काठमाडौं। नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन मुस्किल परिरहेको बताएका छन्।

नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चले पार्टीका स्वर्गीय नेता पशुपति चौलागाईंको स्मृतिमा आइतबार आयोजना गरेको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले पटक-पटक अवसर प्राप्त गर्नेहरू नै असन्तुष्ट बनी पार्टीमाथि निरन्तर प्रहार गर्ने प्रवृत्ति बढेको बताएका हुन्।
स्वर्गीय नेता पशुपति चौलागाईंको निरन्तरता, निष्ठा र इमानदारिता स्मरण गर्दै उपमहासचिव ज्ञवालीले भने, ‘अहिले राजनीतिमा धेरै खालका विकृतिहरू देखिन थालेको छ। पार्टीमा लामो समय काम गर्दा पनि एउटा वडा अध्यक्षको टिकटसम्म नपाएका मान्छे निरन्तर पार्टी काममा खटिइहरेका छन्, तर पार्टीमा पटक-पटक अवसर प्राप्त गर्नेहरू भने सधैं असन्तुष्ट बन्ने र पार्टीमाथि घात-प्रतिघात अनि विभाजनको स्थितिसम्म पु¥याउने गम्भीर प्रवृत्ति बढेर गएको छ। यो हाम्रो चुनौती पनि हो।’
निष्ठा र इमानदारिताको राजनीति गर्नेहरूमा व्यक्तिगत अपेक्षा केही नदेखिएको तथा पार्टीको विजयमा खुसी बन्ने गरेको भए पनि एक पटक अवसर पाएकाहरू पटक–पटक अवसर खोजिरहने र नपाए पार्टीविरोधी गतिविधिमा लाग्ने गरेको उनको भनाइ छ।

‘एकपटक अवसर पायो र दोस्रोपटक अवसर पाएन भने असहयोगी बन्दिने, दोस्रोचोटी पायो तेस्रो चोटी पाएन भने घात गर्न थाल्ने, तेस्रो चोटी पायो चौथो चोटी पाएन भने पार्टी विभाजनमा जाने, अहिले विभाजनमा देखिएका पात्रहरूको यसो अनुहार हेर्नुहोस् त कतिचोटी प्रधानमन्त्री भएका, मन्त्री भएका, सांसद भएका, मेयर भएका पटक–पटक अवसर पाएका साथीहरू हुनुहुन्छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘जति धेरै अवसर पायो त्यत्ति धेरै गुनासो, जति धेरै अवसर पायो त्यति धेरै घात, मैलेबाहेक अरु कसैले पाउन हुँदैन, मैले अरुलाई ठाउँ दिनुहुन्न भन्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा नचाहँदोगरी भित्रिन थालेको छ। यो कुराहरूलाई परास्त गर्नका लागि हामीले पशुपति चौलागाईंलाई सम्झिनुपर्छ।’
यस्तै, उनले अब कोरा राजनीति गर्नेर जनतासँग जोडि नसकिने बताएका छन्। जनतासँग जोडिने राजनीतिका लागि जनताको दैनिक जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि राजनीतिक केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।
‘अब हाम्रो राजनीति केवल कोरा राजनीति होइन, जनताको जीवनसँग जोडिएको, जनताको समृद्धिसँग जोडिएको, जनताको विकाससँग जोडिएको राजनीति हुनुपर्छ। राजनीतिले डेलिभरी दिन सकेन, जनताको जीवनमा परिणाम ल्याउन सकेन, परिवर्तन ल्याउन सकेन भने त्यो कोरा राजनीति हुन्छ,’ उनले भने, ‘पशुपति चौलागाईंलाई स्मरण गरिरहँदा हामीले हाम्रो राजनीतिलाई जनताको दैनन्दिन जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि केन्द्रित गर्नुपर्दछ।’
उपमहासचिव ज्ञवालीले कार्यकर्ताका कुरा सुन्ने, आफ्नो कुरा प्रष्ट राख्ने, पब्लिक रिलेशन राम्रो राख्ने नेताका रूपमा पहुपति चौलागाईंलाई सम्झिरहेको र त्यस्ता नेताको लिगेसी, स्मृति र असलतालाई निरन्तर अगाडि बढाउने प्रयास गरेकोमा दोलखा-काठमाडौं सम्पर्क मञ्च र जिल्ला कमिटी दोलखालाईसमेत धन्यवाद ज्ञापन गरे। कार्यक्रममा सम्पर्क मञ्चले वर्ष २०८२ का लागि तयार पारेको आकर्षक भित्तेपात्रो पनि विमोचन गरिएको थियो।
सामाग्री श्रोत :
पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन नसक्ने भइयो : प्रदीप ज्ञवाली