२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

पब्जी खेल्दै आफ्नो सपना पूरा गरेका ‘रुल्ज’ को अनुभव: खेलसँगै पढाइ पनि चाहिँदो रहेछ

काठमाडौँ । चितवनका सुबिनकुमार प्रजापति पब्जीको दुनियाँमा ‘रुल्ज’ (RULZ) नामले परिचित छन् । यो एउटा यस्तो नाम हो जसले नेपाली ई-स्पोर्ट्समा आफ्नो छुट्टै पहिचान बनाएको छ । उनको यात्रा रमाइलोका लागि सुरु भएको एउटा खेलबाट व्यावसायिक खेलाडी बन्ने र सपनाहरू साकार पार्नेसम्मको छ ।

डीआरएस गेमिङका लागि इन-गेम लिडर (आईजीएल) को भूमिका निर्वाह गर्दा उनको नेतृत्वमा टिमले २०२२ को पब्जी विश्वकपमा ऐतिहासिक दोस्रो स्थान हासिल गर्दै नेपालमा साढे दुई करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएको थियो । पब्जीको यो यात्रामा उनले अनेकौं आरोह-अवरोह, संघर्ष र सफलताका कथा कोरेका छन् ।

पब्जीसँग गाभिएको त्यो पल

सुबिनको पब्जीसँगको पहिलो साक्षात्कार लकडाउनको त्यो फुर्सदिलो समयमा भयो । त्यसअघि उनको जीवन डीजे र क्याटरिङको व्यावसायिक धुनमा रमाइरहेको थियो । “सुरुमा त रमाइलोका लागि दिदीको मोबाइलबाट खेल्थेँ,” उनी आफ्नो गेमिङ यात्राको सुरुआती दिन सम्झँदै भन्छन्, “पछि साथीभाइको संगतले व्यावसायिक रूपमा खेल्न थालेँ ।” उनको परिवारको आर्थिक अवस्था सामान्य थियो; मायालु आमा-बाबा चितवनमा बस्ने र उनी भने सपनाको सहर काठमाडौंमा भाडाको कोठामा संघर्षरत थिए ।

गेमिङप्रतिको उनको गहिरो रुचिलाई परिवारले सुरुमा सहजै नलिए पनि अगाडि बढ्न भने रोकेन ।

“गेम खेलेर बिग्रिन्छ, पढाइ बिग्रिन्छ भन्ने डर सबै आमाबुबालाई हुन्छ, मेरो परिवारलाई पनि त्यस्तै थियो,” उनी त्यो समयको पारिवारिक मनोविज्ञानलाई चित्रण गर्छन् । तर, उनको अठोट र सपनाप्रतिको समर्पणले उनलाई पछि हट्न दिएन । सीमित स्रोतसाधनका बाबजुद, उनले सेकन्ड ह्यान्ड आईफोन किनेर आफ्नो पब्जी यात्रालाई गति दिए ।

“पहिले मैले सुरु गरेको त आईफोन सिक्स एसबाट सुरु गरेको थिएँ । अनि एन्ड्रोइडमा चाहिँ मैले पोको एफ वनबाट खेल्न थालेँ,” उनी आफ्नो गेमिङ डिभाइसको आरोह-अवरोहबारे सुनाउँछन्, “एन्ड्रोइडभन्दा नि आईफोनलाई हल्का प्रायोरिटी दिनुको कारण यो स्मुथ हुन्छ । यसमा राम्रो गेमप्ले एक्सपिरियन्स गर्न पाइन्छ ।”

सफलताको शिखर र टिम परिवर्तनको चुनौती

सुबिनको व्यावसायिक गेमिङ करियरमा डीआरएस गेमिङसँगको सहयात्रा एक कोशेढुंगा साबित भयो । यही टिमको नेतृत्व गर्दै उनले पीएमजीसी २०२२ मा नेपाललाई विश्वसामु दोस्रो स्थानमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिए । यो ऐतिहासिक सफलताले नेपाली ई-स्पोर्ट्स जगतमा नयाँ उत्साहको सञ्चार गर्‍यो र करिब साढे दुई करोड रुपैयाँ बराबरको पुरस्कार राशि नेपाल भित्र्याउन सफल भयो ।

“त्यो क्षण मेरो लागि अविस्मरणीय थियो, हामीले देशको नाम राख्न सक्यौं,” उनी त्यो गौरवपूर्ण क्षणलाई सम्झँदै भन्छन्, “फाइनलका लागि डाइरेक्ट क्वालिफाई नभइकन हामीले लिग, सर्भाइभल स्टेज, लास्ट चान्स खेलेर फाइनल पुगेका थियौं । यहाँसम्म पुगिसकेपछि हामीले जित्न सक्छौं है भन्ने अनुभूति भएकाले हामी लास्टसम्म लडेको थियौं ।” तर, सफलताको यो बाटो सधैं सोझो र चिल्लो भने थिएन ।

टिमभित्रका आन्तरिक असमझदारी, प्रदर्शनमा आउने स्वाभाविक उतारचढाव र कहिलेकाहीँ आर्थिक चुनौतीले पनि उनलाई पिरोल्थ्यो ।

डीआरएस छोडेर टीटुकेमा आबद्ध हुनु उनको करियरको अर्को महत्वपूर्ण तर चुनौतीपूर्ण निर्णय थियो । “टिमको डिसिजन पनि हुन्छ । त्यसबाहेक अब कहिलेकाहीँ तलमाथि नै हुन्छ । त्यो उतै अब टिमकै डिसिजन थियो,” डीआरएस छोड्नुको कारणबारे उनी इमान्दार स्वीकारोक्ति गर्छन् । टीटुकेमा उनको आबद्धता पछाडि मिल्ने साथी बिपुलको आग्रह र नयाँ सुरुआतको चाहना थियो, “टीटुकेमा म जोडिने कारण चाहिँ मेरो साथीले गर्दा नि हो । बिपुलले बोलाएपछि म त्यहाँ आबद्ध भएँ ।”

सपनाको साकार अनि प्रेरणाका स्रोत बनेका रुल्ज

हरेक व्यक्तिसँग केही सपना लुकेका हुन्छन् । सुबिनको पनि एउटा प्यारो सपना थियो– आफ्ना मायालु आमा-बुबालाई एउटा सुन्दर र न्यानो घर उपहार दिने । पब्जीबाट आर्जन गरेको लगानी र अथक मेहनतले उनले चितवनमा जग्गा किनेर त्यो सपनालाई वास्तविकतामा बदले ।

“यो मेरो लागि सबैभन्दा ठूलो खुसीको कुरा हो, मैले आफ्नो सपना पूरा गर्न सकेँ,” उनी आँखामा खुसीको आँसु टिलपिलाउँदै भन्छन्, “मम्मी बाबा चाहिँ उतै चितवनमा बस्नुहुन्थ्यो । अनि त्यहीँ चितवनमा जग्गा लिएँ र घर पनि त्यहीँ बनाएँ ।” यो सफलता उनको व्यक्तिगत मात्र नभएर, उनको परिवारका लागि पनि गर्वको विषय बन्यो ।

पब्जीको भर्चुअल युद्धभूमिमा निरन्तर डटिरहन उनलाई आफ्ना साथीभाइ, अनगिन्ती समर्थकहरूको माया र नेपाली टिम एलिमेन्ट्रिक्स जस्ता अग्रज टिमहरूले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको सफलताले सदैव प्रेरित गरिरह्यो ।

“जब मान्छेले तिम्रो खेल मन पराउँछन्, तिमीलाई समर्थन गर्छन्, तब अझै राम्रो गर्ने हौसला मिल्छ,” उनी कृतज्ञता व्यक्त गर्छन्, “मैले पहिला हाम्रै नेपाली टिम एलिमेन्ट्रिक्स, इन्डियामा गएर खेल्दा उनीहरूको त्यो फोटोहरू देख्थेँ । अनि मेरो माइन्डसेटमा पनि मलाई बाहिर गएर यसरी खेल्ने रहर थियो ।” यो देखेर उनमा पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउने अठोट जागेको थियो ।

कुनै पनि सफलताको पछाडि परिवारको अदृश्य तर महत्त्वपूर्ण हात हुन्छ नै । सुबिनको हकमा पनि यो सत्य साबित भयो । सुरुवाती दिनमा गेमिङप्रतिको उनको गहिरो लगावलाई लिएर परिवारमा केही शंका र चिन्ता अवश्य थिए । तर जब छोराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्दै गयो, ती शंकाहरू गर्वमा परिणत भए ।

“अहिले त उहाँहरू मलाई गर्व गर्नुहुन्छ, नेपालमा नाम राख्न पाएकोमा खुसी हुनुहुन्छ,” उनी भन्छन्, “पहिलेदेखि मलाई सपोर्ट गर्नुहुन्थ्यो उहाँहरूले । जे काम गरे पनि जस्तो गरे पनि हामी तिम्रो साथमा छौं भन्नुहुन्थ्यो ।” यो पारिवारिक स्नेह र समर्थनले उनको आत्मविश्वासलाई सधैं उचो राख्न मद्दत गरेको छ ।

अहिले सुबिन टीटुके गेमिङसँग आबद्ध छन् र आफ्नो टिमलाई नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्पका साथ अगाडि बढिरहेका छन् । “अहिले हाम्रो फोकस राम्रो प्रदर्शन गर्ने र नेपालको नाम अझै माथि पुर्‍याउने हो,” उनी आफ्नो लक्ष्य स्पष्ट पार्छन् । उनी निरन्तर आफ्नो खेल कौशललाई तिखार्न र नवीनतम रणनीति सिक्नमा तल्लीन छन् । बुटक्याम्पमा बसेर टिमसँग घनिभूत अभ्यास गर्ने, विपक्षीको खेल विश्लेषण गर्ने र आफ्ना कमजोरीलाई शक्तिमा बदल्ने उनको दैनिकी हो । “सफलताको लागि निरन्तर प्रयास र समर्पण चाहिन्छ, आराम गर्ने फुर्सद कहाँ छ र ?” उनको यो भनाइले उनको लगनशीलता झल्काउँछ ।

भविष्यमा नेपालमै ई-स्पोर्ट्सको विकासमा योगदान दिने वा अन्तर्राष्ट्रिय स्तरमा अझ ठूला अवसरहरू खोज्नेबारे पनि उनले योजना बनाएका छन् । “नेपालमै केही गर्छु भनेर बसिरहेको छु, प्लानिङहरू गरिरहेको छु । यदि त्यो सफल भएन भने म विदेश जान्छु होला,” उनी भन्छन् ।

सुबिन नेपाली ई-स्पोर्ट्सको भविष्यप्रति निकै आशावादी छन्, तर यस क्षेत्रको समग्र विकासका लागि थुप्रै संरचनागत र नीतिगत सुधारको आवश्यकता रहेको उनी औंल्याउँछन् ।

“नेपालमा टुर्नामेन्टहरू कम हुन्छन्, जसले गर्दा खेलाडीले पर्याप्त एक्सपोजर पाउँदैनन् । सरकार र निजी क्षेत्रले यसमा लगानी बढाउनुपर्छ,” उनको सुझाव छ ।

खेलाडी र टिमलाई दक्ष कोचको अभाव सधैं खड्किने गरेको उनी बताउँछन् । “नेपालमा कमजोरी भनेको कोच हो । खासै कोच हुँदैनन् । बाहिरको टिमले कोचदेखि साइकोलोजिस्ट सबै राखिरहेको हुन्छ । हामीलाई खेलाडीको मर्म, उनीहरूको लगाव, क्षमता, मनस्थिति बुझ्ने कोचको आवश्यकता छन् ।”

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १३:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट