२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

आफ्नो सबै सम्पत्ति दान गर्ने बिल गेट्सको घोषणा

काठमाडौँ । माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले आगामी २० वर्षभित्र आफ्ना करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। गेट्सले यससँगै सन् २०४५ डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन बन्द गरिने जानकारी पनि दिएका छन् । बिहीवार आफ्नो व्यक्तिगत ब्लग ‘गेट्स नोट्स’ मा एक ब्लग सार्वजनिक गर्दै उनले आफ्नो भावी योजनाका विषयमा जानकारी दिएका हुन् । 

सन् २००० मा पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर गेट्स फाउन्डेसन स्थापना गरेका गेट्सले उक्त संस्थालाई आफ्नो मृत्युपछि सम्म पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएका थिए। तर अहिले उनले बाँकी जीवनकालमै सबै सम्पत्ति समाजसेवामा खर्च गर्ने निर्णय गरेका हुन् ।

“आगामी २० वर्षमा भर्चुअल रूपमा म गेट्स फाउन्डेसनमार्फत आफ्नो लगभग सम्पूर्ण सम्पत्ति संसारभरको जीवन बचाउन र सुधार गर्नका लागि दिँदैछु । र सन् २०४५ को डिसेम्बर ३१ देखि यो संस्था स्थायी रूपमा बन्द हुनेछ,” उनी लेख्छन् ।

उनले यस निर्णयबाट अन्य अरबपतिहरूलाई पनि समाजसेवामा योगदान दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। गेट्सले सन् २०१० मा मेलिन्डा र वारेन बफेटसँग मिलेर ‘गिभिङ प्लेज’ अभियान सुरु गरेका थिए, जसमा २४० भन्दा बढी धनी व्यक्तिहरूले आफ्नो अधिकांश सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका छन्।

“म मरेपछि मानिसहरूले मेरो बारेमा धेरै कुरा गर्नेछन् । तर ‘धनी भएरै मर्‍यो’ भनेर नभनुन । अहिले संसारमा समाधान गर्नुपर्ने धेरै गम्भीर समस्याहरू छन्, जसका लागि मेरो सम्पत्ति काम लाग्न सक्छ,” उनी लेख्छन् । 

विश्वकै सबैभन्दा ठूलो परोपकारी संस्थामध्ये एक गेट्स फाउन्डेसनले हालसम्म १०० अर्ब डलरभन्दा बढी रकम विभिन्न स्वास्थ्य परियोजना, खोप विकास, रोग निदान प्रविधि र उपचार वितरण प्रणालीमा खर्च गरिसकेको छ।

आगामी दुई दशकमा फाउन्डेसनले तीन प्रमुख लक्ष्यमा केन्द्रित हुने बताइएको छ — आमाहरू र नवजात शिशुको रोकथाम गर्न सकिने मृत्यु अन्त्य गर्ने, घातक सङ्क्रामक रोगहरूको उन्मूलन गर्ने र विश्वभरका करोडौं मानिसलाई गरिवीबाट मुक्त गर्ने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वास्थ्य, वैदेशिक सहायता र अन्य सामाजिक कार्यक्रमको बजेट कटौती गरिरहेको समयमा गेट्सले यस्तो घोषणा गरेका हुन् । हाल उनको सम्पत्ति १०८ अर्ब डलर रहेको छ र उनले यो २०४५ सम्ममा ९९ प्रतिशतले घट्ने दाबी गरेका छन्।

गेट्सले संस्थागत कोष र निजी सम्पत्तिबाट उक्त रकम फाउन्डेसनमार्फत खर्च गर्ने बताएका छन्। उनीद्वारा स्थापित आणविक ऊर्जा कम्पनी टेरापावर लगायत अन्य लगानीको आम्दानी समेत यस अभियानमा प्रयोग गरिने छ । गेट्सको यो निर्णय माइक्रोसफ्ट स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आएको हो। “मैले कम्पनीबाट कमाएको सम्पत्ति अब समाजका लागि फिर्ता दिने बेला आएको छ,” उनले भने। 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १०:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट