२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

नादसँग झङ्कृत हुँदा

काठमाडौं–सरकारी सेवाबाट निवृत्त भएपश्चात् आफूलाई पूर्णरूपमा लेखनको दुनियाँमा सक्रिय बनाउनुभएका डा. भोजराज घिमिरेद्वारा यस अघि नै सृजना गरिएका साहित्यका विभिन्न विधाहरू मध्ये कविता , गीत ,गजल , कथा र उपन्यास गरेर ८ ओटा कृति प्रकाशित भइसकेका छन्।प्रस्तुत गजल सञ्चयन ‘नाद’ घिमिरेको नवौँ कृति हो भने प्रकाशोन्मुख गजल सञ्चयन ‘लहड’ नेपाली गजल साहित्यमा एक इतिहास रच्ने सङ्घारमा छ।जसको पछि चर्चा गरौँला।

समीर मिडिया एण्ड प्रकाशन प्रा.लि. ले बजारमा ल्याएको प्रस्तुत कृति ३ खण्डमा खण्डीकृत छ। 

(१)उकुसमुकुस

(२)साधना

(३)साधनोत्तर

१)उकुसमुकुसः-

हररात दीयो जल्छ तिम्रो यादमा 

भिज्दै परेली गल्छ तिम्रो यादमा (पृ.१०)

तिमीले जान्छु मात्रै के भनेथ्यौ

हिडेझैँ लाग्यो यो कोठा उठेर(पृ.१२)

उक्त खण्डमा १२ ओटा गजल समावेश गरिएका छन् जहाँ शायरका उकुसमुकुस शब्द र शेर मार्फत प्रस्ट देख्न सकिन्छ।

२)साधनाः-

यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ।

टल्किन्छ जून हरदम बग्दो ‘नदी-बगर’मा 

दिलको तलाउ तिम्रो के हेर्नु सङ्कुचित छ(पृ.१४)

नराख्नू खुला वस्त्र कहिल्यै धराले

बदनमाथि अम्बरको आँखा अझै छ (पृ.२२)

Ncell 2
Ncell 2

साधना भनेको निरन्तर बग्ने झरना हो।जसले परिआए ढुङ्गा खियाउन पनि सक्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ।किनकि यस खण्डमा शायरद्वारा शेरलाई प्रस्तुत गर्ने शैलीले बोल्छ।

चढेर हिड्नू तिमी नै कुवेरको घोडा

हुँ’ला सइस म,मलाई जगर भए पुग्छ(पृ.२६)

कहाँ मैलिने हो ,कहाँ मेटिने हो ?

रहर बैँसको एक टीका रहेछ(पृ.३१)

रातभर चुम्बन दियो यस सिरानीले 

अब बिहानी देखि टाढा हुने मन छ(पृ.३७)

shivam cement

shivam cement

शायर कसरी प्रस्तुत भयो भन्दापनि शायर कहाँ पुग्यो भन्ने कुरा प्रस्तुत शेरमा प्रतीत हुन्छ।

पियो कर्दले रक्तका बूँद एक्लै

अचानो बनेँ घाँटी व्यर्थै चढाई(पृ.८४)

•••

शायरले अचानोको बिम्वलाई बडो !कलात्मक रूपले उतारेका छन्।

७६ ओटा गजल समेटिएको यस खण्डमा शायरले आफूलाई शिष्ट साधकको दायरामा राखेर आफ्नो वैशिष्ट्यलाई गजलका शेर मार्फत प्रस्तुत गरेका छन्।

 प्रस्तुत शेर मार्फत शायर उद्घोष गर्छन् र तेस्रो खण्डमा प्रवेश गर्छन् ।

म अभ्यस्त बन्दै गएको छु दिनदिन

सधैँ फूलमा हिड्छु काँडा बिछ्याई(पृ.८४)

३)साधनोत्तरः-

२२ ओटा गजल समेटिएको यस खण्डसम्म आइपुग्दा शायर परिपक्व भएको देखिन्छ।प्रस्तुत शेरहरू मार्फत अब शायरको परिपक्वतालाई महसूस गर्दै पढौँ।

गुलाफी ओठले सज्जित सगर के देखियो सामु

रहरको एउटा चङ्गा विना धागो उडेको छ(पृ.९६)

बगर परेँ कि बालुवा नदीविना म खोँचमा?

खुशी कतै खडेरीमा परेको बाछिटा भयो(पृ.९८)

कुनै दिन मौनता मेरो तिमीलाई नहोस् भारी 

यही सानो व्यथा मेरो तिमीलाई नहोस् भारी(पृ.१०३)

न दियौ खुशीको मौका ,न गयौ दुखी बनाई

नमरी मरेँ म पलपल नहुँदा तिमी नजिकमा(पृ.११२)

पूर्णरूपमा शास्त्रीयतालाई अबलम्बन गरेर ‘नाद’भित्र समेटिएका गजलहरूमा जीवन , संस्कृति ,रीतिथिति, जगत् र प्रणय जस्ता थुप्रै विषय प्राप्त हुनेछन्।जसलाई शायरले चामत्कारिक हिसाबले प्रस्तुत गरेका छन्।अझ प्रेम र प्रणयपरक विषयमा कलात्मक कलम चलेको पाउन सकिन्छ।

पापको ऊ सागरमाथा हो, यही बुझ् तँ ए ईश्वर

धर्मको नाममा पैसा फाली उद्धार खोज्दै छ(पृ.७४)

***

उक्त शेरमा शायर जगत् लेख्छन् भने प्रस्तुत शेर मार्फत प्रणयलाई यसरी सम्मान गर्छन्।

अझै जिन्दगी आफ्नो तिमीभित्र खोज्दै छु 

तिमी बिम्वकी ‘ऐना’ लजाएर के हुन्छ (पृ.८२)

‘नाद’ पढ्दै गर्दा  कुनै शेर हलुका लाग्न सक्छ।जहाँ हलुकाभित्र भार छ।अनि कुनै अति क्लिष्ट पनि लाग्न सक्छ।त्यो क्लिष्टता भित्र शालीनता छ।यी दुवै कलाका धनी हुन् शायर।किनकि कुनै कुनै शायरलाई बुझ्न एउटा होइन दुइओटा दिमाग खर्चिनुपर्ने हुन्छ।हो तिनै शायर मध्ये एक हुन् भोजराज घिमिरे।

उसो त “सर्जक एक मुहान हो भने पाठक एक समुद्र हो” भनिन्छ।अर्थात् सर्जक भन्दा पाठक जहिले पनि दश कदम अगाडि हुन्छ।यो भनाइ एकातिर राखेर शायरले कृतिभित्र हरेक गजलका अन्त्यमा बहरका अर्कान सहित गजल प्रस्तुत गर्नुको आशय भनेको नवसर्जकहरूलाई सजिलो होस् भन्ने हेतुले हो भन्ने लाग्छ।

शायरले बहरको तानमा शाब्दिक पराललाई भाषा र कलाको हतासोले ठोकेर सुन्दर तथा आकर्षक गजलका गुन्द्रीहरू प्रस्तुत गर्नुभएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानको आधिकारिक शब्दकोशलाई अनुसरण गर्दै शायर सजग हुँदै ‘नाद’ मा प्रस्तुत भएका छन्।

कृतिलाई ३ खण्डमा खण्डीकरण गर्दै प्रस्तुत गर्नुमा शायर स्वयम् थप सजग छन् भन्नेमा कुनै शंका नै छैन।अभ्यासका क्रममा पोखिएका मनका उकुसमुकुसहरूलाई उकुसमुकुस खण्डमा,अभ्यासलाई परिष्कार गर्दै जाँदा लेखिएका शेरहरूलाई साधनामा र थप परिष्कार हुँदै जाँदा लेखिएका गजलहरूलाई साधनोत्तर खण्डमा समेटेर शायरले आफूलाई सजग त बनाएकै छन्।यसकारण विषय र प्रस्तुतिका हिसाबले शायर परिष्कारवादी लेखक हुन् भन्दा अत्युक्ति नहोला। बहर ,भाषा र अन्य थप विमर्शका लागि समालोचकीय अर्जुनदृष्टि त छँदै छ।जो कहिलेपनि अन्त्य हुने कुरा होइन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट