काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिहीबार साँझ काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भएको विद्युत अवरोध लोडसेडिङ नभई प्राविधिक समस्या भएको बताएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्ला निराधार रहेको दाबी गरे ।

बिहीबार साँझ करिब साढे ६ बजेदेखि देशका विभिन्न क्षेत्रमा लामो समयसम्म विद्युत आपूर्ति बन्द भएको थियो । बारम्बार बत्ती आउने जाने समस्या देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्राधिकरणको चर्को आलोचना गरेका छन् । विशेषगरी प्राधिकरणको नेतृत्व परिवर्तनपछि अघोषित रूपमा लोडसेडिङ सुरु भएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।
यसैको जवाफ दिँदै प्रबन्ध निर्देशक शाक्यले सामाजिक सञ्जालमा चर्चा भएजस्तो लोडसेडिङ नभएको दाबी गरे । “यो कुनै लोडसेडिङ होइन । र, यस्तो खालको झ्याप्प झ्याप्प बत्ती बढी गयो, इन्भर्टर, ब्याट्रीको कुरा सोसल मिडियामा आएको छ । यो भ्रम र अफवाहमा विश्वास नगर्नुस्, यस्तो होइन । हामी अब यसको सुधार गर्नलाई हामी प्रयासरत छौँ ।”
शाक्यले बिहीबार काठमाडौँ उपत्यकामा खासै मौसमको खराबी नभए पनि अन्य क्षेत्रमा हावाहुरीका कारण प्रसारण लाइनमा समस्या आएको जानकारी दिए । उनका अनुसार ढल्केवर आसपासको हावाहुरीले १२-१३ ओटा प्रसारण लाइनमा क्षति पुगेको थियो । यसले गर्दा ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एकैसाथ समस्या आएको थियो ।

हाल नेपालमा १२ सयदेखि १३ सय मेगावाटसम्म विद्युत उत्पादन भइरहे पनि माग दुई हजार मेगावाटभन्दा बढी रहेकाले भारतबाट विद्युत आयात गर्नुपरेको शाक्यले बताए । बिहीबार भारतबाट आउने विद्युतमा समस्या आउनासाथ आफू स्यूचाटारस्थित विद्युत प्रणाली सञ्चालन विभाग पुगेको उनले जानकारी दिए । आन्तरिक उत्पादनबाट काठमाडौँमा विद्युत आपूर्ति गर्न खोज्दा स्टेसनले भार धान्न नसकेको उनको भनाइ थियो ।
उनका अनुसार बेलुका ८ बजेतिर ढल्केवर-मुजफ्फरपुर ४०० केभी लाइनको समस्या समाधान भएर सर्किट-२ सञ्चालनमा आएको थियो । तर, ढल्केवर पश्चिमका १३२ तथा अन्य ३३ र ११ केभी लाइनमा रुख ढलेर पोल तथा कन्डक्टरमा क्षति पुगेका कारण सबै क्षेत्रमा एकै समयमा बिजुली पुर्याउन नसकिएकाले बत्ती झ्याप्प झ्याप्प जाने समस्या भएको उनले बताए ।
शाक्यले बिहीबारको घटनाले ढल्केवर लाइनको महत्त्व स्पष्ट पारेको बताए । “माघको मध्यदेखि जेठको मध्यसम्म नेपालमा कम विद्युत उत्पादन भएर भारतको विद्युतीय प्रसारण लाइनमा भर पर्दा पर्ने गरेको समस्यालाई उजागर गरेको छ,” उनले भने । तर जेठको मध्यबाट नेपालमा विद्युत उत्पादन बढ्ने भएकाले यस्तो समस्या कम हुने उनको अपेक्षा छ । यस्ता प्राविधिक कठिनाइ समाधानका लागि केही समय लाग्ने पनि उनले बताए ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १९:५२
सामाग्री श्रोत :
टेक पाना