२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

प्रदेश सांसद गीता गुरुङले इमेलमार्फत दिएको राजीनामा अस्वीकृत

बुटवल — जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले हस्तलिखित राजीनामा पत्र इमेलमार्फत प्रदेशसभामा पठाएकी छन्। उनी दुई महिनादेखि बेलायतमा बस्दै आएकी छन्। मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी गर्दै उनका श्रीमान् कैलाश गुरुङले उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

प्रदेश सभा सचिवालयको इमेलमा गीता गुरुङकै नामबाट राजीनामा पत्र प्राप्त भए पनि प्रक्रिया नपुगेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। इमेलबाट प्राप्त पत्र शङ्कास्पद देखिएपछि थप विवरणसहित स्पष्ट जानकारी माग गर्दै पत्राचार गरिएको उनले बताए।

‘हामीलाई इमेलबाट राजीनामा पत्र प्राप्त भएको हो, तर कसले पठाएको भन्नेमा शङ्का उठेपछि थप विवरण स्पष्ट पार्न पत्र लेखिएको हो,’ पुनले भने, ‘माननीयको लेटरप्याडमा उल्लेख भएको इमेल ठेगानाबाट नभई अर्कै इमेलबाट पठाइएको, सभामुखलाई सम्बोधनको शैली नमिलेको, कुन पदबाट राजीनामा दिएको हो भन्ने खुलाइएको छैन, राजीनामा पत्रमा भएको हस्ताक्षर र सचिवालयमा भएको हस्ताक्षर नमिलेको, र हस्ताक्षरमा उल्लेख भएको गीता शब्दको हिज्जे तथा इमेलमा उल्लेख भएको हिज्जे समेत नमिलेको पाइयो।’

Ncell 2
Ncell 2

राजीनामाको प्रक्रिया नमिलेकै कारण सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य स्वयं उपस्थित भई हस्ताक्षरको सनाखत गराउन निर्देशन दिएका छन् । प्रदेश सभाबाट पठाइएको पत्रको जवाफ प्राप्त भएमा वा गुरुङ स्वयं उपस्थित भएपछि मात्रै थप प्रक्रियाअघि बढ्ने पुनले जानकारी दिए।

जनमत पार्टीको समानुपातिकतर्फबाट निर्वाचित गुरुङ प्रदेश सभामा सबैभन्दा कम उपस्थिति जनाउने सदस्य हुन्। प्रदेश सभाको पाँचौँ अधिवेशनसम्मका ८३ बैठकमध्ये उनी ३४ दिन मात्र उपस्थित भएकी थिइन्। चौथो अधिवेशनसम्मका ७३ बैठकमध्ये ३२ दिन र पाँचौँ अधिवेशनका १० बैठकमध्ये २ दिन मात्र उपस्थित भएकी थिइन्, प्रदेश सभा सचिवालयकी प्रवक्ता कमला पोखरेल पौडेलले जानकारी दिइन्।

shivam cement
shivam cement

गीता गुरुङ लामो समयदेखि बेलायतमै बस्दै आएकी छन्। उनका दुई छोराछोरी पनि बेलायतमै रहेका छन्। श्रीमान् कैलाश गुरुङको जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको व्यक्तिगत सम्बन्धका कारण उनी बेलायतमै रहँदा समानुपातिक कोटाबाट निर्वाचित भएकी थिइन्।

सभामुखलाई सम्बोधन गरेर पठाइएको राजीनामा पत्रमा गुरुङले ‘राष्ट्र, देश र जनता भन्दामाथि कोही हुँदैन’ भन्ने आफ्नो मान्यता उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन, त्यसैले आजकै मितिबाट पदमुक्त गरिदिनुहुन राजीनामा पेस गर्दछु।’

जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कबाहिर रहेको जानकारी दिए। उनले राजीनामा आए पनि सभामुखले स्वीकृत गर्न नचाहेको दाबी गरे। उनका अनुसार आइतबारसम्ममा पार्टीभित्र कारबाहीको टुंगो लाग्ने अपेक्षा गरिएको छ। गुरुङका श्रीमान् कैलाश मन्त्री पदका लागि बार्गेनिङ गरिरहेको र अहिले जनमत पार्टी छाडेर उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरी केन्द्रीय सदस्य बनेपछि राजीनामाको चर्चा चलेको गुप्ताले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट