियो । उनले मलाई बेलायत लैजान्छन् भन्ने आशामा मैले उनले भने अनुसार नै एटीएम कार्ड र सिम पठाइदिएकी थिएँ,” अनुले प्रहरीलाई बयान दिने क्रममा भनिन् ।

त्यस्तै एउटा खातामार्फत तीन लाख तीस हजार रुपैयाँ ठगीमा परेको भन्दै एक पीडितले उजुरी दिएपछि सोही उजुरीका आधारमा अनु पक्राउ परेकी हुन् । अहिले उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

यी दुई त प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय विभिन्न बहानामा बैंक खाता हात पारी तिनलाई अनलाइन ठगीमा दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, ‘अनलाइन जागिर’ को प्रलोभन देखाएर पनि यस्ता ठगी गर्ने गरिएको पाइएको छ । आर्थिक वर्ष २०७९/८० सम्म काठमाडौं उपत्यकामा यस प्रकारका उजुरी परेका थिएनन् । तर, आर्थिक वर्ष २०८०/८१ मा ६० जना यसरी आफ्नो बैंक खाता दिएर अरूका लागि पीडक बन्न पुगे भने उनीहरू स्वयं पनि ठगिएका थिए । सो वर्ष ती ६० जनाविरुद्ध दुई करोड ४७ लाख ७१ हजार रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको थियो ।

चालु आर्थिक वर्षमा भने यो संख्या ह्वात्तै बढेर ४५७ पुगेको छ । अनलाइन ठगीका शिकार बनेकाहरूका लागि यी ४५७ जना पीडकका रूपमा देखिए पनि, वास्तवमा उनीहरूलाई ठग गिरोहले आफ्नो जालमा पारेर दुरुपयोग गरेको देखिन्छ । यसरी यी ४५७ जनाविरुद्ध कुल १८ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

“खासगरी १८ वर्षदेखि २६ वर्ष उमेर समूहका विद्यार्थी, बेरोजगार युवायुवती यस्ता जालोमा परेका देखिन्छन्,” कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन्, “कसैलाई अनलाइन जागिरको लोभ देखाएर बैंक खाता भाडामा लिएको देखिन्छ । कतिले भने यसरी नै पार्सल गर्दै बैंक अकाउन्ट, एटीएम र सिम ठगको हातमा पारेका छन् ।”

घरमै बसीबसी राम्रो आम्दानी हुने लोभमा फस्ने विद्यार्थी अनि प्रेमको मोहमा परेर आँखै चिम्ली विश्वास गरी आफ्नो बैंक खाता अपरिचित व्यक्तिको हातमा सुम्पिने युवायुवती नै यस्ता घटनाका मुख्य शिकार बनिरहेका छन् । क्षणिक कमिसनको लोभमा पर्दा उनीहरू बाहिर हेर्दा पीडकजस्ता देखिए पनि वास्तवमा केही हजार रुपैयाँको लागि उनीहरू आफै ठूलो धोकामा परेका हुन्छन् ।

यस्तो संकटबाट जोगिन कोही आफ्नो नामबाट ठगिएको रकम आफै तिर्न तयार हुन्छन् र उल्टै आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिन्छन् । तर, जो रकम तिर्न सक्दैनन् उनीहरू भने पीडककै रूपमा कानूनी कारबाहीको भागीदार बन्न पुग्छन् ।

प्रहरी उपरीक्षक आचार्यले यस्ता प्रलोभन आएको खण्डमा आँखा चिम्लेर विश्वास नगर्न सुझाव दिन्छन् । “विदेशी भन्ने बित्तिकै आँखा चिम्लेर विश्वास गर्ने प्रवृत्ति छ । कम्तिमा त्यो अकाउन्ट कस्तो अकाउन्ट हो, उसँग अन्तरक्रिया गर्ने कति छन्, उसले कस्तो प्रलोभन देखाएको छ, यी सबै हेरेर त्यो कस्तो अकाउन्ट हो भन्ने पत्ता लगाउन सकिन्छ,” आचार्य भन्छन्, “कहिल्यै नभेटेको व्यक्तिलाई अनलाइनबाट चिनेको भरमा बैंक अकाउन्ट, एटीएम र सिम दिनु हुँदैन । चिनेकै वा भेटेकै मान्छे हो भने पनि यस्ता विवरण दिनु हुँदैन । यी नितान्त व्यक्तिगत विवरण हुन् । अर्काको लागि आफ्नो बैंक अकाउन्ट वा सिम दिने भन्ने कुरा आयो भने शंका गर्नुपर्छ ।”

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ ११:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट