२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

सरकारको डिजिटल सेवाः ब्लुबुकको क्यूआर लिन कार्यालय पुग्नुपर्ने, पुग्नेलाई पनि रित्तै फर्काउने

काठमाडौँ । बागमती प्रदेश सरकारले ब्लुबुकको क्यूआर कोड दिने भनेर सेवाग्राहीलाई झुक्याएको छ । १९ वैशाखमा  राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बागमती प्रदेशबाट जारी भएका ब्लुबुकका लागि क्यूआर कोड प्रणाली सुरुवात भएको थियो । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सुरुवात गरेको यो प्रणालीबाट सवारी साधनको विवरण जाँच, ब्लुबुक नवीकरण जस्ता सेवा डिजिटल रूपमा लिन सकिने बताइएको थियो ।

तर, अझै पनि उक्त प्रणाली कार्यान्वयनमा नआउँदा झुक्किएका सेवाग्राहीले दुःख पाएका हुन् । यातायात मन्त्रालयको वेबसाइटमा रहेको प्रणालीभित्र गएर सेवाग्राहीले आफ्नो सवारीसाधनको विवरण र व्यक्तिगत विवरण भरेपछि क्यूआर कोड लिनको लागि बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयहरूमा भिजिटको मिति लिन सक्ने व्यवस्था मिलाइएको छ  ।

तर, मिति लिएर कार्यालय पुगेका सेवाग्राही रित्तो हात फर्कन बाध्य भएको पाइएको छ । मन्त्रालयले आफूहरूलाई अहिलेसम्म क्यूआरको सिस्टम नै उपलब्ध नगराएकाले सेवा दिन नसकिएको यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारका प्रमुख नेत्रप्रसाद भट्टराईले टेकपानालाई बताए ।

उनले भने, “यातायात मन्त्रालयले सिस्टम बनाएर सेवाग्राहीको विवरण सङ्कलन गर्‍यो, कार्यालय भिजिटको लागि मिति पनि बुकिङ भयो । तर, मन्त्रालयले हामीलाई दिनुपर्ने सिस्टम नदिएकाले क्यूआर सेवा सुरु हुन सकेको छैन ।”

यातायात कार्यालयका प्रवक्ता गोविन्दराज शिवाकोटीका अनुसार आज बिहीबारको लागि २ जना सेवाग्राहीले कार्यालय भिजिटको समय बुकिङ गरेर सम्बन्धित कार्यालय पुगेका थिए । तर उनीहरूलाई सेवा दिन नपाएकाले निराश हुँदै फर्किएको जानकारी दिए ।

ब्लुबुकको क्यूआर लिनको लागि कार्यालय भिजिटको समय बुकिङ गरेको भएपनि अर्को सूचना जारी नभएसम्म कार्यालयमा आएर दुःख नपाउन शिवाकोटीले आग्रह गरे ।

यस विषयमा हामीले बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेललाई पनि सम्पर्क गरेका थियौँ । उनले पनि अहिले क्यूआरको सेवा दिन नसकिएको स्वीकार गर्दै चाँडै नै उपलब्ध गराउने बताए ।

पौडेलले भने, “केही प्राविधिक कारणले गर्दा हामीले यातायात कार्यालयहरूलाई सिस्टम हस्तान्तरण र अन्य प्राविधिक कुराहरू दिन सकेका छैनौँ, एक/दुई दिनमै सबै बन्दोबस्त मिलाएर ब्लुबुकको क्यूआर वितरण गर्ने व्यवस्था मिलाउँछौँ ।”

डिजिटल सेवामा पनि कार्यालय धाउनैपर्ने बाध्यता

ब्लुबुकको क्यूआर कोड लिन पनि सेवाग्राही यातायात कार्यालय जानुपर्ने भएको छ । यसअघि यो सेवाको घोषणाको क्रममा सबै काम अनलाइनबाटै हुने भनिए पनि अहिले भने कार्यालय धाउनैपर्ने बाध्यता सिर्जना गरिएको हो । सेवाग्राहीले यातायात मन्त्रालयमा रहेको प्रणालीमा आफ्नो विवरण भरेपनि यातायात कार्यालय भिजिटको समय लिनुपर्छ । कार्यालय गएर ब्लुबुकको भेरिफिकेसन गर्ने र बायोमेट्रिक दिने लगायतका काम गरेपछि बल्ल क्यूआर कोड पाइने बताइएको छ ।

“डिजिटल सेवा भनेर प्रचार गर्ने, तर सेवाग्राहीलाई कार्यालयसम्म बोलाएर किन दुःख दिनुभएको ?” टेकपानाले बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका प्रमुख नेत्रप्रसाद भट्टराईलाई सोधेको  थियो । जवाफमा उनले भने, “सुरुमा त हामीले सबै सेवा अनलाइनबाटै दिने भनेका थियौँ, तर ब्लुबुक र राष्ट्रिय परिचयपत्रबिच इन्टिग्रेसन गर्नको लागि सेवाग्राही कार्यालय आउनैपर्ने भयो ।” सेवाग्राही कार्यालयमा आउनै नपर्ने व्यवस्थाको लागि पनि आफूहरूले तयारी भने गरिररहेको उनको भनाई छ ।  

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १९:४२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट