२०८३ कार्तिक १४ शुक्रबार
२०८३ कार्तिक १४ शुक्रबार

स्वीस संस्थामा गगन थापाको औपचारिक भ्रमण, सर्वव्यापी स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड

जेनेभा- संघीय संसदका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वीट्जरल्यान्डको अल्शविलस्थित स्वीस ट्रपिकल एण्ड पब्लिक हेल्थ इन्स्टिच्युट (स्वीस टीपीएच)मा दुई दिने औपचारिक भ्रमण गरेका छन्।

सांसद थापाले मे ६ र ७ को भ्रमणका क्रममा अनुसन्धानकर्ता, विद्यार्थी तथा संकाय सदस्यहरूसँग भेटवार्ता गरी सर्वव्यापी स्वास्थ्य सेवा सम्बन्धी छलफललाई अगाडि बढाउने र विश्वव्यापी स्वास्थ्यमा समतामूलक साझेदारीलाई प्रवर्द्धन गर्ने भन्ने विषयमा जोड दिए।

भ्रमणका क्रममा थापाले स्वीस टीपीएचका प्रतिष्ठित अनुसन्धानकर्ता तथा पदाधिकारीहरू—प्रोफेसर डा गुन्टर फिङ्क, डा जोर्डिन वालेनबोर्न र कार्मेन फिङ्कसँग भेटवार्ता गरे। भेटका क्रममा उनीहरूले निम्न तथा मध्यम आय भएका देशहरूमा देखा परिरहेका प्रमुख सार्वजनिक स्वास्थ्य चुनौतीहरू बारे गहन छलफल गरेका थिए।

प्राडा फिङ्कले दुई देखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूको पोषणमा थप ध्यान दिनु अत्यावश्यक रहेको र नीतिगत व्यवस्था त्यही अनुसार गर्नुपर्ने बताए। प्रारम्भिक पोषण कार्यक्रमहरू सामान्यतः दुई वर्षमै टुंगिने र औपचारिक विद्यालय जीवन पाँच वर्षदेखि सुरु हुने भएकाले यस उमेर समूह ओझेलमा पर्ने गरेको उनले जानकारी दिए।

डा वालेनबोर्नले आयस्तर कमजोर भएका महिलाहरूले स्तनपानलाई निरन्तरता दिन सकून् भनेर नगद सहयोग कार्यक्रम प्रभावकारी रहेको भनेर आफ्नो अनुसन्धान मार्फत देखाएकी थिइन्।उनका अनुसार स्तनपानले बालबालिकाको मानसिक र शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

मे ७ तारिखमा थापाले स्विस टीपीएचमा आयोजित ‘विश्व स्वास्थ्यमा देखा परिरहेका अनिश्चितताहरूका बाबजुद सर्वव्यापी स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय साझेदारीको प्रवर्द्धन’ शीर्षकको प्यानल छलफलमा राजनीतिक दृष्टिकोण प्रस्तुत गर्दै भाग लिए। कार्यक्रममा बोल्दै उनले स्वास्थ्य मन्त्रीका रूपमा गरेका कामहरुका विषयमा अनुभव साटे भने स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि राजनैतिक संलग्नता अपरिहार्य रहेको उल्लेख गरे।

‘स्वास्थ्य नीतिमा प्रायः राजनीतिज्ञहरूलाई पन्छ्याइन्छ। तर समावेशी र जवाफदेही प्रणाली निर्माण गर्न राजनीति बाहिर राखेर हुँदैन,’ थापाले भने। उनले स्विस टीपीएच जस्ता शैक्षिक तथा अनुसन्धान संस्थाहरूलाई नीति निर्माणकर्ताहरू, स्वास्थ्यकर्मीहरू र अनुसन्धानकर्ता बीचको सहकार्यलाई थप सुदृढ गर्न संरचित आदानप्रदान र नीति तालीम कार्यक्रमहरू संचालन गर्न आग्रह गरे।

कार्यक्रम स्विस टीपीएचका अमित अर्यालले सञ्चालन गरेका थिए भने स्वास्थ्य नीति सल्लाहकार सुदीप पोखरेलले पनि प्यानलमा सहभागिता जनाएका थिए। पोखरेलले उत्तर–दक्षिण साझेदारी समान हितमा आधारित हुनुपर्नेमा जोड दिँदै स्थानीय अनुभव र सांस्कृतिक बुझाइलाई प्राथमिकता दिनुपर्ने बताए। उनले अनुसन्धानको परिणाम नीति निर्माणमा प्रयोग गर्न दीर्घकालीन संलग्नता आवश्यक रहेको उल्लेख गरे।

थापाको स्वीस टीपीएच भ्रमणले सर्वव्यापी स्वास्थ्य सेवा, बाल पोषण जस्ता विश्व स्वास्थ्य लक्ष्यहरू हासिल गर्न राजनीतिक नेतृत्वको भूमिका महत्वपूर्ण रहेको धारणा थप प्रस्ट पारेको छ। उनले स्वीस टीपीएच र नेपाली अनुसन्धान संस्थाहरूबीच सहकार्य बढाउन आह्वान गरेका थिए, जुन आग्रहलाई संस्थाले सकारात्मक रूपमा स्वागत गरेको थियो।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट