२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!

संसारमा सबैभन्दा सुन्दर शब्द आमा,  कुनैपनि बच्चा जन्मेदेखि बृद्दावस्थासम्म मानिसले भुल्न नसक्ने एउटै शब्द आमा। आमा अर्थात् जन्म दिने मात्र नभएर एउटा जीवनलाई आकार दिने कुशल मुर्तिकार पनि हुन्, जीवन पढ्न सिकाउने कुशल शिक्षक हुन्। सन्तानको सानो चोटमा पनि छटपटाउने आमा नै हुन्। आमा आफू हजारौं दुखको भारी बोकेर सन्तानलाई अधिकतम खुशी र सुख दिने नै आमा हुन्, सन्तानको खुशीका लागि हरसम्भव प्रयास गर्ने नै आमा हुन्। अर्थात् आमा भन्नेबित्तिकै हाम्रो मनमा एउटा ममतामयी, निस्वार्थी र त्यागी भनेर आउँछ। तर, हामीले सोचेजस्तै अनि भनेजस्तै सबै आमाहरु उस्तै हुँदैन रहेछन्। कहिलेकाहिँ केही आमाकै भूमिकामा पनि अस्वभाविकता देखिन्छ, यहाँ एउटा त्यस्तै आमा, छोरी अनि बा’को कथा जुन अस्वभाविक लाग्छ,  जहाँ आमाले ममता हराएकि छन्, जहाँ आमाले सिंगो नाता हराएकी छिन्। 

फूल जस्तै भर्खर फुल्दै गरेकी सानि छोरी, डोल्पा घरमा बिरामी भइछिन्, नजिकै स्वास्थ्य संस्था छ तर औषधि रहेनछ, धन्न एकजना स्वास्थ्यकर्मी रहेछन्। उनैले औषधि छैन, एकपटक दुनै लग्नु भनेछन् तर आमाले उपचारको लागि सधैं भरपर्ने अनि विश्वास रहेको नजिकै भएको धामीकहाँ लगिछन्, धामीलाई छोरी बिरामी भएर ल्याएको भनेपछि देवता बसालेछन्, धामीले अक्षता हानेछन्, धोलो सिकाएछन्, ३ दिनको भाका राखेछन्, देवता बसालेको २ दिनमा अलिकति विशेक भएछ। अनि ३ दिनपछि श्वास फेर्न समस्या हुन थालेपछि आमाले श्रीमानलाई भनिछन,  ‘घर हेर्नु, म छोरी अस्पताल लगेर जान्छु।’
उनी अस्पतालमा आइन्, ओपीडीमा हेरेपछि आकाश भन्दा सेतो थियो उनको दायाँ भागको फोक्सो,  स्टेथस्कोपले सुन्दा पनि आवाज राम्रो थिएन। श्वास फेर्न समस्या थियो, अनि बोल्न पनि झिँजो मानिरहेकी थिइन् भनेर ड्युटी डाक्टरले भन्नुभएको थियो। वार्डमा भर्ना भइन्, अनि औषधि चल्यो, २ दिन पछि कतिको सुधार भयो भनेर हेरेको जस्तो पहिले थियो,  उस्तै थियो, अझ राम्रो थिएन। त्यसपछि हामीले नानीलाई उपचारको लागि सुर्खेत नेपालगंज लानुपर्छ भन्यौं। अनि आमा एक्कासी रुन थालिन्, ‘पैसा छैन कसरी उपचार गर्नु ?’ 

हामीले भन्यौं,  ‘हामी गाडी मिलाइदिन्छौं,  सुर्खेतमा लैजानुहोस्, प्रदेश अस्पतालमा राम्रो छ। सस्तो पनि छ।’ उनी जान राजी भइन् तर अर्को दिन मात्र। गाडीलाई कुरा गर्यौंम, गाडीले एकजना आमाको १५०० मा लाने कुरा भयो (नत्र २५००),  अर्को दिन बिहानै ती नानीको आमालाई फोन गरे उनले पैसा जोहो भएको छैन। ‘आज घर जान्छु अनि भोलि तल उसको बासँग पठाउँछु’ भनिन्। मैले सम्झाएँ तर उनी घरै जाने भनिन्, अझ घर जानुको कारण चाहि देवता हेराउन नै रहे । त्यसपछि करिब ३ दिन उनी हराइन् र दुनै अस्पतालबाट गएको ४ दिनमा बिहान फोन गरिन्,  त्योबेला म सुर्खेत आएको थियो। उनले भनिन्,  ‘डाक्टर देवताले आजको दिन दिए हामी घरबाट त्रिपुराकोट आउँछौं, त्यहीँबाट गाडी चढ्छौं भनिदिनु।’ 

मैले आजसम्म उपचार सुरु हुन्थ्यो, अवस्था झन् बिग्रियो होला भनेर एकछिन कराएँ तर उनले देवताले दिन नदिए कसरी जानु  भन्ने भयो  भनिन्। मैले फेरि गाडीमा कुरा गरें। भाडा मिलायौँ अनि उनले नानीसँग नानीको बालाई पठाएको खबर गरिन्।  मैले आफैँ किन नआएको त भनेको उनले घर अरु बच्चा हेर्नुपर्योक, गाईगोरु खेतिपाति सबै हेर्नुपर्छ भनेर आफु डोल्पै बसेको बताइन्। 

मैले सुर्खेत पुगेपछि खबर गर्नु भनेर फोन राखें। डोल्पाबाट हिँडेको साँझ उनीहरु प्रदेश अस्पताल पुगे। प्रदेश अस्पतालमा बा र छोरी मात्र पुगे।  इमर्जेन्सीबाट बच्चाको वार्डमा भर्ना भइन्,  नानी।  प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. सुवास शर्मासँग कुरा गरें। आर्थिक अवस्था अति नै कमजोर रहेको भनेपछि नि:शुल्क उपचारको व्यवस्था प्रदेश अस्पतालबाट भयो। नानीको आवश्यक चेकजाँच भइरहेको थियो,  अर्कोदिन २०८१ वैशाख १९ गते म आफ्नो तालिमको लागि प्रदेश अस्पताल गएको मौकामा बच्चा वार्डको बेड नं ८४ मा लेखेको नाम बोर्डमा देखें। अनि गएर भेटें । नानी छाति दुख्यो भनेर कराइरहेकी थिइन् भने बा औषधि ल्याउन गएका रहेछन्, केही बेरमा बा आइपुगे। त्यो समयमा म ती नानीसँग कुरा गर्दै थिएँ अनि उनका बा आए। उनी ‘औषधि किन्ने पैसा पनि छैन कसरी उपचार गर्ने ?’ भनेर रुन थाले, त्यो दिन सम्झाएर आएँ। 

गत २० गते वैशाख  बिहान अस्पताल गएँ, पैसा सकिएर डोल्पा श्रीमतीलाई ऋण उठाउन लगाएको छु, आजभोलि आउँछ कि भन्दै थिए । मैले ५ हजार रुपैयाँ औषधि किन्नका लागि दिएँ, अस्पतालमा बिरामी भेट्न जाँदा जुस भन्दा पनि पैसा दिन राम्रो लाग्छ मलाई।  कमसेकम एउटा औषधि भएपनि किन्न पाउँछन् भन्ने लाग्छ। त्यसपछि उन्को मुहारमा अलिकति उज्यालो आयो र सम्झाएँ,  अस्पतालमा नि:शुल्क छ। अलि-अलि खर्च त गर्नै पर्छ भनें। तत्पश्चात उनको उपचार निरन्तर भइरहेको छ तर २२ गते बिहान करिब ६ बजेतिर तिनै नानीको बुबाले फोन गरे। उनले भने,  ‘मेरो श्रीमती ३/४ दिनदेखि घरमा छैनन्। मेरो फोन पनि उठाइनन्। फोन गरेर बुझि दिनुपर्यो डाक्टरसाब भने, बिहान-बिहान त्यसरी पारिवारिक कुरा पनि मलाई भन्न फोन गरेपछि रिस उठिरहेको थियो। तर उनलाई मैले केही भनिनँ र ‘हुन्छ म कुरा गरेर बुझौंला’ भनें। अनि करिब ८ बजेतिर मैले फोन गरें। फोन उठाइन्,  कहाँ छौ भनेर सोधें। म गोतामकोटमा भनिन्। 

अघि श्रीमानले आफ्नी श्रीमती घरबाट भागेर भारत जान लागेको बताएका थिए। उनले गोतामकोट भन्दा उनका श्रीमानको कुरा सत्य हो कि झैं लाग्यो,  उनले त्यतिमै फोन काटिन्। अनि फेरि आफैँ फोन गरेर ‘सर म त्रिपुराकोट जाँदैछु। २५००० रुपैयाँ पठाउँदैछु।’  मैले किन फोन नउठाएको  त श्रीमानको ? भनें।

उनले छोरिसँग कुरा गराईदेउ भनेर भनिरहेकी रहिछन्। तर उनले कुरा नगराएर उल्टै  पैसा किन नपठाएको भन्दै थर्काउने रहेछन्। त्यही रिसले फोन नउठाएको बताइन्।

‘छोरीको उपचारका लागि तपाईंको भर गरेकी हुँ । राम्रो गरिदिनु, म पैसा पठाउँला श्रीमानकन’ भनेर फोन काटिन्। 

त्यसपछि मैले पनि फोन गरिनँ, उनको श्रीमानले फेरि दिउसोतिर फोन गरे,  ‘सर पैसा पनि हालिन् (पठाइन्),  फोन उठाइनन्, तपाईंले फोन गरिदिनुन।’ सानी नानीको उपचारका लागि मैले सहयोग गरिरहेको थिएँ। उनको घरको निजी मामलामा पार्न थालेपछि मैले भनें,  ‘प्रहरीको १०० मा फोन गरेर मेरो श्रीमती भारत भाग्न थाली, पक्राउ गर्न भन्नु।’

श्रीमतीले फोन उठाएर भनिछन्- म भारत गएँ। बच्चाबच्ची आफैं पाल्नु। मैले प्रतिक्रिया जनाइनँ। अर्को दिन ती नानीको छातिमा जमेको पिप तान्न पाइप हाल्ने शल्यक्रिया थियो, शल्यक्रीया भएपछि गएर भेटें। त्यो दिन उनलाई धेरै सहज भएको थियो,  सर्जरी वार्डको १४६ नम्बर बेडमा पल्टिएकी नानि भेट्न गएको थिएँ। यसबेला पनि बा थिएनन्। मैले उनलाई तिम्रो बा खै भनेर सोधें। औषधि ल्याउन गएको बताइन्। उनको हालखबर सोधें। उनले आफू ठीक भएको तर आमासँग कुरा नभएकाले कुरा गराउन आग्रह गरिन्। मैले फोन गरे जस्तो गरें तर गरिनँ र अहिले फोन अफ भएको तीन नानीलाई बताएँ। त्यसपछि उनको अनुहारमा थोरै उज्यालो देखियो।

उनलाई तिम्री आमा तिमीलाई यस्तै अवस्थामा छाडेर भारत गइन् भन्ने जस्तो तीतो बोल्ने आँट आएन। मेरी उपचार नपाएर मर्छ कि भनेर पीरले छटपटिने आमा आज एक्कासी छाडेर गएको खबर  सुनाउने सक्दै सक्दनथें।

केहि बेरमा उनको बुवा आए। उनले कहिलेसम्म यहाँ बस्नुपर्छ भनेर सोधे। औषधि किन्ने पैसा सकिएको बताए। उता नर्सले सिर्जनाको बुबा आउनु भनेर बोलाएर हातमा चिट थमाइन्। औषधि ल्याएर आउनु भनिन्। मेरो अनुहार हेर्दै अस्तिको पैसा बाँकि छ त्यसैबाट ल्याउँछ सर भनेर गए।

उनी बाहिर निस्किदै गर्दा भने,  ‘सर त्यो (श्रीमती) भारत पुगि जस्तो छ,  अब तपाईं पनि त्यसलाई नखोज्नु।  आखिर खुट्टा भए जुत्ता कति-कति। बच्चाबच्ची म हेरिहाल्छु,  यो छोरी सन्चो भए हुन्थ्यो।’
उनी औषधि ल्याउन गए। म एकछिन सोचमग्न भएँ। एउटा बिरामी छोरीको उपचारका लागि परिवारमा भएको विखण्डनको साँक्षी हुनुको नमिठो महशुस भयो।  गरिबिको एउटा अर्को कहर आफैंले महशुस गर्नुको पीडाबोध भयो। 

न्युन आम्दानीमा गर्जो टार्नुपर्ने बाध्यता छ,  त्यसैमाथि गम्भीर बिरामी छोरी। यही पीडाले बिचलित भएर भारतमा गएर कमाउने आशा पालेर ती महिला हिँडिन् कि? बिरामी छोरीको अवस्थाको समेत जानकारी नदिने श्रीमानको व्यवहारले बिरक्तिएर कतै हराइन् कि ? 

उनका श्रीमानले सोचेको भन्दा अवस्था फरक हुन सक्छ। एउटी आमाले बिरामी छोरीलाई छाडेर जानुको पछाडि सामाजिक र आर्थिक कारण छन्। त्यसैले निम्त्याएको घटना हो यो। आधारभुत स्वास्थ्य सेवा  आर्थिक अवस्था कमजोर भएकालाई सहजै प्राप्त हुन्थ्यो भने पक्कै यस्ता घटना घट्दैनथे। 

उपचारमा रहेकी ती अवोध बालिकाको अनुहार हेरें। तंग्रिदै थिइन्। मलाई दोधार भइरहेको थियो- उनले उपचार पाएकोमा सन्तोष लिएर फर्किउँ वा एउटा परिवारको विखण्डनको पीडा लिएर !
प्रश्न आजपर्यन्त दिमागमै छ- के नीति निर्माणमा रहेकाहरुलाई यो दूरावस्थाले छोएको होला ?  

(डा उपाध्याय  डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत  हुन्)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट