२०८२ बैशाख ३० मंगलवार
२०८२ बैशाख ३० मंगलवार

फ्याक्टचेक: प्रचण्ड ट्वाइलेटमा लडेको फोटो सार्वजनिक भन्दै च्याटजीपीटीले बनाएको तस्बिर भाइरल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेको भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । उक्त तस्बिरमा ‘प्रचण्ड’ शौचालयमा लडिरहेको जस्तो देखिन्छन् । निधारमा चोट देखिन्छ । सोही तस्बिरको क्याप्सनमा ‘बाजे बाथरूममा लडेको बेला फोटो खिच्ने चाहिँ को महान् व्यक्ति रहेछ ?’ भनेर लेखिएको छ । यही क्याप्सन र फोटोलाई अहिले थुप्रै सञ्जाल प्रयोगकर्ताले वास्तविक ठानेर भाइरल बनाइरहेका छन् । तर, टेकपाना फ्याक्ट-चेक डेस्कले उक्त तस्बिर एआईबाट तयार पारिएको तथ्य पत्ता लगाएको छ । 

दाबी

आइतबार, ११ मे २०२५ मा ‘मनोज भट्ट’ नामका फेसबुक प्रयोगकर्ताले ‘प्रचण्ड ट्वाइलेटमा लडेको तस्बिर सार्वजनिक’ भन्दै एउटा फोटो पोस्ट गरे । पोस्टमा प्रचण्ड शौचालयमा लडेर बेहोस् भएको जस्तो देखिन्छन् । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ पोस्ट

त्यसलाई पछ्याउँदै ‘दिब्या मल्ल बम’ नामकी फेसबुक प्रयोगकर्ताले ‘बाजे बाथरुममा लडेको बेला फोटो खिच्ने चाहिँ को महान व्यक्ति रहेछ।’ भन्ने क्याप्सन राख्दै सोही फोटो सोही दिन बेलुका ७ः३५ बजे पोस्ट गरेकी थिइन् । यो सामग्री तयार पार्दासम्म पोस्टमा ११ हजार बढी रियाक्सन, १४०० बढी कमेन्ट र ५०० बढी शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ पोस्ट

अनुसन्धान

टेकपाना फ्याक्ट-चेक डेक्सले उक्त फोटोको तथ्यजाँच गर्न रिभर्स इमेज सर्च प्रक्रिया अपनायो । त्यसका लागि गुगल, यान्डेक्स, बिङ, टाइनी आई लगायतका प्लेटफर्ममा फोटो अपलोड गर्यौं । त्यस क्रममा ‘जङ्गबहादुर’ नामक फेसबुक पेजले सोही फोटोबाट १२ मेमा भिडिओ बनाएर अपलोड गरेको फेला पर्‍यो । सो रिल्समा यो सामग्री तयार पार्दासम्म ६६०० बढी रियाक्सन, ३२१ बढी कमेन्ट र ९०० बढी शेयर र साढे तीन लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओआर्काइभ भिडिओ ।  

यसरी प्रचण्ड ट्वाइलेटमा लडेको भन्दै अपलोड भएको ओरिजिनल पोस्ट यहाँ  यहाँ, यहाँ, यहाँ, यहाँयहाँ क्लिक गरेर फेला पार्न सकिन्छ । आर्काइभ पोस्टका लागि यहाँ यहाँ, यहाँ, यहाँ, यहाँयहाँ क्लिक गर्नुहोस् ।

‘प्रचण्ड बाथरुम’, ‘प्रचण्ड ट्वाइलेट’, ‘Prachanda Barthroom’, ‘Prachanda Toilet’ जस्ता कीवर्ड फेसबुकमा सर्च गर्दा सोही फोटो र क्याप्सनसहितका अन्य पोस्ट भेटिन्छन् ।

तथ्य-जाँचका क्रममा हामीले सबैभन्दा पहिले उक्त फोटो कुनै सञ्चार माध्यममा आएको छ कि छैन भन्ने विश्लेषण गर्‍यौं । कुनै पनि आधिकारिक नेपाली सञ्चार माध्यमले उक्त फोटो राखेको भेटिएन । 

प्रचण्डपुत्री गङ्गा दाहालले ७ मे २०२५ मा एक फेसबुक पोस्ट राख्दै प्रचण्ड बाथरुममा लडेको जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, “गए राति बाथरुममा  चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।” 

उक्त दिनको बिहानदेखि नै देशका अधिकांश सञ्चारमाध्यमले प्रचण्ड बाथरुममा लडेको भन्दै समाचार राखेका थिए । त्यसैलाई पछ्याउँदै फेसबुक प्रयोगकर्ताले छोटा क्याप्सन र एआईले तयार पारेका प्रचण्डको फोटो सार्वजनिक गरे । त्यही क्रममा ‘प्रचण्ड’ बाथरुममा लडेको जस्तो देखिने फोटो कुनै सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक गरे । र, त्यही फोटो वास्तविक भन्दै आइतबारदेखि भाइरल भयो । 

उक्त फोटो डेस्कमा विश्लेषण गर्दा एआईले तयार पारेको हो भन्ने सजिलै पत्ता लाग्छ । प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष र पूर्वप्रधानमन्त्री भइसकेका व्यक्ति होटलको बाथरुममा लडेको फोटो त्यति सजिलै बाहिर आउँदैन । त्यसैमाथि झन बेहोस् भएको जस्तो फोटो बाहिर आउँदा सहजै एडिट गरिएको फोटो हो भन्न सकिन्छ ।  

प्रचण्डको जुङ्गा, कपालको स्टाइल, उनी लडेको ठाउँ सबै विश्लेषण गर्दा कतैबाट पनि त्यो फोटो वास्तविक देखिंदैन । त्यस्तै फोटो एआईले बनाएको हो वा होइन भन्ने जाँच गर्ने वेबसाइट हाइभ मोडरेसनले पनि यो फोटो ९९.९९ प्रतिशत एआईले बनाएको देखायो । यो फोटो बनाउन च्याटजीपीटीको फोरओ मोडेलले बनाएको हुनसक्ने हाइभ मोडरेसनले उल्लेख गरेको छ । 

 

प्रचण्ड सहभागी भएका विभिन्न कार्यक्रमका लाइभ भिडिओ प्रचण्डकै फेसबुक पेजबाट प्रसारण हुने गर्छन् । ती भिडिओमा पनि कतै प्रचण्डको निधारमा त्यति ठुलो चोट लागेको देखिंदैन । तर, सामाजिक सञ्जालमा आएका पोस्ट र कमेन्टलाई हेर्दा अधिकांश प्रयोगकर्ता पोस्टबाट भ्रमित भएको देखिन्छ । 

दाबी

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेको फोटो सार्वजनिक भयो । 

दाबीकर्ता

मनोज भट्ट, दिब्या मल्ल बम, जङ्गबहादुर लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता । 

तथ्य

प्रचण्ड ६ मे २०२५ बेलुका बाथरुममा लडेको समाचार सत्य हो । तर, उनी लडेको फोटो सार्वजनिक भयो भन्दै भाइरल भइरहेको फोटो च्याटजीपीटीले तयार पारेको हो । हालसम्म प्रचण्ड बाथरुममा लडेको वास्तविक फोटो सार्वजनिक भएको छैन । 

निष्कर्ष

मनोज भट्ट, दिब्या मल्ल बम, जङ्गबहादुर लगायतका फेसबुक पेज तथा प्रयोगकर्ताले दाबी गरेको जस्तो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरूममा लडेको फोटो सार्वजनिक भएको छैन । ६ मे २०२५ बेलुका प्रचण्ड बाथरुममा चिप्लिएको र उनको निधारको बाहिरपट्टि सामान्य चोट लागेको समाचार सत्य हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो सार्वजनिक भयो भन्दै भाइरल बनाइरहेको फोटो च्याटजीपीटीको भर्सन फोरओले तयार पारेको हो । त्यही फोटोको आडमा सामाजिक केही सञ्जाल प्रयोगकर्ताले प्रचण्ड यसरी लडेका रहेछन् भन्दै आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । बाथरुममा लडेको घटनापछि प्रचण्ड सञ्चो भएर विभिन्न कार्यक्रममा उपस्थित भइरहेका छन् । तर, अहिले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले एआई-सिर्जित फोटो वास्तविक भन्दै शेयर गरिरहेका छन् । 

 प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १६:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट