काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नाइमाले आउँदो २१ साउनदेखि २५ साउनसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त प्रदर्शनी हुने जानकारी दियो ।

प्रदर्शनीका लागि २९ वैशाखसम्म स्टल बुकिङ गर्न सकिनेछ । स्टलको अन्तिम बाँडफाँट लट्री प्रणालीमार्फत गरिने नाइमाले जनाएको छ ।
दुई र चार पाङ्ग्रे तथा हलुका व्यावसायिक सवारी साधनको लागि छुट्टाछुट्टै हल नराखी प्रदर्शकले आफ्नो आवश्यकताअनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था मिलाइएको छ ।
आयोजकका अनुसार यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रका निर्माता, डिलर, वितरक, उपभोक्ता, अवलोकनकर्ता र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने छ । साथै, अटो क्षेत्रमा भइरहने परिवर्तनबारे नीतिनिर्माता, विज्ञ र उद्योगीहरूलाई एउटै मञ्चमा ल्याएर अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनसम्बन्धी नवीनतम प्रविधिको प्रदर्शन गरिने नाइमाले उल्लेख गरेको छ ।

नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यका अनुसार प्रदर्शनीको मुख्य आकर्षणमा विद्युतीय सवारी हुनेछ । नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अघि बढाउने सहकार्यलाई प्रवर्द्धन गर्ने उनको विश्वास छ ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १६:३
सामाग्री श्रोत :
टेक पाना