काठमाडौं- चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र अर्थात् लाइसेन्स नलिएका दुई ‘ब्युटी क्लिनिक’मा छापा मारिएको छ। नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले छापा मारेको हो।
संघका महासचिव डा सञ्जीव तिवारीका अनुसार जेनी ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर सोह्रखुट्टे र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरी रहेका छन्। त्यहाँ कार्यरत व्यक्तिको चिकित्सा अभ्यासका लागि लाइसेन्स नभएपनि डाक्टर लेखेर सेवा दिँदै आएका थिए।
त्यसमध्ये एक कोजी क्लिनिककी रेखा थापाले आफूले पढ्ने ठाउँमा डा लेख्न मिल्ने बताएको उल्लेख गरेकी थिइन्। पढाइको प्रमाणपत्र समेत देखाउन नसकेको उनले बताए। तर, उनले आफ्नो विभिन्न प्रमाण पत्रमा डा उल्लेख गरेको पाइएको छ।
उक्त सेन्टरबाट कागजात समेत जफत गरिएको छ। आवश्यक कागजातसहित काउन्सिलमा उपस्थित हुन भनिएको छ। काउन्सिलले थप छानविनका लागि गृह प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखि पठाउने तयारी गरिएको छ।
काउन्सिलका तर्फबाट सदस्य डा रुपक घिमिरे, नेपाल मेडिकल एशोसिएसनका तर्फबाट महासचिव डा सञ्जीव तिवारी र डर्म्याटोलोजी सोसाइटीका तर्फबाट मनिषा सिंह र डा मोहन भुषाल सहभागी टोलीले छापा मारेको हो।
सामाग्री श्रोत :
swasthyakhabar

