काठमाडौँ । भारत सरकारले चर्चित अनलाइन मिडिया ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध लगाएको छ । शुक्रबारदेखि भारतभरबाट thewire.in वेबसाइटमा पहुँच अवरुद्ध गरिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले भारतको सूचना प्रविधि ऐन, २००० अन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयको आदेशअनुसार उक्त वेबसाइट ब्लक गरिएको जनाएका छन् । द वायरले सरकारको यो कदमलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन भन्दै सामाजिक सञ्जालमा कडा विरोध जनाएको छ ।
द वायरले वक्तव्यमा लेखेको छ, “भारतका लागि अत्यन्तै संवेदनशील समयमा सत्य, विवेकपूर्ण, निष्पक्ष र तर्कसंगत आवाजहरूलाई दबाउने यस्तो सेन्सरशिपको हामी विरोध गर्छौं ।”
भारतमा वेबसाइट ब्लक गरिएको यो घटना पछिल्ला महिनामा सञ्चारमाध्यममाथिको प्रतिबन्धको तेस्रो उदाहरण हो । यसअघि फेब्रुअरीमा तमिल भाषाको म्यागेजिन विकटन (Vikatan) को वेबसाइट प्रधानमन्त्री मोदीमाथि व्यङ्ग्यात्मक कार्टुन प्रकाशन गरेपछि बिना पूर्वसूचना ब्लक गरिएको थियो । सो कदमविरुद्ध विकटनले मद्रास उच्च अदालतमा मुद्दा हालेपछि प्रतिबन्ध हटाउने आदेश आएको थियो ।

त्यस्तै, केही दिनअघि मात्रै केरलामा आधारित स्वतन्त्र मिडिया संस्था ‘Maktoob Media’ को एक्स अकाउन्ट कानुनी मागका आधारमा भारतमा रोकिन पुगेको थियो । यसको विरोधमा संस्थापक सम्पादक अस्लाह कायालक्कथले यसलाई ‘प्रेस स्वतन्त्रतामाथिको हमला’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।
द वायरले सरकाको प्रतिबन्धविरुद्ध आवश्यक कानुनी कदम चाल्ने बताएको छ । “हामी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणबाट विचलित हुने छैनौं,” द वायरले वक्तव्यमा लेखेको छ ।
यसैबिच द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “कम्तीमा दुईवटा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरूलाई द वायर वेबसाइट पहुँच गर्न नसकिने कारण सरकारले उक्त साइट ब्लक गर्न आदेश दिएको बताएका छन् । भारतका केही पाठकहरूले भने ब्लक गर्ने आदेश पूर्ण रूपमा लागू नहुञ्जेलसम्म http://thewire.in सिधै पहुँच गर्न सक्ने सम्भावना छ । The Wire भारतमा VPN मार्फत पूर्ण रूपमा पहुँच योग्य छ, त्यसैले ‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ । विदेशमा रहेका पाठकहरूले पनि हामीलाई सजिलै पहुँच गर्न सक्छन्, र हामी चाँडै नै एउटा मिरर साइट सुरु गर्दैछौं ।”
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १७:१
सामाग्री श्रोत :
टेक पाना