पोर्चुगल। पोर्चुगिज भाषामा लिज्बोआ भनिने पोर्चुगलको राजधानी लिज्बोन बाह्रैमास चहलपहल भैरहने शहर हो। आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको यो शहर युरोपकै एक भाइब्रेन्ट एन्ड ह्यापेनिङ सिटीमध्ये एक हो। यहाँ कतिबेला टिलिलि घाम लाग्छ र कतिबेला झ्वार्र पानी पर्छ ठेगान हुँदैन। यहाँ कुन देशका नागरिकसँग कुन कर्नरमा ठोक्किन पुगिन्छ त्यसको पनि भर हुँदैन।

लिज्बनको केन्द्रमै पर्ने रोसियो स्क्वायर एक बहुचर्चित साइट हो। त्यही रोसियो स्क्वायरबाट बायरो अल्टोतिर पुरातात्त्विक सडक हुँदै उकालै उकालो पैदल पाँच सात मिनेट जति हिँडियो भने Rua da Oliveira ao Carmo 73 बिन्दुमा पुगिन्छ।
हो त्यहाँ पुग्नु भयो भने तपाईंलाई स्वागत गरिरहेको हुनेछ लोटस रामेनले। यस ओरियन्टल रेष्टुरेन्टमा तेह्र थरीका विभिन्न हातैले ताजाताजा बनाइएको चाइनिज रामेन, विभिन्न स्वादका कोरियन, जापानीज तथा थाइ डिसहरू साथै मीठो नेपाली मम र फ्राइ राइस उपलब्ध हुन्छ। यहाँ क्लासिक,एसिएन र पोर्चुगिज थुप्रै थरीका ककटेलहरू पनि पाइन्छ। पोर्चुगलको विश्वविख्यात पोर्ट वाइन, पोर्चुगिज बियर र अन्तर्राष्ट्रिय ब्रान्डका सफ्ट पेयहरू नपाइने कुरै छैन।
यस रेष्टुरेन्टका सञ्चालकद्वय हुन् खोटाङ नेर्पाकी निलम राई र चितवन ताडीकी रजनी घले । उनीहरू एक अर्काका बेस्ट फ्रेन्ड हुन्। आउनुहोस् उनीहरूको यात्राको छोटो कथा छोटकरीमा जानौँ।

निलम राई काठमाडौंमै हुर्किइन् बढिन्। कपनस्थित ग्राम शिक्षा माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एस एल सि उत्तीर्ण गरेपछि उनले थप अध्ययनको लागि कमर्स विषय रोजिन्। चाबहिल स्थित पशुपति बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा एम बी एस उत्तीर्ण गरिन्। एम बी एस पढ्ने क्रममा उनको भेट भयो चितवनकी रजनी घलेसँग।
रजनी घले चितवनस्थित अक्सफोर्ड कलेजबाट बीबीए सकेर मास्टर्स पढ्न काठमाडौं आएकी थिइन्। त्यसै क्रममा यी दुईको भेट पशुपति बहुमुखी क्याम्पसको एम बी एस कक्षा कोठामा भयो।
“सुरु सुरुमा मलाई यो निलम क्या छुच्ची लाग्थ्यो। पछाडि एक्लै चुपचाप बस्थ्यो। बोल्नै डर लाग्थ्यो” रजनी सुरुसुरुका दिन सम्झँदै हाँस्छिन्। “मलाई चाहिँ त्यो गोरी राम्री केटी को होला भनेर जहिले खुल्दुली लाग्थ्यो” राई भन्छिन्। त्यसरी बडो मुश्किलले धेरैपछि मात्रै एक अर्कासँग बोल्न थालेका उनीहरू अन्ततः अध्ययन सकिँदासम्म बेस्ट फ्रेन्ड भैसकेका थिए।
त्यतिबेलासम्म निलम राईले कहिले टिचिङ त कहिले बङ्गुर फार्मिङसमेत गर्न भ्याइसकेकी थिइन्। एक प्रतिष्ठित बैंकमा अफिसर भएर केहि समय बर्दिबासमा काम समेत गरिन्। उनलाई भित्रभित्रै भने आफ्नै केही व्यापार सुरु गर्ने ठूलो इच्छा थियो। सुकेधारामा एउटा जुत्ता कपडा पसल समेत किनेर चलाइरहेकी थिइन्। रजनी भने त्यसबीच कहिले ट्राभल एन्ड टूरको अफिसमा त कहिले एनजिओमा कार्यरत रहिन्। रजनीले मास्टर्सको पढाइ सुरू गर्नु अगाडि निकै लामो समय डच भाषाको अध्ययनमा नेदरल्यान्डमा समेत बिताइसकेकी थिइन्।
एक दिन अचानक रजनीले राईलाई फोन गर्दै भनिन्, ‘युरोप घुम्ने सपना छ होइन त केटी? लेट्स गो नेदरल्यान्ड’ ‘रज्जुको कुरा सुनेर सुरुमा त म नपत्याएर हाँसे’ राई सम्झन्छिन्। रजनीलाई नजिककाहरू सबैले रज्जु भनेर सम्बोधन गर्छन्। भिजाको प्रक्रिया, ट्राभल एन्ड टूरको लिंक र नेदरल्यान्ड राम्ररी बुझेकी रजनीले आखिर एक ट्रेनिङको सिलसिलामा आफू र आफ्नो बेस्ट फ्रेन्ड राईको भिजा लगाएरै छाडिन्। त्यसपछि यी दुई एक ट्रेनिङ कार्यक्रममा सहभागी हुन नेदरल्यान्ड उडे।
नेदरल्यान्डको दुई महिने बसाईपछि पनि भिजा बाँंकी नै थियो। यी दुई बेल्जियम र जर्मन घुम्न निस्किए। जर्मनबाट त्यतात्यतै पोर्चुगल हानिए। चार दिनलाई भनेर पोर्चुगल गएका उनीहरूको आँखामा राजधानी लिज्बनले ब्यापार गर्ने लोभ जगाइदियो। नेदरल्यान्ड भन्दा बिल्कुलै फरक माहोल रहेको पोर्चुगलमा जताततै आप्रवासीहरू देखिन्थे। त्यहाँ नेपाली रेष्टुरेन्टहरूले पनि राम्रो प्रगति गरिरहेका थिए।
‘यतै केही गर्ने हो त?’ दुबैले एक अर्कालाई सोधे। राम्रो सम्भाव्यता देखेपछि उनीहरूले आखिर पोर्चुगल बस्ने निधो गरे। त्यसपछि एक वकिलको खोजी गरी सम्पूर्ण कागजातका कामहरू सकाए। अब लिज्बोन बस्ने र केही गर्ने पक्कापक्की भयो।
सुरुवातको लागि उनीहरूलाई जागिरको आवश्यकता थियो। त्यही क्रममा राई लिज्बोनको स्थानीय रेष्टुरेन्ट ग्रील एन्ड चिलमा काम गर्न थाले भने उता रजनीले पनि नेपाली रेष्टुरेन्ट याम्बुमा काम थालिन्। लक्ष थियो काम सिकेर केही पैसा जम्मा गरी आफ्नै स्टार्टअप गर्नु।
उनीहरूले त्यसरी दुई वर्ष काम गरेर हेरे। कुनै पनि रेष्टुरेन्ट कसरी फङ्सन गर्दोरहेछ भनेर बुझे। पोर्चुगिज भाषा सिके। धेरथोर पैसा जम्मा गरे। केही पैसा आफन्तहरूलाई सहयोग मागे। तब गएर सम्भव भयो लोटस रामेन जो कि अब पुग नपुग एक वर्षको भैसकेको छ।
यस रेष्टुरेन्टको लगानीको कुरा गर्दा लगभग एक करोड नाघिसकेको बताउँछन् उनीहरू। ५०/५० प्रतिशतको पार्टनरसिप हो रे दुबैको।
‘रामेन नै चाहिँ किन नि?’ भनेर सोध्दा दुबैलाई रामेन मन पर्ने भएकोले आफूलाई मन पर्ने चिज नै किन नबेच्ने भन्ने लागेर हो रे। त्यसमाथि राई थप्छिन्, ‘लिज्बोनमा रामेनको प्रशस्त स्कोप छ नि! चाइनिज ,जापानीज र कोरियन खानाको राम्रो सम्भावना छ यहाँ। त्यसैले पनि आँखा लागेको हो’
उनीहरूको रेष्टुरेन्टमा हाललाई फुल टाइमर स्टाफ एक जना मात्रै छन् भने अरू दुई जना चाहिँ पार्ट टाइम काम गर्छन्। बाँकी उनीहरू सबथोक आफैं गर्छन्। आफै पिठो मुछ्छन् । आफै मेसिनद्वारा फ्रेस फ्रेस नुडल्स तयार गर्छन्। बिहानै गएर टेबुल मिलाउने देखि राती क्लोजिङमा कुर्सीहरू थन्क्याउनेसम्म सब आफैं गर्छन्। भाँडा माझ्छन्। झाडूपोछा गर्छन्। हिसाबखातादेखि बाथरूम साफसम्म सबै सबै प्रशन्न हृदयले गर्छन्।
स्थानीय छिमेकीहरू दुई इमिग्रान्ते (आप्रवासी) युवतीहरूले चलाएको रेष्टुरेन्ट भनेर चकित हुन्छन् रे। ‘कसैकसैले त खोइ त तिमीहरूको साहू भनेर सोध्छन्। जब हामी नै हौँ भन्छौं अचम्म मानेर सँगै फोटो खिच्न आग्रह गर्छन्’ रजनी भन्छिन्।
‘त्यो भन्दा पनि हाँसो लाग्ने कुरा त लिज्बन समलैंगिक सामाजिक परिवेशको हिसाबले अलिक ओपन नै छ नि त! अनि कतिपय युरोपेली ग्राहकहरूले तिमीहरू जोडी हौ भनेर सोध्छन्। होइन बेस्ट फ्रेन्ड हौँ भन्दाभन्दा हैरान’ रजनी हाँस्दै थप सुनाउँछिन्।
उनीहरूले मिलेर रेष्टुरेन्ट नजिकै एउटा अपार्टमेन्ट लिएका छन्। जसमा दुई ओटा कोठा भाडामा समेत लाएका छन् । भाडावालाहरू फेरिरहन्छन् । भाडावाला राख्दा महिलालाई मात्र राख्छन्। यसो गर्नाले उनीहरूलाई बस्ने खर्च अलिक कम पर्न आउँछ। ‘नत्र त पोर्चुगलमा भाडा सारै महङ्गो छ नि हौ!’ पूर्वेली लवजमा राई भन्छिन्।
रजनीलाई पेन्टिङको ठूलो सौख छ। उनीहरूको रेष्टुरेन्टमा भित्ताभरि पान्डाका सुन्दर चित्रहरू कोरिएका छन्। ती सब रजनीले आफ्नै हातले कोरेकी हुन्। राईलाई भने साहित्य र गीतसंगीतमा रूची छ। उनी अाफैं गीत पनि लेख्छिन् रे। उनका फूटकर कविताहरू विभिन्न माध्यमहरूमा प्रकाशित छन्।
मासिक कति कमाई हुन्छ त भनेर सोध्दा राई मुसुक्क हाँस्दै भन्छिन् ‘त्यो चाहिँ नखुलाऔँ होला। लिज्बोनमा घारभाडा यसै पनि महँगो छ। फेरि यो त अलिक सेन्ट्रल एरियामै पर्छ त्यसैले झनै महँगो छ। जेहोस् आजसम्म संतोषजनक छ भन्नु पर्ला ‘ राईकी आमा कलेजोको बिरामी छिन्। आमाको उपचार महँगो छ। नेपालको राम्रो अस्पतालमा आमाको उपचार गराइरहेकी राई हाललाई यसैमा सन्तुष्ट छिन् रे। घले चाहिँ पैसाभन्दा पनि आफूले अनुभव बटुल्दै गरेको र त्यो अनुभव अरबौंको हो भन्दै गफिइन्।
‘फ्रेन्डसिप वा पार्टनरसिप टिकाउने मन्त्र के होला?’ यस प्रश्नमा उनीहरू केहीबेर घोत्लिए। चश्माभित्रका तेजिला आँखा यताउता घुमाउँदै राईले एक अर्काको सम्मान नै प्रमुख कडी भएको जिकिर गरे। प्रतिप्रश्नमा राई भन्छिन्, ‘तपाईंले बशीर बद्रको परखना मत ,परखने में कोई अपना नहिं रहता भन्ने सुन्नु भको छ कि छैन? हो त्यही हो मन्त्र सम्बन्ध टिकाउने’
घले चाहिँ आर्थिक पारदर्शीता र गिभ एन्ड टेक नै सम्बन्धमा मुख्य कुरा रहेको बताउँछिन्। यस प्रश्नको उत्तर उनीहरूको एक अर्काको तारिफतर्फ पो डोरियो। रज्जु यस्ती रज्जु उस्ती। निलम यस्ती निलम उस्ती। एक अर्काको प्रशंसा गरेर नथाक्ने उनीहरू अर्को प्रश्न नगरी रोकिने छाँटकाँट देखिएन त्यसैले अर्को प्रश्न तेर्साइयो-
‘उसो भए तपाईंहरू कति कति वर्ष पुग्नु भो त?’
रजनी हाँस्दै भन्छिन्, ‘ छोरी मान्छेको उमेर नसोध्नु भनेर थाहा छैन तपाईंलाई। तीसको आसपास सम्झनुहोस् न!’
‘कतै यो उमेर स्टार्ट अपको लागि ढिलो पो भयो कि?’ भन्ने प्रश्नमा रजनी तेजिला आँखा झिम्काउँदै भन्छिन्-
‘ए… ! तपाईंलाई के एफ सी कति वर्षको उमेरमा सुरु गरेका थिए भन्ने थाहै पो रैनछ हगि ‘
अन्तमा यी दुई पत्रहरूका मित्रतापूर्ण कुराले विश्व विख्यात कवि रवीन्द्रनाथ ठाकुरको बहुचर्चित रचना एक्ला चलो रे को याद दिलाउँछ। तर सम्पूर्ण रूपले अलग हिसाबमा। कविले यदि आफ्नो डाक कसैले सुन्दैन भने एक्लै हिँड्न प्रेरित गर्छन् भने यी दुईको कथाले चाहिँ साथमा हिँड्न । यदि तपाईंको सोच, भावना , व्यवहार र विचार मिल्छ भने एक्लै होइन सँगै चल्नुहोस् ।
भन्न मन लाग्छ-जोदी तोर डाक सुने कोइ आसे
तोबे दुक्ला चलो रे!
सामाग्री श्रोत :