काठमाडौँ । झन्डै आठ महिनाअघि विराटनगरका मिरज बहादुर (नाम परिवर्तन) र राजन मगर (नाम परिवर्तन) समक्ष उनीहरूलाई एक युवकले लोभलाग्दो प्रस्ताव ल्याए । १८ वर्षीय मिरज दक्षिण कोरिया जाने सपना बुन्दै कोरियन भाषा पढिरहेका थिए भने १७ वर्षीय राजन कक्षा १२ का विद्यार्थी थिए ।

ती युवकले ल्याएको प्रस्ताव थियो ‘आफ्नो बैंक खाता बेच्ने’ ।
मिरजले टेकपानासँग कुरा गर्दै भने, “एकजना भाइ छ रेशम, उसले ‘दाइ, एउटा बैंक अकाउन्ट बनाऔं । एकजना मान्छेले किन्छ, त्यसबाट ८०० रुपैयाँ आउँछ’ भन्यो । ८०० रुपैयाँ पाइने भएपछि किन नबनाउने भन्ने लाग्यो र म बनाउन तयार भएँ ।”
त्यसपछि मिरज, राजन र रेशम आफ्नो नागरिकता र पासपोर्ट साइजको फोटो बोकेर मोबाइल पसलमा गई सिमकार्ड निकाले । अनि त्यही सिमकार्डको आधारमा बैंक खाता खोले । एक दिनमै सबै काम सकियो । अब उक्त सिमकार्ड र बैंक खाता त्यसरी माग गर्ने व्यक्तिलाई दिनुपर्ने थियो । त्यसबापत उनीहरूले जनही आठ-आठ सय रुपैयाँ पाउने थिए ।

खाता किन्ने मान्छे भारतको थियो । उसले ह्वाट्सएपबाट रेशमलाई चिनेको थियो । ‘जति धेरै खाता खोलिदिने मान्छे फेला पार्छौ, तिमी त्यति नै रकम कमिसन पाउँछौ’ ती भारतीयले रेशमलाई लोभ देखाए । त्यही प्रलोभनमा परेर रेशमले गाउँका मिरज र राजनलाई उक्त प्रस्ताव राखेका थिए ।
खाता खरिद गर्ने मान्छेलाई उनीहरूले ह्वाट्सएपमा सम्पर्क गरे । सिम र बैंक खाता किन्ने भारतीय युवकले उनीहरूलाई विराटनगरको एक चोकमा बोलाए । सबै भनेकै समयमा बैंक खाताको विवरण र सिम लिएर चोकमा पुगे । त्यसपछि भारतीय नागरिकले दिएको रकम लिएर आ-आफ्नो बाटो लागे ।—
एक दिनमै ८०० रुपैयाँ कमाएकोमा मिरज र राजन दङ्ग थिए । सिम निकाल्ने र बैंक खाता खोल्ने काम त्यति गाह्रो थिएन । रकम पाएपछि मिरज भाषाको तयारी गर्न थाले भने राजन कक्षा १२ को ।
“पढ्ने मान्छे, काम केही नभएकाले पैसा पनि थिएन । घरमा माग्न पनि गाह्रो थियो,” मिरज आफ्नो दुखेसो पोख्छन्, “बैंक खाता खोलिदिए मात्र ८०० रुपैयाँ आउने भनेपछि किन नगर्ने जस्तो लाग्यो । अनि खाता खोलें ।”
मिरजकै भनाइको सार पनि आफूसँग मिलेको भन्दै राजन भन्छन्, “केही गर्नु नपर्ने । खाता खोलेर सिम उसलाई दिने हो, पैसा सबै त्यो मान्छे (सिम र बैंक खाता खोल्ने भारतीय नागरिक) ले दिन्छ भनेपछि मलाई पनि ठिकै छ त भन्ने लाग्यो ।”
यसरी रकम पाएको आठ महिनापछि अर्थात् मिरज र राजनको घरमा वडा अध्यक्ष पुगे । “तिमीहरूको नाममा काठमाडौँमा उजुरी परेको रहेछ । तिमीहरू काठमाडौँ जानुपर्ने भयो,” वडा अध्यक्षले मिरज र राजनलाई खबर ल्याए । उनले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतको नम्बर उपलब्ध गराएर सम्पर्क गर्नु भन्दै बाटो लागे ।
त्यसपछि प्रहरीलाई सम्पर्क गर्दा थाहा भयो उनीहरूले ८०० रुपैयाँमा बेचेको उनीहरूको खाता अनलाइनबाट ठग्न ठगले दुरुपयोग गरेका रहेछन् । मिरज र राजनले सबै घटना परिवारलाई सुनाए । “घरमा भनेपछि ‘अब गल्ती भइहाल्यो । प्रहरीले जे भन्छन् त्यही गर्नु’ भनेर घरबाट पठाउनु भयो,” मिरज भन्छन् । आर्थिक अवस्था निकै कमजोर भएको राजनको परिवारले गाउँबाट सापटी लिएर छोरालाई काठमाडौँ पठाए ।
खुरुखुरु काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइपुगेका राजन र मिरज एक दिन थुनामा परे । “म हामीले बैंक खाता बेचेको इन्डियनलाई बोलाउन सक्छु सर । हामीले खाता बेचेका मात्र हौं । बेच्नु हुन्न भन्ने थाहा थिएन,” मिरजले प्रहरीसँग आफ्नो कुरा निर्धक्क राखे । अनुसन्धानमा खटिएका प्रहरीले पनि मिरजलाई सघाए ।
मिरजले रेशमबाट ती भारतीयको ह्वाट्सएप नम्बर मागेर सम्पर्क गरे । बैंक खाता बेच्ने व्यक्ति १०/१२ जना भएकाले लिन आउन विराटनगर पहिले भेटेकै ठाउँमा बोलाए । बैंक खाता खरिद गर्ने भारतीय पनि उनीहरूले बोलाएको ठाउँमा आइपुगे । त्यहीँबाट प्रहरीले भारतीय नागरिकलाई नियन्त्रणमा लिएर काठमाडौँ ल्याएर अहिले थप अनुसन्धान गरिरहेको छ ।
कक्षा १२ को जाँच दिनुपर्ने राजनको दुई ओटा विषयको जाँच छुटिसकेको छ । “दुई ओटा विषयको परीक्षा नदिए पनि पछि दिन पाइन्छ,” मिरज राजनलाई विश्वस्त बनाउँदै थिए, “अब गल्ती भइहाल्यो । परीक्षा दिन पाइन्छ, चिन्ता नगर् ।”
आफ्नो खाता दुरुपयोग गरेर एक लाख ७० हजार रुपैयाँ ठगी भएको मिरजलाई थाहा छ । यता राजनलाई आफ्नो खाताबाट ६० हजार रुपैयाँ ठगी भएको भन्ने थाहा छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मिरजको खाताबाट १४ लाख रुपैयाँ बढीको कारोबार देखिएको छ भने राजनको खाताबाट नौ लाख रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ । मिरज र राजनलाई थाहा भएको रकम भने पीडितले ठगीमा परेको भन्दै उजुरी दिएको रकम हो ।
“पछिल्लो समय विद्यार्थीलाई लोभमा पारेर बैंक अकाउन्ट किन्ने वा भाडामा लिने गतिविधि बढेको छ,” कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्य भन्छन्, “यस्ता बैंक खाता पार्सल पठाइदिने, सस्तोमा आईफोन बिक्री गर्ने, बैंक खाता ह्याक गरेर ट्रान्सफर गर्ने लगायतका काममा दुरुपयोग हुने गरेको छ । केही रकम वा कमिसनको लोभमा विद्यार्थी पर्छन् ।”
बेरोजगार युवायुवती, देशका विभिन्न सहरमा संघर्ष गर्दै अध्ययन गर्दै गरिरहेका विद्यार्थी, गृहिणी यस्ता किसिमका ठगीमा बढी पर्ने गरेको उनी सुनाउँछन् । आफ्नो खातामा रकम हुँदैन, उसले लिए पनि के हुन्छ र भन्ने मान्यताले खाता दिँदा व्यक्ति कहिल्यै नगरेको अपराधमा मुछिने जोखिम हुन्छ ।
“बैंक अकाउन्ट भाडामा दिने भनेको छ वा कमिसन दिन्छु त्यो खातामा आएको रकम अर्को खातामा पठाउने काम गर भन्यो भने पनि त्यस्ता काम गर्नु हुँदैन,” प्रहरी उपरीक्षक आचार्य सुझाव दिन्छन्, “सामाजिक सञ्जालमा पनि यस्ता विज्ञापन आइरहेका हुन्छन् । ती विज्ञापनमा भर परेर बैंक खाता दिंदा ठुलो कानुनी झमेलामा पर्ने जोखिम हुन्छ ।”
पछिल्लो अध्यावधिक: बैशाख २७, २०८२ १३:१४
सामाग्री श्रोत :
टेक पाना