काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई साकार पार्न डिजिटल साक्षरता अनिवार्य रहेको बताएका छन् । क्यान महासंघले शुक्रबार आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क २.० र अगाडिको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एपजस्ता सेवा सुरु भएपनि नागरिकमा डिजिटल साक्षरताको कमीका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताए ।

“नागरिक एप आयो, तर के आयो आयो जस्तो भयो । नागरिकले प्रयोग गर्न सक्ने साक्षरतामा कमी छ । डिजिटल फ्रेमवर्क साकार पार्न डिजिटल लिट्रेसी आवश्यक छ,” उनले भने ।
मन्त्री गुरुङले डिजिटल पूर्वाधार निर्माण र आवश्यक नीति बनाउने जिम्मा सरकारको भएको उल्लेख गर्दै डिजिटल नेपाल फ्रेमवर्क २.० लाई सोह्रौं योजनासँग पनि अनुकूल बनाइएको जानकारी दिए ।
डिजिटल नेपाल फ्रेमवर्क, २०७६ मा पहिचान गरिएका आठ ओटा मुख्य क्षेत्र र ८० ओटा डिजिटल पहलमा देखिएका समस्या र चुनौतीलाई नयाँ संस्करणले सम्बोधन गर्ने उनको भनाइ थियो । उनका अनुसार फ्रेमवर्क २.० ले कनेक्टिभिटी, प्राविधिक सीप, डेटा एकीकरण र साइबर सुरक्षालाई प्राथमिकता दिएको छ ।

कार्यक्रममा सञ्चारसचिव राधिका अर्यालले पहिलो फ्रेमवर्कको अनुभवका आधारमा नयाँ मस्यौदा तयार गरिएको जानकारी दिँदै निजी क्षेत्रबाट सुझावको अपेक्षा गरिन् ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल युग भएकाले सरकारले नीतिगत स्पष्टता र आर्थिक लगानीलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन् ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १६:४५
सामाग्री श्रोत :
टेक पाना