२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

मेरो किड्नी फेल भएको पेन किलरले हो

हामी निरोगी नेपालको महासंकल्पमा छौं । यो स्वास्थ्य क्षेत्रको महासंकल्प हो निरोगी नेपाल । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौं । पहिलो कुरा, नेपालमा कोही पनि रोगी र बिरामी हुँदै नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति र अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य कमजोर भयो भने इम्युन सिस्टम, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । त्यसकारण मान्छेहरुको इम्युन सिस्टम नै कमजोर नहोस् । यसका निम्ति पनि उपायहरु गरौं । खानपिन पेट भर्नका लागि मात्रै होइन, सन्तुलित खानपिन र स्वास्थ्यका लागि उपयोगी खानपिन, लाभदायी खानपिन गरौं, जस्तो पनि होइन । स्वास्थ्यका लागि खानपिन खाऔं । हामीले आफ्नो आनीबानी पनि ठीक गर्नुपर्दछ ।

स्वास्थ्य र स्वस्थ रहनका लागि खानपिन हो भन्ने कुरा थाहा पाउनुु पर्छ । हाम्रा कतिपय आदतहरुले पनि हामीलाई बिरामी बनाउँछ । हाम्रा आदतहरु पनि सच्याउन जरुरी छ । त्यसमध्ये खानपिनको आदत, रहनसशनको आदत सच्याउन जरुरी छ । मान्छेले कुनै पनि श्रम गरेन, व्यायाम गरेन भने मान्छे बिरामी हुन्छ, कमजोर हुन्छ, इम्युन सिस्टम कमजोर हुन्छ । ती पक्षहरु आहार–सन्तुलित, समयमा, उपयुक्त, विहार, व्यायाम र काम एउटै कुरा हो । जसले पाचन प्रणालीलाई पनि ठीक गर्छ । आजकाल आर्शिवाद दिंदा तिम्रो पाचन प्रणाली ठीक होस् भन्ने चलन छैन । उहिले उहिले तिम्रो पाचन प्रणाली ठीक रहोस् भन्थे । स्वास्थ्य रहनका लागि एकदम आवश्यक छ–पाचन प्रणाली । होइन भने न भोक लाग्छ, त्यसपछि न निद्रा लाग्छ, न प्रतिरोध क्षमता हुन्छ । पाचन प्रणाली कसरी ठीक हुन्छभन्दा प्रशस्त काम गर्‍यो , थकाइ लाग्यो, मस्त निदायो र आराम गर्‍यो , त्यसपछि पाचन प्रणाली ठीक हुन्छ । काम गरेन भने भोक लाग्दैन, खान रुच्दैन, पाचन प्रणाली ठीक हुँदैन । आन्द्रा भुडी नै चलिराखेको हुँदैन, विस्तारै अल्छि लागेर चल्छ, कहाँबाट भोक लाग्ने ?

त्यसकारण पहिलो कुरा, स्वस्थ रहने हो भने हामी हरेक आफैँ पनि सचेत हुन जरुरी छ । हामी सचेत रहेर आफ्नो स्वास्थ्यलाई कसरी मेन्टेन गर्ने । फेरि पनि कुनै न कुनै रोग ट्रमाजस्ता आइपर्न सक्छन् । धेरै कुराहरु त आइनपर्ने विधि गर्न सकिन्छ । शरीरका सबै बाह्य र आन्तरिक अंग प्रत्यंग अवयवहरुलाई स्वस्थ र तन्दुरुस्त राख्ने उपायहरु छन्, तिनीहरुलाई अपनाउन सकिन्छ, काबुबाहिरको परिस्थिति परेन भने ।

जस्तो मेरो किड्नी किन खराब भयो भन्दा लापरबाहीले होइन ।डेढ महिना राखेर चुटेको चुट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ? चिसो गोलघरभित्र भुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ । नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर टिटानस आदि इत्यादि भएन संयोगको कुरा हो । त्यसबेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर।

दाँत हामी कसरी सफा गर्दथ्यौं भने, एउटा ब्रस किन्यो, त्यो पनि महंगो किन्न सकिंदैनथ्यो, सस्तो किन्यो । दुुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ! ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दातमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिंदैनथ्यो । मुख बाङ्गो पारिपारिकन ब्रस गर्नु पर्दथ्यो । टुुथपेस्टको ट्युुव हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदा – निर्चोदा…! नयाँ किनौं पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ! खैर ती दिन नसम्झिऔं, सम्झिदा अलिअलि रमाइलो पनि लाग्छ । तर, त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल भएको पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ! अहिले बाँची हालौं, पेन किलरको असरपछि हेरौंला भनेर । यस्ता काबु बाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुका परिस्थिति त्यस बेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गर्दथ्यौं । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौं ।

हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्छ । तर कुष्ठरोग कतिबेला सर्छ थाहा हुँदैन । यो सुरुमा त यो पैदा हुन्छ । के कारणले पैदा हुुन्छ, त्यो पत्ता लगाउन र त्यो पैदा नहोस् भन्ने कुराका लागि हामीले कुनै भ्याक्सिन पो तयार गर्न सक्छौं कि, अथवा तयार भएपछि पत्ता लाग्यो भने तुरुन्त उपचार सुरु गर्नु पर्दछ । एउटा ह्याभोब के भने, हामीले उपचार सुरु गर्‍यो भने सुरु गरेपछि त्यसको निको हुने प्रक्रिया सुरु हुन्छ । निको हुने प्रक्रिया थोरै अगाडि बढ्ने बित्तिकै त्यसको सरुवापन जुन हुन्छ, संक्रमणकारी प्रवृत्ति त्यो कमजोर भइहाल्छ र सर्न छोड्छ । अलिक समय औषधि खाएपछि सर्न छोड्छ र त्यो संक्रमक रोग हुँदैन । औषधि नखादा त्यो संक्रमक हुन्छ, खासगरी परिवारलाई र निकटका व्यक्तिलाई सर्ने खालको हुनसक्छ । त्यसैकारण मान्छे तर्सिन्छ । अब यहाँ कानुनी प्रबन्धदेखि सामाजिक बहिष्कारदेखि हेलाँहोचाका कुराहरुलाई रोक्नुुपर्छ ।

पहिला ठूला संख्यामा कुष्ठरोग थियो, पछि औषधि खाएर नसर्ने भइसक्यो र निको भइसक्यो । निको भइसकेपछि पनि मान्छेले एक समय कुष्ठरोग थियो भन्ने थाहा पायो भने हेलाहोचो गर्छ । सँगै बस्न र अनेक हिसाबले अप्ठ्यारो मान्छ । त्यसको कुनै जरुरी छैन, त्यो निको भइसकेपछि केही फरक हुँदैन । उस्तै हो उहिले थियो, अहिले छैन । बिरामी थियो तर अहिले छैन । त्यसकारण हेलाहोचो गर्नु पर्ने त्यस्तो छैन । कानुनमा केही कुराहरु स्पष्ट पार्नु पर्ने अझै हुनसक्छन् । ती कुराहरुलाई हामी हेर्छौ । कसरी कानुनलाई व्यवहारिक, उचित र उपयुक्त कानुन निर्माण गर्ने, जसबाट बहिष्करण, हेलाहोचोजस्ता कुराहरु नहोउन् । अर्को, यस्तो पनि गर्नु हुँदैन, जसबाट संक्रमण फैलियोस् । संक्रमण नफैलिने र हेलाहोचो नहुने यो दुुईवटै स्थितिको सन्तुलन हामीले कायम गर्नुपर्छ र अगाडि बढ्नुु पर्दछ ।

हामी सबै रोगको निधान मात्रै होइन कि निवारण चाहन्छौं । त्यो प्रकट भइसकेपछि होइन कि त्यो देशबाटै उन्मूलन होस् । उहिले बिफरको एउटा लहर आउन्थ्यो, त्यो लहर आएपछि त्यसले हरेक वर्ष ठूलो संख्यामा जनसंख्यालाई समाप्त पारेर लिएर जान्थ्यो । आज हामीले बिफर उन्मूलन गरेका छौं । मेरो आमा बित्नुु हुँदा २२ वर्षको हुनुहुन्थ्यो, म तीन वर्षको थिए । आमा विफोरको कारणले बित्नुभएको थियो, आज विफोर थिएन । मैले आमा बिफरले बित्नुभएको भन्ने थाहा पाएपछि विफोरसँग मेरो यस्तो दुुष्मनी भयो कि स्कुलमा भ्याक्सिन आयो भने म गाउँगाउँमा पनि त्यो भ्याक्सिन लिएर जान खोज्थें र लिएर पनि जान्थे । ग्रामीण चेतनाको स्तर के थियो भने, मेरो घरभन्दा परतिर बाटो थियो र बाटोभन्दा परितिर एउटा वस्ती थियो । झापा जिल्लामा स्थानीय आदिवासीको । त्यहाँ हरेक वर्ष केही व्यक्तिहरुको विफोरका कारणले निधन हुन्थ्यो । उनीहरु खोप लगाउन नमान्ने, खोप नलगाएपछि कच्चा अवस्थामा विफोर लाग्थ्यो । पहिला नलागेका मान्छे थिए भने तिनीहरुलाई त लाग्यो लाग्यो । विफोर लागिसकेकालाई बरु लाग्दैन, नलागेकालाई लाग्यो लाग्यो र केही मान्छे जान्थे ।

मैले भ्याक्सिन लिएर गाउँमा आउँदै छुु भन्ने थाहा पाएपछि गाउँका मान्छेहरु गाउँ छोडेर भागे । बालबच्चा च्यापेर अलिक टाढा अर्को गाउँमा गएछन् । म बेलुका गएर सम्झाउन खोजें, यस्तो हो बाँचिन्छ भनेर तर मानेनन् । मैले भनेँ, मेरो कवुल र प्रतिबद्धता भयो कि तपाईंहरुलाई भ्याक्सिन लगाइंदैन, तपाईंहरु गाउँमा गएर बस्नुस् । त्यो ग्यारेन्टी गरेपछि उनीहरु बल्ल गाउँमा फर्किए । त्यत्रो आतंक थियो कि खोप लगायो भने भगवान रिसाउँछन् र हामी बर्बाद हुन्छौं भन्ने । फेरि त्यही वर्षमा केही मान्छे त्यहीं गाउँमा बिते । मैले धेरै कोसिस गर्नु प¥यो कि हामीले भ्याक्सिन लगायौं, तपाईंहरुले लगाउनुुभएन, यताको गाउँमा सरेन, यताको गाउँमा रोग आएन, यताको गाउँमा आयो, तपाईंहरुकोमा मान्छे यसरी मरे अब भ्याक्सिन लगाउनुु पर्छ भनेपछि बल्ल बिफर निवारण भयो । यस्ता उपायहरु हामी धेरैले गर्‍यो होला । तराईमा मलेरियाले भुसुक्कै मान्छे मर्दथे । मलेरिया उन्मूलन भयो । त्यसकारण उन्मूलन गर्न सकिन्छ । निको नहुने रोग कुनै छैन । निको नहुने स्टेजमा पुग्यो भने मात्रै बेग्लै कुरा हो नत्रभने निको नहुने रोग भनेको कुनै छैन । सबै रोग निको हुन्छ र हामी निको पार्न सक्छौं ।

यस सन्दर्भमा सरकारले गरेका प्रयासहरु बहुत राम्रा छन् । स्याङ्जाको मालुङ्गा हो क्यार ठाउँको नाम, मालुङ्गामा लेप्रोसी क्याम्प थियो । लेप्रोसीका बिरामीहरुलाई निको पार्ने क्याम्प खडा गरिएको थियो । मलाई २०३९ सालमा काठमाडौंबाट पोखरा जेलमा लगियो । मालुङ्गा गाउँतिरका मानिसहरु त्यहाँ थिए र त्यसमध्ये एक दुई जना लेप्रोसी संक्रमित पनि थिए । उनीहरुलाई लेप्रोसी थियो र त्यही उनीहरुलाई औषधि पनि दिइन्थ्यो । मैले उनीहरुबाट लेप्रोसीका सम्बन्धमा यथार्थ जान्ने मौका पाएँ । यो कस्तो हो र कस्तो अवस्थामा सर्छ, सर्दैन । लेप्रोसी हटिसकेको थिएन तर उनीहरु संक्रामक अवस्थाबाट मुक्त भइसकेका थिए । संक्रमक अवस्था टरिसकेको थियो किनभने निको हुने प्रक्रिया निकै अगाडि बढिसकेको थियो र सक्रामक अवस्था थिएन । त्यो रोगका किटाणुहरु कमजोर भइसकेका थिए । यसलाई निको पार्न नसकिने होइन, यो अनिवार्यरुपमा निको हुन्छ । जति छिप्पिएको छ, त्यति समय लाग्ने हो । सुरुमै भयो भने अलिक छिट्टै निको हुन्छ ।

जुन अंगभंग भएको छ, त्यो फेरि क्यअर हुने कुरा त भएन । त्यो गएको गइहाल्यो । त्यसले हात खुट्टाका औलाहरु झर्ने अनेक चिज हुन्छ । अझ बढ्दै गयो भने यसले धेरै बिर्गान सक्छ, मान्छेलाई चल्न नसक्ने, अशक्त बनाउने र अझै माथितिर फैलिंदै आउने पनि हुनसक्छ । त्यसकारण यसलाई समयमै उपचार गर्‍यो भने थाहा पाउने बित्तिकै, अलिकति घाउ हुने बित्तिकै र त्यसको सेन्सेसन छैन भन्ने थाहा पाउन सजिलो छ कि सेन्सेसन छैन भनेपछि यो कुष्ठरोग हो भनेर थाहा पाउन सकिन्छ । टुप्पामा कुष्ठरोग रोग लागेको छ अरु बढी सेन्सेसन हुँदैन । छुदा थाहा पाइएन भने यो कुष्ठरोग भएछ भन्ने कुरा थाहा पाउन सकिन्छ । त्यसकारण छिटै परीक्षण गरेर छिटै उपचार गर्ने । त्यो सर्वसाधारणले पनि थाहा पाउन सक्छ । छुदा थाहा पाइएन, सेन्सेशन भएन भने त्यो कुष्ठरोग हो, त्यसकारण उपचार गराउ भन्ने यति जानकारी कमसेकम सर्वसाधारणमा हामीले पुर्‍याउनु पर्दछ, ताकि हामी आफैँले रोग चिनेर उसले उपचार गराउन सकोस् । यसो भएपछि यस रोगको हामी केही वर्षभित्रमा उन्मूलन गर्न सक्छौं ।

आजको यस भेलामा यसका आयोजक संस्थाहरुको यो सक्रियता रहोस् । तपाईंहरुले यथार्थ यसमा घटाउन र बढाउनु पर्ने आवश्यकता छैन । नबढाइकन र नघटाइकन यथार्थ वर्णन विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट अनुरोध गरेर पनि तपाईंहरुले जनचेतना जगाउनुभयो र स्वास्थ्य मन्त्रालयले यससम्बन्धमा सञ्चार मन्त्रालयसँग परामर्श गरेर अथवा मिडिया हाउससँग परामर्श गरेर यस सम्बन्धमा सहकार्य पनि गर्न सक्छ र जागरण अभियान विशेष ढंगले चलाउन सकिन्छ । देश भरिका मान्छेहरुलाई यस सम्बन्धमा जानकारी गराउन सकिन्छ । जहाँ टेलिभिजन छैन, त्यहाँ समाचारबाट हुनसक्छ ।

आज मोबाइलको जमाना छ । मोबाइललाई प्रयोग गरेर यससम्बन्धी जनचेतना जगाउन सकिन्छ । त्यसो भएर यसलाई विभिन्न ढंगले जनचेतना जागरण गर्ने कुरा र ताँकी यो सर्न र फैलिन नपाओस्, सरिहाल्यो, फैलिहाल्यो वा रोग प्रकट भइहाल्यो भने, कसैमा देखा परिहाल्यो भने यसलाई समयमै पहिचान गरेर उपचार गर्न सकियोस् । मैले अघि नै भनेँ, यसको निधान गाह्रो छैन र कुष्ठरोग हो भनेर पत्ता लगाउन सजिलो छ । यो आफैँले घरमा पत्ता लगाउन सकिने कुरा हो । त्यसकारण खाली जनतामा यसो भयो भने कुष्ठरोग हुने रहेछ भनेर चेतना जगायो भने मात्रै त्यो पत्ता लागिहाल्छ ।

रोग लुकाउनुु हुन्न भन्ने कुरा हामीले बुझाउन जरुरी छ । किनभने लुकायो कि निकै धेरै वर्ष औषधि खानु पर्छ । हात खुट्टाका औलाहरु झर्न सक्छन् । विभिन्न जोर्नीहरु विकृत हुनसक्छन् । त्यसकारण यसलाई ठीक ढंगले लान जरुरी हुन्छ । यसो भएर यी चेतनाका कुराहरु फैलाउने र अगाडि बढाउने हामीले गर्‍यो भने यसलाई अन्त्य गर्न, निवारण र उन्मूलन गर्न सम्भव छ । त्यसकारण यस सन्दर्भमा हाम्रो साथमा आज औषधि छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । औषधि भनेको कुष्ठरोगको काल हो, त्यसलाई सिध्याएर छोड्छ । त्यो हामीसँग छँदैछ । खाली बिरामी र औषधिको भेट गराउनु हो । बिरामीलाई नियमित औषधि सेवन गरुन् भनेर सिकाउनु पर्छ । औषधिमा तलमाथि नहोस्, नियमित औषधि सेवन गरुन् । मात्रा जे बताइएको छ, त्यसअनुसार सेवन गरुन । किनभने यो अस्पतालमा बसेर गराउने उपचार पनि होइन, यो घरमै बसेर गर्ने उपचार हो, लामो समय लाग्छ । खाली औषधि खाने हो । त्यसकारण अस्पताल भन्दा घरमै बसेर गर्ने हो । त्यसकारण बिरामी आफैँ सजग हुनुपर्दछ र बिरामीलाई के थाहा हुनुपर्दछ भने सजगता भएन भने यो विकराल रुप लिने खतरा हुन्छ र यसले ठूलो विनाश गर्छ । त्यसकारण बिरामी अत्यन्त सजग हुनुपर्छ । खासगरी बिरामी पत्ता लागेपछि सजग हुनुपर्छ ।

औषधि प्राप्त भएपछि औषधि खानुपर्छ र औषधिमा पैसा लाग्दैन, निःशुल्क उपचार हुन्छ । यसको निशुल्क उपचार हुन्छ, निशुल्क औषधि पाइन्छ । त्यसकारण यो खर्चिलो उपचार र पैसा छैन भन्ने स्थिति होइन । निशुल्क उपचार सरकारले उपलब्ध गराउँछ । औषधि सेवन गर्ने हो, छुदा थाहा पाइएन भने लेप्रोसी भन्ने थाहा हुन्छ र आफैँले थाहा पाइन्छ । अस्पतालमा चिकित्सकलाई देखाएर औषधि लिन पाइन्छ । औषधि यति समयका लागि लिएर जाने र फेरि ल्याउने, अलिक टाढा छ भने, अर्को व्यक्ति अस्पतालमा गएको छ भने प्रेस्किप्शन पठाएर त्यसमार्फत् पनि औषधि झिकाउन सकिन्छ । त्यसकारण यो धेरै गाह्रो कुरा होइन, यसलाई निको पार्न सकिन्छ । जनचेतना, सामाजिक सहयोग, सद्भाव र सरकारको अभियान र सरकारले अलिकति ध्यान दिनु गर्‍यो । यसै क्षेत्रमा विभिन्न संघसंस्था लागिरहनु भएकै छ ।

संघसंस्थाहरुको सक्रियतालाई प्रभावकारी कसरी बनाउने, त्यो डेडिकेशनलाई उपलब्धिमूलक कसरी बनाउने भनेर लागिरहेका संघसंस्थाहरुले ध्यान दिन जरुरी छ । समाजलाई निरोगी बनाउनका लागि, स्वस्थ समाज निर्माण गर्नका लागि यति धेरै साथीहरु यहाँ उपस्थित हुनुहुन्छ । यसमध्ये कतिपय साथीहरु अहिले पनि कुष्ठरोग लागिरहेका साथीहरु कतिपय निको भइसकेका साथीहरु पनि हुनसक्नु हुन्छ । निको भइसकेका साथीहरुले निको नभइसकेका साथीहरुलाई प्रेरणा र हौसला दिनु पर्दछ कि कसरी निको भयो भनेर । निको हुन्छ, मलाई पनि पहिला थियो, मैले निको पारे भनेर मान्छेलाई त्यो कुरा बताउनु पर्छ । त्यो बताएपछि मान्छे उत्साहित भएर त्यसको निराकरणमा लाग्छ । फेरि एकपटक म सबै आयोजकहरुलाई धन्यवाद भन्न चाहन्छु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वैशाख, २०८२ मा नेपाल कुष्ठरोग सम्मेलनका अवसरमा व्यक्त गरेका विचारहरुको सम्पादिन अंश)
 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट