२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

‘सगरमाथा संवाद’ का लागि भारत सरकारले नेपाललाई दियो १५ ओटा ईभी उपहार

काठमाडौँ । भारत सरकारले आगामी जेठ २ गतेदेखि सुरु हुने ‘सगरमाथा संवाद’ लाई लक्षित गर्दै नेपाललाई १५ ओटा विद्युतीय गाडी उपहारस्वरूप प्रदान गरेको छ । ​आइतबार भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई टाटा कम्पनीको ‘कर्भ ईभी’ हस्तान्तरण गरेका हुन् ।

उक्त उपहारबारे सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सार्वजनिक गर्दै मन्त्री डा. राणाले यो सहयोगले जलवायु संकट विरुद्धको साझा प्रतिबद्धता झल्काएको बताएकी छिन् ।

“आगामी सगरमाथा संवादको सहयोगार्थ १५ ओटा विद्युतीय सवारी साधन प्रदान गरेकोमा भारत सरकारप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्दछौं । यो महत्त्वपूर्ण योगदानले वातावरणीय दिगोपनप्रति र क्षेत्रीय सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” डा. राणाले भनिन् ।


जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे विश्वको ध्यानाकर्षण गराउने र समाधानका लागि साझा धारणा बनाउने उद्देश्यसहित नेपाल सरकारले जेठ २ देखि ४ गते (१६–१८ मे) सम्म ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको हो ।

भारतले उपलब्ध गराएको कर्भ ईभी टाटा कम्पनीद्वारा निर्मित एक एरोडाइनामिक डिजाइनमा आधारित विद्युतीय गाडी हो । यसमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री र ९८ किलोवाटको मोटर जडान गरिएको छ ।

गाडी चार्ज गर्न ७.२ किलोवाटको एसी होम वाल बक्स चार्जर र ४० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने डीसी फास्ट चार्जर सुविधा दिइएको छ ।

कर्भ ईभीले ४०० देखि ४२५ किलोमिटरसम्मको रेन्ज दिने क्षमता राख्छ । यसमा ३१.२४ सेन्टिमिटरको सिनेम्याटिक टचस्क्रिन इन्फोटेन्मेन्ट प्रणाली र २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट छ ।

सुरक्षाको लागि दोस्रो तहको एड्भान्स ड्राइभिङ असिस्टेन्ट सिस्टम, ६ ओटा एयरब्याग, चार ओटै पाङ्ग्रामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, इन्टेलिजेन्ट भ्याकुम-लेस बुस्ट, एक्टिभ कन्ट्रोल (iVBAC) लगायतका सुरक्षा फिचर समावेश छन् ।

हिल होल्ड असिस्ट प्रणालीले यो गाडी नेपालजस्ता पहाडी भूगोलमा पनि सहज र सुरक्षित बनाउने बताइएको छ । गत फागुनमा नेपाली बजारमा सार्वजनिक गरिएको कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८२ १५:३५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट